रेणुलाई हराउन एमाले र पौडेल एक ठाउँमा आउने सम्भावना गठबन्धन भित्र नै चर्को विवादको स्थिति

समाचार

काठमाडौं । हिजो रातीको १२ बजेबाट पर्सि शुक्रबार हुने स्थानीय निर्वाचनको प्रचार प्रसार समाप्त भएको छ । र, मौन अवधि सुरु भएको छ । पर्सि शुक्रबार एक साथ ७५३ वटा स्थानीय तहमा निर्वाचन हुने भएपनि सबैको आँखा भने भरतपुर महानगरपालिकाको मेयरको निर्वाचनमा गएर केन्द्रित भई राखेको छ । सत्तारुढ गठबन्धनले जसरी पनि भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउने कसरत गरेको र गठबन्धनले गरेको यो निर्णय प्रति विद्रोह गर्दै नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएको कारण भरतपुर महानगरपालिकाको मेयरको निर्वाचन रोचक र तनावपूर्ण बन्न गएको छ । रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउने वातावरण बनाउनका लागि गठबन्धनको तर्फबाट गत २२ गते भरतपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधव नेपालले समेत सम्बोधन गर्ने गरी आम सभाको आयोजना गरिएको थियो । र, गत वैशाख २१ गते नै २२ गतेको आमसभालाई सम्बोधन गर्न भनेर प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भरतपुर पुगेका थिए । आमसभाको अघिल्लो दिन नै भरतपुर पुगेका प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलको उद्देश्य पार्टी निर्णय प्रति विद्रोह गरेर मेयरमा उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई सहमतिमा ल्याएर उनको उम्मेदवारी फिर्ता गराउने वातावरण बनाउनु रहेको थियो । तर यो अभियानमा प्रधानमन्त्री देउवा र नेता पौडेल असफल भएपछि भरतपुर महानगरपालिकाको मेयरको निर्वाचन थप रोचक बन्न पुगेको छ । मेयरमा रेणु दाहालले विजय हात लगाए त्यो जित गठबन्धनको जित हुने र रेणु यादव पराजित भए त्यो हार गठबन्धनको हार हुने स्थिति बनेको छ । अहिले भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विजय सुवेदी, कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकार जगन्नाथ पौडेल र गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी नेतृ रेणु दाहालका बीचमा कडा प्रतिश्पर्धा देखिएको छ । समाचार सुत्रका अनुसार तीन जना बीचको टक्करमा रेणु दाहालले विजय हात लगाउने स्थिति बनेका जसको अवस्था बलियो बन्ने छ त्यसलाई अर्काले समर्थन गर्ने सहमति एमाले उम्मेदवार विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल बीचमा सहमति बनेको छ ।
गठबन्धनमा रहेका पाँच दलले ७५३ वटै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति गरेका भएपनि व्यावहारिक रुपले यो सम्भव नभएपछि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको केन्द्रिय तहले नै भागबण्डा गर्ने सहमति भएको थियो र अन्य स्थानीय तहमा भने आपसमा सहमति गरेर मैत्रीपूर्ण प्रतिश्पर्धा गर्ने सहमति पनि गठबन्धनका शीर्ष नेताहरुले गरेका थिए । तर गठबन्धनका शीर्ष नेताहरुले गरेको यो सहमति लगभग असफल सावित भई सकेको छ । यो सम्बन्धमा सबैभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ताले विद्रोह गरेर गठबन्धनका शीर्ष नेताहरुले गरेको निर्णयलाई चुनौती दिएका छन् । भरतपुर महानगरमा पार्टी र गठबन्धनले गरेको निर्णयलाई चुतौती दिँदै जगन्नाथ पौडेल मेयरको चुनावी मैदानमा बलियो हैसियतमा रहेका छन् भने जनता समाजवादीको भागमा परेको जनकपुकरो मेयरका लागि पनि नेपाली कांग्रेसका नगर कमिटी अध्यक्ष मनोज कुमार साहले नगर कमिटी र नेपाली कांग्रेसबाट नै राजीनामा दिएर मेयरमा भिडिराखेका छन् । उनलाई नेपाली कांग्रेसका पूर्व सभापति तथा जनकपुर क्षेत्रका बलिया कांग्रेसी नेता विमलेन्द्र निधिको समर्थन रहेको छ । यसैगरी पार्टीले गरेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने निर्णयको विरोध खुल्ला रुपमा नगरेपनि यो निर्णय प्रति कांग्रेसका संस्थापना इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफूहरु असहमत रहेको स्पष्ट सन्देश दिएका छन् । गत २२ गते भरतपुरमा आयोजना गरिएको गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवाले बोलाउँदा पनि संस्थापना इतर पक्षका नेता शेखर कोइरालाले आफू अन्य चुनावी कार्यक्रममा नै व्यस्त हुनुपर्ने भएको भन्दै रेणु दाहालको पक्षमा मत माग्न भरतपुरमा आउन अस्वीकार गरेका छन् ।
यसैगरी कांग्रेसका महामन्त्री गगन थापाले पनि रेणु दाहालको प्रचारका लागि तय भएको गठबन्धनको आमसभामा उपस्थित भएर सम्बोधन गर्न अस्वीकार गरेका थिए । उता गठबन्धनको एउटा घटक जनता समाजवादीले पाएको जनकपुर उपमहानगरपालिकाको मेयरको पक्षमा जनमत बनाउन गठबन्धनले गत आईतबार आयोजना गरेको आम सभामा उपस्थित हुन अस्वीकार गरेका कांग्रेसका पूर्व उपसभापति त्यो दिन चुनाव प्रचार गर्न भनेर धरानतिर गएर आफ्नो असहमति पार्टीको व्यवस्थापन समक्ष जाहेर गरेका छन् । कांग्रेसको बलियो गढ रहेको जनकपुर उपमहानगरपालिकको मेयर जनता समाजवादीलाई दिएर कांग्रेसको शीर्ष नेतृत्वले आफूलाई कमजोर बनाउन यो कसरत गरेको र आफूलाई वक्ताको रुपमा समेत नराखेर बेइज्जत गर्ने काम पार्टीले गरेको भन्दै पूर्व उपसभापति विमलेन्द्र निधिले असन्तोष व्यक्त गरी राखेका छन् । नेपाली कांग्रेसका तर्फ भएको विद्रोहले निर्वाचन परिणाममा असर पार्न सक्ने सम्भावना रहेको भन्दै कांग्रेस विद्रोहको कारण भरतपुर उपमहानगरपालिकामा जनता समाजवादीका उम्मेदवार सँगै भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनले अगाडि सारेको रेणु दाहाल समेत पराजित हुने स्थिति आउन सक्ने आकलन समेत हुन थालेको छ । गठबन्धनका कार्यकर्ताले यसरी माथिबाट भएको निर्णयको विद्रोह गरी रहँदा गत सोमबार चुनाव प्रचारको सिलसिलामा कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाहालले गठबन्धनले अनुशासनको कारवाही गरेको कैलालीको कैलारी गाउँपालिकाको उपमेयर रहेकी लक्ष्मी थारुको पक्षमा आफूलाई प्रस्तुत गरेका थिए । गठबन्धनले गरेको सहमति उल्लंघन गर्दै माओवादी कार्यकर्ता लक्ष्मी थारुले कैलारी गाउँपालिकाको उपमेयरमा उम्मेदवारी दिएपछि उनी माथि गठबन्धनले अनुशासनको कारवाही गरेको थियो । गटबन्धनले कारवाही गरेको कार्यकर्ताकै पक्षमा माओवादी केन्द्रका अध्यक्ष दाहाल कैलारी पुगेर प्रचार गरेर गठबन्धनको अनुशासन माओवादी केन्द्रका अध्यक्ष दाहालले नै तोड्ने काम गरेका छन् । यसैगरी पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका अध्यक्ष रहेका बाबुराम भट्टराईको जिल्ला गोरखामा गठबन्धनले गरेको सहमति भताभुंग भएको छ । यो सहमति अनुसार पूर्व प्रम भट्टराईको गृहनगर पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादीले र उपमेयरमा नेपाली कांग्रेसले उम्मेदवारी दिनु पर्ने थियो । यसैगरी गोरखा नगरपालिकको मेयरमा नेपाली कांग्रेसले र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति पनि भएको थियो । तर यो सहमतिलाई तोड्दै नेपाली कांग्रेसले पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि गठबन्धनले गरेको यो सहमति भताभुंग भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *