नेताहरु चुनावतिर कार्यकर्ता विद्रोहमा शक्ति प्रदर्शन की भाँडभैलो ?

समाचार

काठमाडौं । यही वैशाख ३० गते हुने निर्वाचनको उम्मेदवारी दर्ताको काम गत वैशाख ११ र १२ गते दुई दिन गरी सम्पन्न भएको छ । उम्मेदवारी दर्ताको काम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरु समेत आ–आफ्नो चुनाव प्रचार प्रसारमा व्यस्त हुन थालेका छन् । तर यही ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनका सम्बन्धमा कतिपय राजनीतिक दलमा भने भाँडभैलो र अनुशासनहीनताको अवस्था मौलाएको छ । यसरी मौलाएको अनुशासनहीनतालाई स्थितिलाई नियन्त्रण गर्ने प्रयाश नेतृत्व तहबाट भएको भएपनि त्यसको खास असर देखिएको छैन ।
सरकारमा रहेका पाँच दलले गठबन्धन मार्फत् देशव्यापी नै संयुक्त रुपमा उम्मेदवारी दिने सहमति गरेका भएपनि ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिकामा बाहेक अन्य तहहरुमा गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी परेको स्थिति छैन । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनका पाँच वटा दलहरु मिलेर उम्मेदवारी दिएका भएपनि सबैजसो महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनको निर्णयका विरुद्धमा राजनीतिक दलका कार्यकर्ताले नेतृत्वलाई ठाडो चुनौती दिँदै उम्मेदवारी दिएका छन् । यसरी सबभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ताले गठबन्धनको हाई कमाण्डले गरेको निर्णय प्रति चुनौती दिएर बागी उम्मेदवारी दिएका छन् । कांग्रेस कार्यकर्ताले नेतृत्वले गरेको निर्णय प्रति चुनौती दिँदै उम्मेदवारी दर्ता गर्दा त्यसले परिणाममा समेत असर पर्न सक्ने बलियो सम्भावना देखिएको छ । खास गरेर नेपाली कांग्रेसका कार्यकर्ताले भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा केन्द्रिय नेतृत्व प्रति बगावत गर्दै उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रलाई मेयर दिने गरी केन्द्रमा भएको सहमतिका विरुद्धमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका सत्रिय कार्यकर्ता तथा पूर्व सांसद जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् । उनको यो उम्मेदवारीलाई नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले समर्थन गरेका छन् भने यो उम्मेदवारीको प्रस्तावकमा कांग्रेस महासमिति सदस्य मिना खरेल रहेकी छन् ।
यसैगरी पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णयको विरुद्धमा कांग्रेसका सक्रिय कार्यकर्ता ऋषि सापकोटाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । भरतपुर महानगरपालिकामा माओवादीका तर्फबाट रेणु दाहालले दिएका उम्मेदवारीका विरुद्धमा जगन्नाथ पौडेलका अतिरिक्त अन्य तीन जना कांग्रेसी कार्यकर्ताले पनि मेयरमा उम्मेदवारी दिएका छन् । गठबन्धनमा रहेका पाँच दलका विरुद्धमा जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादीलाई दिने सहमति भएको थियो । गठबन्धनको हाई कमाण्डले गरेको यो सहमतिका विरुद्धमा नेपाली कांग्रेसका स्थानीय नेताले कांग्रेससँगको संलग्नतालाई नै परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
७ सय ५३ वटा स्थानीय तहमा एक साथ निर्वाचन हुने भएपनि सबैको आँखा भने ६ वटा महानगरपालिका र ११ वटा उपमहामनगरपालिकामा केन्द्रित रहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनका अन्य दलहरु चुनावी मैदानमा उत्रिरहँदा ६ मध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिका नेपाली कांग्रेसको भागमा परेको छ । नेपाली कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सृजना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा खडा गरेको कारण एमालेको तर्फबाट मेयरको उम्मेदवार भएका केशव स्थापितको स्थिति केही बलियो बन्न पुगेको छ । किनभने बलिया र त्यागी प्रतिश्पर्धीलाई पन्छाउँदै नेपाली कांग्रेसले प्रकाशमान सिंहको दवावमा उनकी श्रीमती सृजना सिंहलाई राजधानी काठमाडौंको मेयरका लागि उम्मेदवार खडा गरेको छ । यसैगरी स्थानीय कार्यकर्ताले चर्को दावी गरी राखेको भरतपुर महानगरपालिका माओवादीलाई दिएर माओवादीले रेणु दाहाललाई उम्मेदवार खडा गर्दा र यसैगरी पोखरा उपमहानगरपालिकाको मेयरको उम्मेदवारी एकीकृत समाजवादीलाई दिँदा नेपाली कांग्रेसका स्थानीय कार्यकर्तामा तीव्र आक्रोश उत्पन्न भई राखेको छ । कार्यकर्तामा उत्पन्न भएको यो आक्रोशलाई नेतृत्व तहले कसरी नियन्त्रणमा ल्याउँछ र चुनाव परिणाम आधिकारिक उम्मेदवारको पक्षमा पार्छ भन्ने ठूलो चुनौती बन्न पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भरतपुर महानगरपालिकाका सम्बन्धमा गरेको चितवनका कांग्रेसले भनेर केही हुँदैन जे हुन्छ केन्द्रबाट नै हुन्छ भन्ने भनाई लिएर नेपाली कांग्रेसको केन्द्रिय सदस्यसम्म रहेका गृहमन्त्री बालकृष्ण खाँडको पार्टी निर्देशन र निर्णय नमान्ने कार्यकर्ता माथि अनुशासनको कारवाही हुन्छ भन्ने चेतावनी दिएपछि नेपाली कांग्रेसका कार्यकर्ता थप आक्रोशित बनाएको छ । यो विषयमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालिराखेका पार्टीका केन्द्रिय सदस्य खाँडले कुनै हैसियतमा पार्टी अनुशासन नमान्ने कार्यकर्ता माथि कारवाही गर्ने चेतावनी दिएका हुन् भन्ने प्रश्न गर्दै कांग्रेसी कार्यकर्ताहरु आक्रोशित भएर विद्रोहमा उत्रिएका छन् ।
यता गठबन्धनको पाँच दलको स्थिति उम्मेदवारी दर्तासँगै कमजोर र भाडभैलो भई रहँदा उता प्रमुख प्रतिपक्ष दलनेकपा एमालेको अवस्था पनि सन्तोषजनक देखिएको छैन । यही कारणले गर्दा नै पाँच दलको गठबन्धनसँग एक्लै लड्ने चुनौती दिँदै आएको एमाले नेतृत्व स्थानीय निर्वाचन नजिकिँदै जाँदा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय परिवार दल जस्तो जनाधार नभएका राजनीतिक दलसम्म समेत सहकार्य गर्ने स्थितिमा पुगेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले जनाधार नभएका परिवार दल र राप्रपा नेपालसँग समेत सहकार्य गर्न थालेपछि अब यो पार्टीको हैसियत सिला खोज्ने अवस्थामा पुगेको टिप्पणी राजनीतिक क्षेत्रमा हुन थालेको छ । राजनीतिक दलका निम्ति यो स्थानीय निर्वाचन धेरै महत्वपूर्ण रहेको कारणले गर्दा पनि यो निर्वाचनले आवश्यकता भन्दा बढी महत्व पाउन थालेको छ । किनभने यो स्थानीय निर्वाचनको परिणामले ६ महिना पछि आगामी मंसीरमा हुने आम निर्वाचनको परिणामलाई समेत प्रभावित पार्ने छ । यो स्थिति बुझेर नै सत्तारुढ गठबन्धनका दलहरुले मिलेर चुनावी मैदानमा उत्रने निर्णय गरेका थिए । तर यो निर्णय सफल हुने संकेत अहिलेसम्मको गतिविधिले देखाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *