बिचौलियाको हातमा राज्य र जनताको करोडौं सम्पत्ति

समाचार

काठमाडौं । त्यसै भनिएको होइन हाम्रो मुलुक दुईवटा तत्वले चलाएका छन्,एउटा पशुपतिनाथको कृपा अर्काे दलाल वा बिचौलियाहरुको प्रभाव । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारतिर अनेकन खालका बिचौलियाहरु देखिन्छन् । तिनै बिचौलियाले मन्त्रालयका कर्मचारीदेखि मन्त्रीहरुसम्मलाई दबाब र प्रभावमा पारेर आफ्नो काम फत्ते पार्दछन् र गोजी भर्दछन् ।
यस्तै बिचौलियाका एउटा नयाँ धन्दा तामाकोसी सन्देशले फेला पारेको छ । त्यो हो कुनै पनि सरकारी निकायसँग रहेको मोटो रकम कुनै एउटा बैंकबाट अर्काेमा सार्ने र मोटो कमिसन बुझ्ने । जस्तो नेपाली सेनाको कोषमा अर्बाै रकम मौजात छ । उस्ले यस्तो रकम राष्ट्रिय वाणिज्य बैंक लगायतका केही बैंकमा राखेको छ । यस्तै आयल निगमले सवारीमा इन्धन हाले वापत प्रत्येक उपभोक्तासँग प्रति लिटर ५ रुपैंया कर उठाउँछ । त्यसरी जम्मा गरेको कर अहिले नौ अर्ब छ । त्यो रकम केही बैंकमा रहेको छ । उसैगरी सडक विभाग,बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र,विद्युत विकास विभाग लगायतका हरेकजसो सरकारी अड्डासँग करोडदेखि अर्बसम्म रकम उस्ले बैंकमा राखेको हुन्छ । विद्युत विकास विभागसँग ३ अर्ब हाराहारी रकम सिटिजन्स बैंकमा राखेको छ । त्यही पैसा एउटा बैंकबाट अर्काैमा सारिदिने र बीचमा बसेर विचौलियादेखी कर्मचारीहरुले कमिसन बुझ्ने नयाँ धन्दा अहिले सरकारी अड्डामा शुरु भएको छ ।
यस्तै एउटा धन्दा भेटिएको छ हाडिगाउँतिर कार्यलय रहेको कर्जा तथा निक्षप सुरक्षण विभागमा । त्यहाँका हाकिम छन्,अर्जुन भण्डारी । उनी उपसचिव तहका कर्मचारी हुन्,अर्थ मन्त्रीका जर्नादन शर्माका स्वकीय पनि । नियम विपरित उनलाई कर्जा सुरक्षण विभागको हाकिम बनाइएको छ । उनै भण्डारीले पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको एउटा बदनाम कमाएका सेञ्जुरी कमर्सियल बैंकमा राख्ने नाममा समेत चलखेल गरिरहेका छन् । अर्थ मन्त्रालय सूत्रका अनुसार कर्जा सुरक्षण विभागसँग मुलुकका १८ वटा बैंकसँग २० अर्ब हाराहारी रकम रहेको छ । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक,ग्लोबल आइएमइ,सिटिजन्स,नबिलदेखि क बर्गका अधिकांश बैंकमा खाता खोलेर उस्ले त्यहाँ रकम राख्दा राज्यकोषलाई घाटा लगाउने र व्यक्ति मोटाउने काम भइरहेको भेटिएको छ । त्यहाँ फिक्स डिपोजिटमा पैसा राख्दा राज्यलाई घाटा हुने र व्यक्ति मोटाउने गरी काम भएको तथ्य बाहिरिएको छ । त्यहाँका कर्मचारीहरुले सेन्चुरी बैंकमा पैसा राख्दा वर्षभरि ५० करोडबाट नघट्ने गरि कल एकाउन्टमा राखेबापत राज्यलाई घाटा लगाउने र व्यक्ति मोटाउने गरी सम्झौता भएको भेटिएको हो । जबकी सरकारी निकायको रकम सरकारी बैंक नेपाल बैंक,राष्ट्रिय वाणिज्य,कृषि विकासमा नराखी निजी र त्यसमा पनि बदनाम सेञ्चुरी बैंकमा राखेर अनियमितता भएको अर्थ मन्त्रालयतिर चर्चा चल्न थालेको छ । स्मरण रहोस,सेञ्चुरी कर्मसियल बैंकका अनेकन फण्डाहरु बाहिरिएका छन् ।
अहिले सो बैंकका अध्यक्ष छन् राजेशकुमार श्रेष्ठ,वोर्डमा रमेश निरौला,मनबहादुर राई,रण बहादुर श्रेष्ठ,सुनिल कुमार न्यौपाने,अभिषेक बज्राचार्य र प्राडा गीता प्रधान छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत तुलसीराम गौतम ९ महिने कार्यकाल बाँकी छँदै राजीनामा दिएर हिडेका थिए । सोही बैंकका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुको बदमासी प्रकरण हो यो । उनीहरुले सर्वसाधरणले रगत पसिना बगाएर आर्जेको र बचत गरेको अर्बाै बढी रकम घोटला भएको बिषय अहिले नेपाल राष्ट्र बैंकमा पुगे पनि केही कारवाही भएको छैन । वैंकका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुका कारण सर्वसाधरणको अर्बाै रकम जोखिममा परेको छ । अध्यक्ष श्रेष्ठले सर्वसाधरणका अर्बौ रकम एक जना पूर्व कर्मचारीलाई मौरिसस गएर एम एन्ड एम रेमिटबाट बैंकलाई रकम पठाउन लगाएको भए पनि सो रकम उतै गायब भएसँगै सर्वसाधरणले खाई नखाई रगत पसिना बगाएर आर्जेको अर्बौ रकम उतै हराएको बिषयमा नेपाल राष्ट्र बैंकसम्म पुगेको छ । यसरी सेञ्चुरी कर्मसियल बैंकले एकातिर सर्वसाधरणको रकम विदेशमा पठाएर विदेशबाट आफ्नै कम्पनीमा पठाएर दुरुपयोग गर्दै आएको छ भने अर्काेतिर राज्यका सरकारी निकायमा रहेका रकम आफ्नो बैंकमा तानेर त्यसका व्याजमा समेत तिर्नुपर्ने जति व्याज नतिरी बैंक र सरकारी निकायका कर्मचारीहरुले तर मार्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *