राप्रपा नेपाल र परिवार दल एमालेका वैशाखी

समाचार

काठमाडौं । सरकारमा रहेका पाँच दलका बीचमा चुनावी गठबन्धनलाई लिएर एकातिर रस्साकस्सी चलिराखेको छ भने अर्कोतिर प्रमुख प्रतिपक्ष नेकपा एमालेले कार्यकर्ताविहीन राजनीतिक दलहरुसँग सहकार्य गरेर रणनीति अख्तियार गरेर आफ्नो हैसियत नै कमजोर रहेको सन्देश दिन थालेको छ । नेकपा एमालेले गत मंसीरमा भएको एकताको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि कमल थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी सहकार्य गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ताले नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर स्थानीय निर्वाचन लड्ने भएका छन् ।
यसैगरी एकनाथ ढकाल नेतृत्वको राष्ट्रिय परिवार दलले पनि ३० गते हुने स्थानीय निर्वाचन नेकपा एमालेको सूर्य चिन्ह लिएर लड्ने भएको छ । राप्रपा नेपाल र परिवार दललाई सूर्य चुनाव चिन्ह दिने सहमति गरेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले यी दुई दलबाट चुनावमा केही राजनीतिक फाईदा आफूलाई पुग्ने विश्लेषण गरेको भएपनि कार्यकर्ता विहिन यी दुई दलसँग एक प्रकारले चुनावी सहकार्य गर्ने निर्णय गरेर नेकपा एमालेले आफू कमजोर रहेको सन्देश दिने काम गरेको छ । नेकपा एमालेलाई सिध्याउने रणनीति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एक सुत्रीय रणनीति अख्तियार गरी रहँदा नेकपा एमालेले भने राजनीतिमा कुनै हैसियत नभएका राप्रपा नेपाल र राष्ट्रिय परिवार दलसँग चुनावी सहकार्य गर्ने निर्णय गरेर आफ्नो स्थिति कमजोर रहेको सन्देश अहिले नै प्रवाह गरेको राजनीतिक क्षेत्रले विश्लेषण गर्न थालेको छ ।
२०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा विद्रोही उम्मेदवार भएपछि अनुशासन कारवाहीमा परेका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्द राज जोशीले हुन गई राखेको स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा छोरा दिपक राज जोशीलाई उम्मेदवार बनाउँदैछन् । कांग्रेसको कारवाहीमा परेका जोशी समुहले नेकपा एमालेसँग तनहुँका दश वटै स्थानीय तहमा सहकार्य गर्ने भएको छ । यही क्रममा ब्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिन थालेका दीपक राज जोशीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *