निजामती कर्मचारी संगठनमा पैसाको खोलो केदार देवकोटाको हवेली बनाउन १० लाख सहयोग

समाचार

कुनै समय एउटै संगठनमा रहेर काम गरेका कर्मचारीहरूबीच अहिले यति तीक्ततापूर्ण सम्बन्ध बनेको छ कि जसले जहाँ भेट्यो त्यही मुक्काउनेसम्मको स्थिति बनेको छ । प्रसंग हो, ओलीनिकट नेपाल निजामती कर्मचारी संगठन र नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारीहरूको । अहिले सो संगठनका अध्यक्ष बनेका छन् लेखनाथ कोइराला । अनि केन्द्रीय समितिमा पर्नेहरूमध्ये कसैले १ लाख बुझाए, कसैले १० लाख । एक लाख बुझाउनेचाहिँ केन्द्रीय सदस्य बने । १० लाखसम्म उठाएर बुझाउनेले केन्द्रीय सचिव पड्काए । अध्यक्ष बनाइदिन्छु भनेर लगेका रेमन्त गौतम उपाध्यक्षमा सीमित पारिए । अध्यक्षका आकांक्षी भवानी दाहाल, रेवन्त गौतमसहित एकता प्रक्रियाबाट आएका प्रभाष साहलाई उपाध्यक्ष बनाइँदा महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्ण केसी र विजयालक्ष्मी सुवेदी चयन हुँदा सचिवमा वामदेव वली, सूर्य कुँवर, देवेन्द्र ढकाल, तेजबहादुर भण्डारी, विष्णु अधिकारी र पुरुषोत्तम रायमाझी चयन भएका छन् । कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चयन भएका छन् ।
यसरी सो संगठनले १५१ जनाको केन्द्रीय कमिटी बनाउँदा अध्यक्ष केदार देवकोटाको बंगला ठड्याउनका लागि आर्थिक सहयोग जुटाइदिनेहरू केन्द्रीय कमिटीमा अटाए । पैसा बुझाउन नसक्ने तर संगठनमा २०औं वर्षदेखि लागेकाहरू किनारामा पारिए । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै प्रतिनिधिहरू लाखापाखा लाग्ने स्थिति बन्न पुग्यो । कर्मचारीहरूकै अनुसार, निवर्तमान अध्यक्ष केदार देवकोटाको भक्तपुरको लोकन्थलीमा भव्य भवन ठड्याउन आर्थिक रूपमा सहयोग गर्ने गोविन्दराज शिवाकोटी, देवेन्द्र ढकाल, रेणुका केसीलगायत दर्जनौं केदार देवकोटा समूहबाट केन्द्रीय समितिमा अटाएका छन् । यस्तै लेखा समूहका धेरै जुनियर कर्मचारीहरू केन्द्रीय समितिमा अटाएका छन् भने कोही लगातार तीन कार्यकाल केन्द्रीय कमिटीमा दोहो¥याइएको छ । लोकसेवा भिडेको तीन वर्षमै प्रदीप फुँयाललाई केन्द्रीय कार्यसमितिमा लगिएको छ । जबकि ५५ सालदेखि संगठनमा कार्यरत रहेका र संगठनकै लागि पसिना बगाएका होमशंकर बास्तोला, विमल श्रेष्ठ, अनुप ढकालदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै कर्मचारीहरूमाथि अन्याय भएको एमालेनिकट कर्मचारीहरूको गुनासो छ । एमालेनिकट कर्मचारीहरूको चुनावका नाममा केदार देवकोटाले अर्थ मन्त्रालयबाट १० लाख, हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत देवेन्द्र ढकालले श्रम विभागबाट १० लाख उठाएको चर्चा छ । यातायातमा रहेर बद्नामी कमाएका गोविन्दराज शिवाकोटीहरूले २ लाख ७५ हजार बुझाएर तेस्रोपटक पनि संगठनको केन्द्रीय सदस्य पड्काएको एमालेकै कर्मचारीहरू सुनाउँदै हिँड्न थालेका छन् । अघिल्लो महाधिवेशनमा खुलाबाट दोस्रो स्थानमा सबैभन्दा बढी मत ल्याएकी देवी पराजुली यसपटक सचिव पदका लागि आकांक्षी थिइन् तर उनलाई केन्द्रीय सदस्यमा राखिएपछि असन्तुष्टि पोख्दै शपथ लिइनन् । उनलाई माथि नलगिनुको कारणचाहिँ केदार देवकोटासँग जोडिन्छ । पराजुलीका श्रीमान् उपसचिव तहका कर्मचारी हुन् । उनको सरूवाको व्यवस्था मिलाइदिनका लागि अध्यक्ष केदार देवकोटासँग आग्रह गर्दा तीन लाखको बिटो मागिएको एमालेनिकट कर्मचारीबीच चर्चा छ । त्यही पैसा दिन नसकेपछि देवकोटा पराजुलीसँग चिढिएको एमालेनिकट कर्मचारीभित्रै चर्चा चल्न थालेको छ ।
उता ‘नयाँ जोगीले बढी खरानी घस्छ’ भनेझैं माधव नेपालनिकट कर्मचारी संगठनको दर्ता प्रक्रिया रोक्न भाँजो हाल्न पुगेका रेवन्त गौतम निराश बनेर फर्किएका छन् । नेकपा एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठनको दर्ता गर्नका लागि उनीहरूले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिएका थिए । उनीहरूले गत फागुन २५ गते एकीकृत सरकारी कर्मचारी संगठन दर्ता गर्नको लागि श्रम विभागमा निवेदन दिएका थिए । अहिलेसम्मकै धेरै सदस्यहरूको हस्ताक्षर अर्थात् १४ हजार ७ सय ५३ कर्मचारीहरूको हस्ताक्षर जुटाएर निवेदन दिएकोमा सो हस्ताक्षर अवैध भन्दै ओलीनिकटका कर्मचारीहरू श्रम विभागमा पुगेका थिए । उनीहरूको संगठनमा करार र अस्थायी कर्मचारीहरूकोसमेत हस्ताक्षर गराइएको छ । सो हस्ताक्षर अवैध भएको ठहर गर्दै रेवन्त गौतमलगायतका केही कर्मचारीहरू श्रम तथा सुरक्षाजन्य विभागको महानिर्देशकलाई भेट्न पुगेका थिए । त्यहाँका महानिर्देशक नेपाल निजामती कर्मचारी संगठनकै पूर्वकेन्द्रीय सदस्य हुन् । त्यहाँ पुगेर महानिर्देशकको दिमाग भुटिरहेको सूचना माधव नेपालनिकट कर्मचारीहरूको कानमा परेपछि ठाउँको ठाउँ तह लगाउनका लागि भन्दै माधव नेपालनिकट कर्मचारी संगठनका महासचिव शरणकुमार गुरुङसहितको समूह मीनभवन पुग्दा रेवन्त भागिसकेको आरोप लगाई कारण पिटाइ खानबाट बचेका माधव निकटस्थ कर्मचारीहरू सुनाउँछन् । यस्तै लफडाका बीच सो संगठनले गत सोमबारबाट राष्ट्रियस्तरको ट्रेड युनियनको मान्यता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *