बजारमा ग्याँसको हाहाकार, उद्योगमन्त्री गुमनाम

समाचार

सावित्री खत्री
काठमाडौं । पाँच दलीय सरकार गठन भएको १० महिना भएको छ । सरकारले खासगरी ठोस निर्णय गरेर नयाँ कामको थालनी गरेको छैन । खाली राजनीतिक भागवण्डादेखि एमसीसी पास गरेको छ । बल्लतल्ल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिलेन्द्र बडुलाई दिइएको छ । आगामी वैशाख ३० गते स्थानीय चुनाव गर्न लागेको छ र अझै पनि स्थानीय चुनाव भईहाल्छ भन्ने विश्वास जनमानसमा देखिएको छैन । राजनीतिक दलभित्र खिचडी पाक्दै गएको छ । राजनीतिक दलका नेताबिच घोचपेच चलेकै छ । बजार महंगीएको छ । बजारमा व्यापारीले कालोबजारी चलाएका छन् । बजारमा खाद्यान्न सामाग्रीदेखि तरकारी, फलफुल, गेडागुडी, दाल, चामल, खानेतेल, हर्लिक्स इत्यादी सामानको भाउ बढेर किनेर खान सकेका छैनन् । यस्तै केही व्यापारीले दिन दुई गुणा रात चौगुण गरी मूल्य बढाएका छन्ु । खाद्यान्न मात्रको मूल्य बढेको छैन । यातायात व्यापारीले पनि भाडा बढणएका छन् भने घर निर्माण गर्ने सामाग्री रोडा, ढुंगा, फलामे डण्डी, सिमेन्ट, इटाजस्तादेखि कच्चा पदार्थको मूल्य आकासिएको छ । बजारमा सरकारले अनुगमन गरेको छैन । यस्तै बजारमा ग्याँसको अभाव छ । ग्याँसको मूल्य १६ सयदेखि १८ सय प्रतिसिलिन्डर मूल्यामा विक्री वितरण भइरहेको छ । यति गर्दासमेत उपभोक्ताले ग्याँस पाएका छैनन् । ग्याँस नपाएर उपभोक्ता ग्याँस लिन लाइनमा बस्न बाध्य भएका छन् । लाइनमा बसेर पनि ग्याँस पाएको अवस्था छैन । व्यापारीले कालोबजारी गरेर ग्याँस वितरण गरेका छैनन् । कालोबजारी गराउनेले उपभोक्तालाई प्रतिसिलिण्डर ५ देखि ६ हजारसम्ममा बेच्ने गरेका छन् ।
यसरी कालोबजार चलाउने व्यापारीलाई राज्यले अनुगमन गरी कारबाही गरेको छैन । बजारमा सामान छैन भन्दै अफवाह फैलाउने काम व्यापारीले गरेका छन् । व्यापारीले भन्ने गरेका छन् कि चुनाव लाग्यो, युक्रेन र रुसको युद्धले गर्दा सामान आउँदैन, बजारमा भएको सामान सकिएको छ, बजारमा सामान नभएपछि महंगो भइहाल्छ भन्दै स–साना पसलदेखि होलसेल पसलेले महंगो मूल्य लिएर सामान विक्री वितरण गरेका छन् । बजारमा मूल्य सूची राखिएको छैन, बजारपिच्छे सामानको भाउ फरक फरक रहेको छ । खाद्यान्नको मात्र भाउ बढेको छैन, लत्ताकपडादेखि फेन्सी सामान, मदिराको मूल्य सबैले बढाएर असुलेका छन् । मदिरा कम्पनीले भाउ बढायो र हामीले पनि भाउ बढायौं भन्ने जवाफ मदिरा व्यापारीले दिने गरेका छन् ।
यतिमात्र नभई ठूला ठूला व्यापारीले पुरानो सडेगलेको सामान नयाँ डिजाइन लोगोसहित राखेर पुरानो सामानलाई नयाँ प्याकेटमा नयाँ डेट राखेर विक्री वितरण गरेको पाइन्छ । यस्ता व्यापारीलाई राज्यले संरक्षण गरेको छ । किन कि चुनाव आएको छ, नेता र कार्यकर्तालाई पैसा चाहिएको छ । बजारमा कालोबजारी चम्किएको छ । अखाद्य वस्तुले बजार ओगटेको छ । मदिरा, सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पाँइदैन भनेको छ । तर मदिरा कम्पनीले ठुला ठुला राष्ट्रिय दैनिक, टेलिभिजनमा वियर कम्पनी रुस्लान भोडका, म्याकडोल, गोल्डेन ओकको विज्ञापन छपाएर बजार रंगिएको छ । बजारमा नक्कली सामान पठाउने र राज्यको भ्याट छल्ने काम मदिरा कम्पनीले गरेका छन् । यस्ता कुरामा राजनीतिक पार्टीका नेता कार्यकर्ता बोलेका छैनन् ।
राजनीतिक पार्टी चुनावको लागि देश दौडाहामा हिँडेका छन् । भाषण गरेका छन् । एक पार्टीले अर्काेको पार्टीको नेतालाई खेदो खनिरहेका छन् । गाली गरेका छन् । बजारमा महंगी बढेको र जनताले रोजी रोटी खान नपाएको बारेमा चासो छैन । खाली आगामी चुनावको लागि विभिन्न नारा ल्याएर अथवा अन्य पार्टीलाई दोष थुपारेर आफ्नो फेभरमा चुनाव जित्ने प्रयास गरिराखेका छन् । उता सरकारी कर्मचारीले भने यस्ता विषयमा राज्यलाई घचघचाएको छैन । प्राइभेट कम्पनी र नेपाल सरकारको स्वामित्वमा रहेका कतिपय संस्थानमा राजनीतिक नियुक्तिको कारण इमान्दार कर्मचारी रुष्ट भएको र कर्मचारीले काम नगरेको कारण बजारमा ग्याँस आतंक मच्चिएको छ । कतिपय व्यक्तिले ग्याँस नपाएर पसलमा धर्ना बसेका छन् । ग्याँस व्यापारीले ग्याँस लुकाएका छन् । चुनावलाई देखाएर व्यापारीले महंगो मुल्यमा सामान विक्री वितरण गरिरहँदासमेत उद्योग, वाणिज्य मन्त्रालयदेखि वाणिज्य विभाग गुमनाम भएको छ । यस्तो खालको गठबन्धन सरकारको काम भ्रष्टाचारदेखि राजदूत नियुक्तिदेखि विभिन्न निकायमा आफ्ना नातागोतालाई जागिर दिएर दश महिना सरकारले बिताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *