वैतेश्वरमा कांग्रेससँग कुनै दलको प्रतिष्पर्धा हुँदैन : छवि लामा

राजनीति समाचार

काठमाडौंं । दोलखाको बैतेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष छवि लामाले आफूले थालेका अपूरा काम पूरा गर्नका लागि पुनः अध्यक्षमै उम्मेदवारी दिएको बताएका छन् ।

विगत पाँच वर्षमा आफूले थालेका काम ७० प्रतिशत सकिएको बताउँदै उनले बाँकी रहेको ३० प्रतिशत आगामी पाँच वर्षभित्र सम्पन्न गरी थप योजना ल्याएर बैतेश्वरलाई जिल्लाकै नमूना गाउँपालिका बनाउने गरी पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट फेरि पनि अध्यक्षमा जित्ने दाबीसहित उनले आफू काम गर्ने मान्छे भएकाले मतदाताको विश्वासमा पुनः उम्मेदवारी दिएको बताउँछन् । उनी भन्छन्, ‘पाँच वर्षमा विकास गरेको थिएँ । त्यही भएर उठेको हुँ । मैले जित्छु भन्ने विश्वास छ ।’ उनले आफू र उपाध्यक्षले मात्र हैन आठ वटामध्ये सात वटा वडाध्यक्ष पनि कांग्रेसले नै जित्ने दाबी गरेका छन् ।

बैतेश्वरमा सत्तासिनहरुको गठबन्धन बन्न नसकेपछि सबै छुट्टा–छुट्टै प्रतिस्पर्धामा छन् । कांग्रेस र एमालेले छुट्टा–छुट्टै प्रतिस्पर्धा गरिरहँदा सत्ता सहयात्री दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।

गठबन्धन बन्न नसकेकोबारे लामा भन्छन्, ‘गठबन्धन गरौं भनेर प्रस्ताव गरिएको हो । तर उहाँहरु अध्यक्ष नै चाहिने भनेर अड्डी कस्न थाल्नुभयो कांग्रेसले जितेको ठाउँमा उपाध्यक्ष दिने भन्दा मान्नुभएन । त्यसोभए मित्रवत् प्रतिस्पर्धा गरौं भन्ने भनेर छुट्टाछुट्टै लडेका हौं ।’

लामाले पाँच वर्षको अवधिमा धेरै काम गरेको भन्दै सबैभन्दा महत्वपूर्ण र चाहिने काम शिक्षा र स्वास्थ्यमा सुधार गरेको दावी गरे । उनी भन्छन्, ‘मैले घोषणा गरेमध्ये ७० प्रतिशत काम गाउँस्तरमा गरियो । बाँकी रहेको ३० प्रतिशत काम आगामी कार्यकालमा सक्छु भनेर लागेको छु ।’

बाँकी रहेका काम सक्ने योजनाबारे उनी अगाडि भन्छन्, ‘पर्यटक भित्र्र्याउने भनेर काम थालनी गरिएको छ । त्यसलाई पूरा गर्नुछ । देउराली, भन्भन्ते, गढिडाँडा लगायतका सबै मठमन्दिर जिर्णोद्धार गरेर पर्यटकलाई आकर्षित गर्नुछ । खानेपानीका लागि एकघर एकधाराको योजना शुरुआत गरिएको छ त्यसलाई पूरा गर्नुछ । कच्ची सडक पीच गर्नुछ, त्यसको ९–१० किलोमिटर पिच भइसकेको छ ।’

त्यसैगरी उनले गाउँपालिका भवन तयार भइसकेको बताए । त्यस्तै वडा कार्यालयहरु पनि तयार गरिसकेको स्मरण गरे । गाउँलेले दान दिएकोसमेत उनले बताए । गाउँपालिकालाई ४७ रोपनी जग्गासमेत दानमा आएको लामाले बताए । सो जग्गामा मठमन्दिर, मिटिङ हल, कार्यालय, क्वार्टर, कृषि भवन, किसान केन्द्र बनाइएकोसमेत लामाले बताउन भ्याए ।

शिक्षा र स्वास्थ्यबारे उनी भन्छन्, ‘शिक्षा र स्वास्थ्य महत्वपूर्ण विषय हो । त्यसको लागि स्वास्थ्यको भवन बनिसकेको छ । १५ शैथ्याको अस्पताल सञ्चालनमा ल्याएका छौं । आवश्यक चिकित्सक राखिसकेका छौं । १८ करोडको लागतमा भवन बनाउँदैछौं ।

गुणस्तरीय शिक्षाका लागि अंग्रेजी मिडियमबाट पढाइ शुरु गरेको तीन वर्ष भइसक्यो । आठै वडामा मावि र उच्च मावि शिक्षालयहरु छन् । शिक्षाको क्षेत्रमा हामी जिल्लाकै अब्बल छौं । बैतेश्वर गाउँपालिकावासी मेरो कामबाट निकै प्रभावित छन् । त्यसकारण पनि यो निर्वाचनमा वैतेश्वरमा कांग्रेससँग कुनै दलको प्रतिस्पर्धा हुँदैन । यो निर्वाचनमा वैतेश्वरमा कांग्रेससँग कुनै पनि दलको प्रतिस्पर्धानै नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *