ठेकेदारले डाक्टर साब किन्दै

समाचार

काठमाडौं । राजनीतिमा ठेकेदार र व्यापारीको प्रवेशले यो बेला ठूला नेताहरुको ध्यान पैसामा केन्द्रीत भएको छ । दलको निम्ति इमान्दारिता र निष्ठाको राजनीति गरेका नेता, कार्यकर्ता थन्किने गुण्डा, फटाहा र ठेकेदारले दलको टिकट वितरण गर्ने अवस्था यसपटक खुलस्त भएको छ । कांग्रेसका ठेकेदार इन्द्र बानियाँको कारण पार्टी प्रवक्तासमेत रहेका डा.प्रकाशशरण महत थला परेका छन् । बाग्मती प्रदेश पार्टीका अध्यक्ष बनेका बानियाँले काठमाडौंमा मात्र होइन नुवाकोटमा समेत डा.महतसँग परामर्श नगरी विरोधी छानेर उम्मेद्वार बनाएका थिए । यिनै डाकटरले बाग्मती प्रदेश सरकार गठन गर्दा एक वर्ष पछिको नेतृत्व कांग्रेसले गर्ने इन्द्र बानियाँ नै मुख्यमन्त्री हुने सम्झौतापत्र लिएर बसेका छन् ।
इन्द्र बानियाँले काठमाडौंका नगरपालिकाहरुका उम्मेद्वार छनौट गर्दा गरेको एकलौटी व्यवहारले सामाजिक रुपमा समेत डा.प्रकाशशरण महतमाथि नै अप्ठेरो बनाइदिएका छन् । डा. महतकै निर्वाचन क्षेत्र रहेको काठमाडौं क्षेत्र नं. ५ को उम्मेद्वार चयनमा समेत कार्यकर्ताको छनौट सही ढंगले गरेनन् । कांग्रेसभित्र द्वन्द्व टिकट वितरणमा हुने गर्दछ । यसपटक पनि त्यो रोग देखियो । एमालेमा ओलीवादले कार्यकर्तालाई दास बनाएजस्तो कांग्रेसमा ठेकेदार प्रथाले स्थान पाएको छ । त्यही कारण टोखा नगरमा बसन्त श्रेष्ठलाई दिइएको टिकट पनि खोसिएको थियो । भ्रष्ट राजनीतिमा ठेकेदार बिचौलिया र अपराधीले स्थान लिँदा जनतामा समेत वितृष्णा पैदा भएको छ । स्थानीय तहको चुनावी परिणामले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्छ । तर सत्ता गठबनधनले स्थानीय तहको चुनावमा समयमा कार्यकर्ताहरुबाट चुनावी गठबन्धनको बहस चलाउन नसक्दा इन्द्र बानियाँजस्ता ठेकेदारहरुबाट विद्या र विवेक भएका डाक्टर प्रकाशशरण महतहरु लथालिंग भएका छन् ।
दलहरुमा सिद्धान्त र नीतिको विषयले स्थान पाएको छैन । लोकतन्त्रमा पैसा, दादागिरी, बिचौलिया र दलालको प्रवेशले राजनीति नै बद्नाम भएको हो । यहाँ कांग्रेस, एमाले, माओवादी भन्ने नै छैन । ज्यान मुद्दामा जेल परेका मोहम्मद अफ्ताब आलम हुन् वा रेशम चौधरी नै किन नहुन अहिले कांग्रेस र एमालेले ती अपराधी छुटाएर स्थानीय तहको राजनीति आफ्नो र पार्टीको पक्षमा पार्न प्रतिस्पर्धा गर्दैछन् ।
डा.प्रकाशशरण महत कति ठिक छन्, कति स्वच्छ छन् त्यसको बहस छुट्टै हुनसक्छ । तर पार्टीको प्रवक्ता, सहमहामन्त्री भएको नेताले स्थानीय तहको चुनावमा आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रका उम्मेद्वारका बारेमा जानकारी नपाउनु निर्णायक बन्न नपाउनु भनेको कांग्रेसभित्र ठेकेदार र माफियाको दबदबा बढ्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *