नेपाल लाइफको सेयर दिनप्रतिदिन ओरालोतिर, लगानीकर्ता चिन्तित

अर्थ/वाणिज्य समाचार

काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर चार वर्षयताकै सस्तो भएको छ । चारवर्ष अगाडि कम्पनीको सेयर मूल्य ९ सय रहेको थियो ।

कम्पनीको सेयर मूल्य बिहीबार घटेर न्यून मूल्यमा आएको हो। बिहीबार प्रतिकित्ता १७।७० रुपैयाँ घटेर ८९० रुपैयाँमा आइपुगेको छ। गत वर्ष इन्स्योरेन्सको सेयर मूल्य ३ हजार रुपैयाँसम्म पुगेको थियो। अहिले घट्दा लगानीकर्ताले प्रतिकित्ता २११० रुपैयाँ गुमाएका छन्।

गतवर्षको नाफाबाट कम्पनीले १४ प्रतिशत मात्रै लाभांश घोषणा गरेपछि सेयर मूल्य झनै घटिरहेको छ। जब कि कम्पनीले अझै एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ । बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजीको पनि दबाब छैन। तर सेयर मूल्य भने लगातार घटिरहेको छ ।

समग्र सेयर बजार ३२ सयमा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३ हजारसम्म पुगेको थियो। जुन सेयर मूल्य तीन वर्षयताकै सस्तो हुँदैछ। पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको सेयर मूल्य ५२ हप्ता अगाडि उच्चमा २२४७ रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हेर्‍यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँभन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ। यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्बभन्दा धेरै रकम देखिन्छ ।

जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय बीमा समितिले गरेको छ। बीमा समितिको यो निर्णयअनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ । यसअघि जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो। जब कि कम्पनीको मूल्य उच्च हुँदा पुँजीकरण २ खर्ब नाघेको थियो ।

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाब पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। बजार पुँजीकरण घटेर ७३ अर्बमा आइपुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *