पत्रकार र बिचौलियाबीचको साँठगाँठले अन्य पत्रकार गुमनाम

समाचार

काठमाडौं । ‘धान खाने मुसो, चोर पाउने भ्यागुतो’ भनेझैं भएको छ नेपालको पत्रकारिता क्षेत्र । रातदिन नभनी सूचना संप्रेषणका लागि खटिराखेको पत्रकारभन्दा गैरपत्रकारको हालीमुहाली चल्ने गरेको छ । गैरपत्रकारले पत्रकारको संस्था भजाएर खाने, बेलुका भएपछि ठूला–ठूला होटल रेस्टुराँमा पत्रकारलाई लञ्च र डिनरको व्यवस्था गर्ने गरेका छन् । विभिन्न कम्पनी, सिमेन्ट उद्योग, बैंकिङ क्षेत्रका व्यवसायी, उद्योगीका पत्रकार सम्मेलनमा वास्तविक पत्रकार देख्न पाइँदैन । त्यहाँ न पत्रकार, न प्रकाशक, न त सम्पादक नै उपस्थित भएको पाइन्छ । पत्रकारको लोगो प्रयोग गरेर खाने व्यक्तिहरूको हुल त्यस्ता कार्यक्रममा देखिन्छन् । पत्रकारको नाममा उठाउने एउटा जमात छ । दैनिकदेखि साप्ताहिक र म्यागेजिन किन्ने, चिया पसलको कुनामा बसेर कुन संस्था या व्यक्तिको समाचार आएको छ भनेर हेर्ने र सो व्यक्तिको चाकडी गरेर खाने अर्काे जमात छ । कुन होटल या कुन रेस्टुराँमा कार्यक्रम हुन्छ, त्यहाँ जाने गर्दछन् । पत्रिकाले फलाना संस्था या व्यक्तिको बारेमा चाहिँदो नचाहिँदो लेखेछ फटाहाले भन्ने एउटा ग्रुप छ भने अर्काेचाहिँ पत्रकारको नाम भजाएर एउटा संस्थाको भिजिटङ कार्ड देखाएर खाने रहेको छ ।
अर्काे समूहचाहिँ विज्ञापन मलाई चाहिन्छ, सबै पत्रकारलाई म मिलाइदिन्छु, तपाईंले धन्दै मान्नुपर्दैन भन्दै हिँड्ने रहेको छ । वास्तविक पत्रकार, सम्पादक तथा प्रकाशक यस्ता कार्यक्रममा जाने गरेका छैनन् । यसरी नेपालको पत्रकार क्षेत्र कहिलेसम्म पत्रकारको नाममा शिकार हुन्छ कसैलाई जानकारी नै छैन । यस्ता गैरपत्रकार प्रयोग गर्ने संस्था प्रायःजसो बैंकिङ माफिया र उद्योग माफियाबीच सम्बन्ध रहने गरेको छ । कुन–कुन पत्रिका बजारमा पाइन्छ या प्रकाशित छन्, पत्रिकाको स्तर कस्तो छ, पत्रिकाले कस्तो–कस्तो खालको समाचार समेटेको छ, पत्रिकाका पाठक कति छन्, कुन–कुन स्थान र कुन–कुन बजारमा किन्न पाइन्छ, सम्पादक प्रकाशकको कार्यालय कहाँ छ, कर्मचारी कति छन्, विज्ञापनको बजार छ कि छैन, समाचारको बजार छ कि छैन भन्ने हेक्का उद्योगपति र व्यापारीलाई जानकारी छैन । व्यापारीले कालोबजारी चलाएका छन् । उद्योगीले राम्रो सामानको गुणस्तर राम्रो दिन सक्दैनन् । उद्योगी तथा व्यापारीले सबै किसिमका सामान गुणस्तरहीन बनाउने, राजस्व छल्ने, नेपालीलाई अखाद्यदेखि गुणस्तरहीन सामान भिडाउने गरेका छन् ।
यस्तो कुरा वास्तविक पत्रकारलाई पाच्य हुँदैन । उद्योगी व्यापारीले यस्ता खालका पत्रकार बेलाउँदैनन् । वास्तविक पत्रकारले चाकडी चाप्लुसीको आधारमा समाचार प्रकाशित गर्ने गरेका छैनन् । गुलामी पनि गर्दैनन् । खास पत्रकारले समाजमा फैलिएको विकृति, विसंगतिका कुरालाई उजागर गर्ने गरेका छन् । पत्रकार नभएको व्यक्तिले पत्रकारको संगठनमा विभिन्न राजनीतिक दलनिकट भएर, पत्रकारको चुनावलाई लिएर पत्रकार महासंघको सदस्य लिएका व्यक्तिले विभिन्न संघ संगठन भजाएर खाने गरेका छन् । वास्तविक पत्रकारले यस्ता विषयमा ध्यान दिन सकेका छैनन् । अधिकांश पत्रकारले परिचयपत्र देखाएर पत्रकार महासंघको लोगो प्रयोग गरी विज्ञापन उठाउने र उद्योगी व्यापारीलाई भजाउँदै खाने गरेका छन् । यस्ता कुरामा न पत्रकारले ध्यान दिन्छ, न सरकारले, न व्यापारीले । यसकारण वास्तविक पत्रकारिता गर्ने व्यक्ति पलायन हुँदै गएका छन् । अहिले सबै नेपालीको हातमा मोबाइल भएको कारण सबैले अनलाइन दर्ता गर्ने र घरघरमा अनलाइन दर्ता हुने गरेको छ । अनलाइनबाट भ्युज बढाउन र को पहिला भन्दै जुनसुकै व्यापार व्यवसाय गर्ने, जागिर खाने कर्मचारीदेखि सुरक्षा निकाय, गुप्तचरमा जागिर खाने कर्मचारीले अनलाइन दर्ता गरेर घरमा एउटा ल्यापटप राखी श्रीमती, छोराछोरीलाई आफ्नो कार्यालयको समाचार पोस्ट गर्न लगाउनेजस्ता काम भइराखेका छन् । त्यस्तै भए नभएको समाचार दिएर नेपाली जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको छ । यस्तो विकृतिको बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मुकदर्शक भएर बसेको छ । अन्य निकाय बेखबर भएर बसेका छन् । नेपालका पत्रकार भन्नै लाजमर्दाे भएको छ । यस्ता कुरामा वास्तविक पत्रकारले ध्यान दिने हो कि ! पत्रकारभन्दा पनि अहिले व्यापारी, उद्योगी, बंैकिङ क्षेत्र, निर्माण व्यवसायी, कर्मचारी, राजनीतिक दलनिकट भ्रातृ संगठन सबै पत्रकार भएपछि पत्रकारको अस्तित्व जोगाउनसमेत हम्मेहम्मे परेको छ । पत्रकार, सम्पादक, प्रकाशकले विज्ञापन पाउन छाडेका छन् । पत्रकारको नाममा संस्थाको व्यक्तिको मुखपत्र नयाँ वर्ष, दशैं, दीपावली, छठपर्व, नयाँ वर्षमा एकपटक निस्कने र निकाल्ने, क्यालेण्डर, डायरीजस्तो वर्षभरि एकपटक निस्कनेलाई बैंकिङ, निर्माण व्यवसाय, वैदेशिक रोजगार, उद्योगधन्दा सञ्चालन गर्ने र बजारमा गुणस्तरहीन सामान, विकृति ल्याउने उद्योग सञ्चालक तथा व्यवसायीले विज्ञापन दिने गरेका छन् । नत्र भने वास्तविक पत्रकारले विज्ञापन पाउने गरेका छैनन् । सबैभन्दा बढी विज्ञापन गर्ने संस्था सिमेन्ट उद्योग, फलाम डण्डी, डाबर कम्पनी, रक्सी, बियर उत्पादक कम्पनीले विज्ञापन गर्ने र नेपालीलाई गुणस्तर सामान बिक्री गर्ने गरेका छन् ।
अहिले गुणस्तरहीन रक्सी, बियर बजारमा छ्यापछ्याप्ती पाइन्छ । यी रक्सी तथा बियरले टेलिभिजनमा विज्ञापन दिने गरेका छन् । अझ स्कूल, कलेज जस्ताको विज्ञापन टेलिभिजनमा बजाएर नेपालको विद्यार्थीका अभिभावकलाई गुमराहमा पार्ने, उच्च शिक्षा हासिल गर्न विभिन्न प्रलोभन देखाएर विज्ञापन गर्ने गरेका छन् । सिमेन्ट कम्पनी, फलामे रडजस्ताको विज्ञापन छपाएर नेपाली जनतालाई ठग्दै आएका छन् । सिमेन्ट उद्योगले राज्यलाई कति कर, राजस्व तिरेको छ त्यसको लेखाजोखा छैन । करोडांै–करोडौं विज्ञापनमा खर्चिएका छन् । सो विज्ञापनको खर्च नेपाली उपभोक्तासित लिने गरेका छन् । अहिले सिमेन्ट उद्योग कम्पनीले विभिन्न सञ्चारमाध्यम र टेलिभिजनमा सिमेन्ट उद्योगको विज्ञापन देख्न सकिन्छ । विज्ञापन दिने र मार्केटिङका कर्मचारी र पत्रकारको लोगो भिरेका पत्रकारबीच समन्वय गरी बीचमा आधाआधा कमिसन खाने गरेका छन् । खासगरी पत्रकारिता गर्ने पत्रकार, सम्पादक, प्रकाशकको निद हराम भएको छ । राज्यले यस्ता विषयमा गम्भीरता देखाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *