काठमाडौं । जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार हेमन्त राई विजयी हुनुभएको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनुभएको छ ।
एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो । मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाउनुभयो ।
इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी हुनुभएको थियो । पाँच वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने हुनुभएको हो । यसपटक भने राईले विजय हासिल गर्नुभयो ।
राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुनुहुन्छ ।
त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेम्वाङले तीन हजार ७२९ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले तीन हजार ४६ मत पाउनुभयो ।
सुब्बा निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थियो । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी हुनुभएको थियो ।
माङसेबुङ गाउँपालिकामा कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५६८ मतदाता रहेको माङसेबुङमा आठ हजार ३०७ मत खसेको थियो ।