कांग्रेस पार्टीमा एक्लै चुनावमा जानु पर्ने दवाव बढेर गयो सत्तारुढ गठबन्धनमा विश्वासको संकट

समाचार

सरकारमा रहेका अन्य घटक दलको आग्रह र दवावमा आएर नेपाली कांग्रेसले गत साता ६ वटा महानगरपालिकामा गठबन्धन मार्फत् उम्मेदवारी दिने र अन्य स्थानीय तहमा भने आवश्यकताको आधारमा पार्टीको स्थानीय कमिटिले नै आवश्यक कदम चाल्ने निर्णय गरेको छ । यो निर्णयप्रति सरकारको एउटा घटक दल माओवादी केन्द्र पूर्ण रुपमा सन्तुष्ट हुन सकेको छैन । माओवादी केन्द्र, नेपाली कांग्रेसले सबै स्थानीय तहमा गठबन्धन मार्फत् निर्वाचनमा जाने निर्णय गरोस् भन्ने पक्षमा थियो । यही कारणले गर्दा अहिले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेकपा एमालेसँग सहकार्य गर्न सक्छ भनेर नेपाली कांग्रेसलाई धम्क्याउँदै आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसरी धम्क्याउने गरेपनि नेपाली कांग्रेसको चितवन जिल्ला कमिटिले भने कुनै हालतमा पनि भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी नछाड्ने अठोट गरेको छ । यसैगरी नेपाली कांग्रेसको गृह जिल्ला मोरङमा नेपाली कांग्रेसले अन्य दलसँग सहकार्य नगर्ने निर्णय गरी सकेको छ र कांग्रेस एक्लैले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर यही २५ गते विराटनगरमा आम सभा गर्ने भएको छ ।
उता गठबन्धनमा रहेका जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूहरु माथि गठबन्धनका ठूला दलबाट अपमानजनक व्यवहार हुन थालेको भनेर आपत्ति प्रकट गर्न थालेका छन् । विभिन्न जिल्लामा स्थानीय निर्वाचनलाई ध्यानमा राखेर हुने गरेको गठबन्धनको बैठकमा नबोलाएको भनेर जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका नेताले गठबन्धनका तीन ठूला दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृति समाजवादीका शीर्ष नेताहरु प्रति नै आपत्ति प्रकटद गर्न थालेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले ६ वटा महानगरपालिकामा गठबन्धन मार्फत् चुनाव लड्ने र अन्य स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा कदम चाल्ने निर्णय गरेपछि पार्टीको संस्थापना इतर पक्षले भने केन्द्रीय कार्य समितिले गरेको यो निर्णय प्रति असहमति जनाई राखेको छ । संस्थापना इतर पक्षका नेता शेखर कोइरालाले अहिले विभिन्न जिल्लामा भ्रमण गरेर घरघर जाऔं माओवादीलाई जिताऔं भन्ने पार्टीको केन्द्रिय कार्य समितिले बनाएको वातावरण प्रति आपत्ति प्रकट गरेर कांग्रेस एक्लै स्थानीय निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा वातावरण बनाउने अभियानलाई अगाडि बढाई राखेका छन् ।
शेखर कोइरालाले पार्टी एक्लै स्थानीय निर्वाचनमा जानु पर्छ भन्ने राखेको अडानलाई पार्टीको संस्थापना इतर पक्षको नेतृत्व रहेको जिल्ला समितिहरुले स्वीकार गरेर यही अनुरुप अगाडि बढ्ने गरी गतिविधि अगाडि बढाउन थालेका छन् । चितवन जिल्ला कांग्रेसले २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाडेको उल्लेख गर्दै यो पटक माओवादीले नेपाली कांग्रेसलाई छाड्नु पर्ने माग राख्न थालेका छन् र यस सम्बन्धमा जिल्ला समितिको अडानलाई केन्द्रीय कार्य समितिले सुनुवाई नगरे मेयरमा विद्रोही उम्मेदवार खडा गर्ने चेतावनी समेत कांग्रेसले दिएको छ । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा आफूलाई सहयोग गर्न माओवादी केन्द्रलाई प्रस्ताव गरेसँगै आम निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पनि त्यसैगरी सहयोग गर्ने प्रस्ताव चितवन कांग्रेसले अगाडि बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा अहिले पनि भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्ने पक्षमा छन् । तर चिवतन जिल्ला र भरतपुर महानगरपालिकाको कांग्रेस नगर कमिटी भने कुनै पनि हालतमाद माओवादीलाई भरतपुर महानगरपालिकाको मेयर छाड्ने पक्षमा नभएकाले सभापति देउवा टेन्सनमा पर्न थालेका छन् । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारीमा दाबी गर्न नछाडे गठबन्धन नै संकटमा पर्ने चेतावनी माओवादी अध्यक्ष प्रचण्डको तर्फबाट आउने गरेको छ । यही कारणले गर्दा माओवादी अध्यक्ष प्रचण्डले समयसमयमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने टिप्पणी गरेर कांग्रेस सभापति देउवालाई तर्साउने गर्दै आएका छन् । गठबन्धनमा अहिले भरतपुर महानगरपालिकाको मेयर पद जटिल पेच बनेको स्थिति छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र सरकारको प्रमुख घटक माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारीलाई प्रतिष्ठाको विषय बनाएको कारण यही विवाद बढेर त्यसको असर गठबन्धनमा नै पर्न सक्ने सम्भावना पनि देखिएको छ ।
यस बाहेक संस्थापना इतर पक्षको नेतृत्व रहेको सबैजसो जिल्लाले गठबन्धनको केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्न अस्वीकार गर्दै एकल उम्मेदवारी दिने सम्भावना पनि त्यसैगरी बढेर गएको छ । यो सम्भावनालाई मोरङ कांग्रेसले थप बलियो बनाएको छ । एकातिर प्रमुख प्रतिपक्ष र सबैभन्दा बलियो दल नेकपा एमाले विभाजित भएको अवस्था र अर्कोतिर विजय गच्छदार आफूले नेतृत्व गरेको पार्टी सहित नेपाली कांग्रेसमा प्रवेश गरेको र यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री सुनिल थापासहित नेपाली कांग्रेसमा प्रवेश गरेको स्थितिमा नेपाली कांग्रेसले अन्य कुनै दलसँग स्थानीय निर्वाचनमा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै कांग्रेसको संस्थापना इतर पक्ष केन्द्रीय कार्य समितिले गरेको निर्णयलाई अस्वीकार गर्दै एक्लै चुनावमा जाने गरी गृहकार्य गरी राखेको छ । यही क्रममा नेपाली कांग्रेस मोरङले पर्सि २५ गते आफ्नो तर्फबाट स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आमसभा गर्दैछ । केही दिन अगाडि मोरङका गठबन्धनमा रहेका पाँच वटै पार्टीको स्थानीय निर्वाचनलाई लिएर बैठक बसेको थियो । तर त्यो बैठकमा चिया पिउने बाहेक अन्य कुनै निर्णय नभएको भनेर कांग्रेस बाहेकका गठबन्धनका अन्य नेताले असन्तोष प्रकट गरेका छन् । यसैगरी चितवनमा पनि गठबन्धनका दलहरुका बीचमा स्थानीय निर्वाचनमा सँगै जाने निर्णय भएको छ । तर त्यो बैठकले कुन तहमा कुन पार्टीको नेतृत्वमा चुनावी मैदानमा जाने भन्ने सम्बन्धमा भने निर्णय गरेन । नेपाली कांग्रेसले महानगरपालिका बाहेकमा अन्य तहमा आवश्यकताको आधारमा अगाडि बढ्ने निर्णय गरेपछि गठबन्धन दलभित्र विश्वासको संकेट समेत खडा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *