भीमेश्वर नगरमा निर्वाचनको माहोल

समाचार

दोलखाको सदरमुकाम रहेको भीमेश्वर नगरपालिकामा स्थानीय तहको निर्वाचनको माहोल तातेको छ । दिनदिनै चुनावी सभाहरु भैरहेका छन् । राजनीतिक दलका आ आफनै तर्कहरु सारी रहेका छन् । निर्वाचन आफ्नो पक्षमा पार्न अनेकानेक कोशिस गरिरहेका छन् । दोलखा जिल्लाका ९ वटै पालिकाहरुमा नेकपा एमाले एक्लै भिड्दै छ भने अर्को तर्फ संघीय सरकारका सम्मीलित दलहरुको गठवन्धन चुनावी मोर्चामा लागेका छन् ।
भीमेश्वर नगरपालिकाम नेकपा एमालेले नगरप्रमुखमा हरिवंश चौलागाई र उपप्रमुखमा कमला वस्नेतलाई उम्मेदवार वनाएको छ । त्यसै गरी गठवन्धनको तर्फवाट इश्वर मानन्धर र उपप्रमुखमा संगिता पाख्रिनलाई चुनावी मैदानमा उतारेको छ । वडाहरुमा एमालेको आफ्नै टिम भएता पनि गठवन्धनमा प्राय वडाहरुमा तालमेल मिलेको भेटिन्न ।
भीमेश्वर नगर केन्द्रीत चुनावी दौडमा नेकपा एमाले भीमेश्वर नगरकमिटीले ९० वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, वन, सहकारी, सुशासन, भौतिक पूर्वाधार केन्द्रीत विषयहरु उल्लेख गरेको छ । विद्यालय स्तरमा गुणस्तरीय र जीवनपयोगी, प्राविधिक तथा नैतिक शिक्षामा जोड दिने भनेको छ । सामुदायिक विद्यालयका ६ कक्षासम्मका विधार्थीहरुलाई वार्षिक रुपमा निशुल्क पोशाक उपलव्ध गराइने, “विद्यार्थिसँग मेयर” अभियान अन्तरगत माध्यमिक विद्यालयहरुमा सरदर महिनाको एक पटक विद्यार्थी नगरप्रमुख अन्तरक्रिया गर्ने उल्लेख छ । शिक्षक, विधार्थी र अभिभावक वीच नियमित सम्वाद तथा सहकार्यको वातावरण तयार गरिने, नगरपालिका भित्र एक स्नातक तहको कृषि क्याम्पसको लागि पूर्वाधार तयार गरिने प्रतिवद्धता गरेको छ । बाबुआमा नभएका तथा अतिविपन्न परिवारका बालबालिकालाई स्नातक तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरिने अठोट गरेको छ । प्रसुतीजन्य जटिलता भएको, दुर्घटनाजन्य विपद्मा परेको र हृदयघात भएको नागरिकलाई स्थानीय सरकारको तर्फवाट जानकारी प्राप्त गर्नासाथ यथाशीघ्र निशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउने व्यवस्था मिलाउने र नागरिकलाई परेको विपद्मा स्थानीय सरकारको पहिलो उपस्थिति हुने उल्लेख छ । स्थानीय सरकारको तर्फवाट पौष्टिक आहार सहितको उपहार र नगद सहित जनप्रतिनिधिवाट “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गर्ने, ४० वर्ष नाघेका एकल वा अविवाहिता महिला र अति विपन्न एकल पुरुषहरुलाई निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध गर्ने उद्घोष गरेको छ
“एक घर एक धारा” र “सधैका लागि सवैका लागि स्वच्छ पानी” भन्ने अभियानलाई पूर्णता दिने र हाल कार्यान्वयन भैरहेको प्रविधि केन्द्रित फोहोर तथा ढल प्रशोधन केन्द्र निर्माण कार्य पूरा गरि सञ्चालनमा ल्याइने भनेको छ । “वातावरण संरक्षण र प्रदुषण नियन्त्रणका लागि घर घरमा नियन्त्रक” भन्ने अवधारणा अनुसार फोहोर मैला व्यवस्थापनबाट आयआर्जन समेत गर्न सकिने गरी विद्यालय देखि तथा समुदायसम्म सचेतनामूलक कार्यक्रमहरु सञ्चालन अठोट छ ।
पेट्रोलियम पदार्थको आयात कम गर्न उपभोक्ताहरुलाई विद्युतीय चुल्हो (इन्डक्सन) तथा सुधारिएको चुल्होमा ५० प्रतिशत अनुदान उपलव्ध गराउने र चरिकोटबाट वडा कार्यालयसम्म र वस्तीदेखि वडा कार्यालयसम्म जाने सडकहरु क्रमशः स्तरोन्नती गर्दै लाने कुरा प्रतिवद्धता पत्रमा पारेको छ । नगरपालिका भित्रका मूख्य ६ वटा सडक (दोलखा–नागदह, जिलु चक्रपथ, अनाथालय –महाँकाल, पाटी खोला –उखुवारी, घेवापानी –शेरा ¬–निगाले वाघखोर, चरिकोट –देउराली –पानीघाट) स्तरोन्नती गरी क्रमसः कालो पत्रे गर्ने भन्ने उल्लेख गरेको छ ।
विपद्ले घर पूर्ण क्षति भएका, जोखिमयूक्त घरमै वसेका र वैकल्पीक व्यवस्था नभएका नागरिकको घर निर्माण स्थानीय सरकारले गर्ने भन्ने उल्लेख छ ।
कृषि बिमा अन्तरगत पशु, वाली र किसान विमा कार्यक्रम सहज वनाइनेछ । विमा शुल्कको १० प्रतिशत मात्र किसानले वुझाउँदा पुग्ने व्यवस्था मिलाउने र विमा दावी गर्नु पर्ने अवस्थामा छिटो छरितो भुक्तानीका लागि समन्वय गर्ने भनेको छ । कृषि सहकारी संस्थाको समन्वयमा हरेक वडामा कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था गरि खेतवारी तथा घरगोठमा सेवा प्रवाह गर्ने र “आफ्ना लागि खाद्यान्न, आफैं उत्पादन” सोच अगाडी सारेको छ । केही कृषि उपजको समर्थन तोक्ने र खरिदको ग्यारेन्टी गर्ने उल्लेख छ । त्यसै गरी उत्पादनमा आधारित अनुदानलाई जोड दिएको छ । कृषि व्यवसायसँग सम्वन्धित आवश्यक पर्ने सवै प्रकारका सिफारिस वडा कार्यालय वा नगरपालिकावाट निशुल्क प्रदान गर्ने उल्लेख छ ।
नेपालको ३ खम्वे अर्थ नीति अनुसार नैं सहकारीलाई उत्पादन केन्द्रीत वनाउन प्रेरित गर्ने, नगरपालिका क्षेत्र भित्र रहेका सहकारीहरुको नियमन र अनुगमन गर्ने व्यवस्था मिलाउने, नगर क्षेत्र भित्र रहेका सहकारीहरुको साझा संरचना (नेटवर्क) वनाई सहकार्यको वातावरण तयार गर्न सहजिकरण गर्ने, नगर क्षेत्र भित्र रहेका सहकारीहरुको समन्वयमा कर्जा सूचना केन्द्र स्थापना गरी सञ्चालन गर्न सहयोग गरिने कार्यक्रमहरु तर्जुमा गरेको छ ।
भीमेश्वर नगर कमिटीले तयार गरेको चुनावी प्रतिवद्धता पत्रमा कृषि र पर्यटनलाई प्राथमिकतामा रहेको छ । कृषिमा आधारित पर्यटनसँग सम्वन्धीत धेरै वुँदाहरु समावेश गरिएको छ । यस अन्तरगत “पर्यटक हाम्रा पाहुना, समृद्धिका गहना” भन्ने सोचका साथ स्थानीय रुपमा चल्ने यातायातको साधन र होटल व्यवसायीहरुलाई उनीहरुको संलग्नतामा पर्यटकलाई सहज हुने दररेट निर्धारण गर्ने र सो को अनुगमन गर्ने उल्लेख गरेको छ । फार्म स्टे तथा होम स्टेलाई प्रोत्साहन गर्ने, पर्यटन प्रवद्र्धनका लागि “गन्तव्य भीमेश्वर” अभियान सञ्चालन गर्ने यसका लागि तराई र उपत्यकाका स्थानीय तहसँग मितेरी सम्वन्ध विकास गर्दै लग्ने भनिएको छ ।
“एक वडा एक खेलकूद मैदान” निर्माण तथा जिल्ला सदरमुकाममा निर्माणाधीन रंगशालाको निर्माण गर्ने भनीएको छ । गरिवी पहिचान प्राप्त कार्ड पाएका ८० वर्ष नाघेका वृद्धहरुलाई संघीय सरकारवाट उपलव्ध गराएको सामाजिक सुरक्षा भत्तामा प्रति महिना १ हजार थप उपलव्ध गराउने उल्लेख गरेको छ । चरिकोट सातदोवाटोमा ज्येष्ठ नागरिक मैत्री पार्क वा विश्राम स्थल निर्माण गर्ने भनिएको छ ।
“टोलटोलमा मेयर, घर घरमा जनप्रतिनिधि” भन्ने अभियान अन्तरगत वर्षको एक पटक नगरप्रमुख वा उपप्रमुख टोल स्तरमा पुगी नागरिकसँग संवाद गर्ने र वडाका जनप्रतिनिधिहरुले वर्षको एक पटक हरेक घरमा पुगी संवाद गर्ने पद्धती संस्थागत नागरिक र जनप्रतिनिधिहरु विचमा नियमित संवादको वातावरण तयार गर्ने साथै “जनप्रतिनिधि नागरिकका सेवक” भन्ने भावाना आत्मसात गरी व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

गठवन्धनले संकल्प पत्र सार्वजनिक गरेको छ । ११ वटा विषयगत क्षेत्रमा आधारित रहि आफ्नो संकल्प जारी गरेको छ । कृषि तथा पशुपालनः जीवनको प्रमुख आधार, निशुल्क स्वास्थ्य उपचारः नगरवासीको नैसर्गिक अधिकार भन्ने विषय उल्लेख गरेको छ । गुणस्तरीय शिक्षाः आजको आवश्यकता र संस्कृति र पर्यटनः जीवनस्तर उकास्ने प्रमुख धन अनी श्रम रोजगारी र सामाजिक सुरक्षाः नागरिकको आवश्यकता सम्वन्धी अठोट गरिएको छ ।
यूवा तथा खेलकुदः स्वस्थ समाजको प्रमुख आधार अन्तरगत एक विद्यालय एक खेल शिक्षकको व्यवस्था गर्ने भनेको छ । खानेपानी, सरसफाई र सिँचाइः विकासको प्रमुख पूर्वाधार, भौतिक पूर्वाधार, यातायात तथा सडकः विकासको प्रमुख आधारसँग सम्वन्धी अठोट व्यक्त गरेको छ । उद्योग वाणिज्यः रोजगारीको मूख्य आधार, जलस्रोतः हाम्रो प्राकृतिक स्रोत र सूचना तथा प्रविधिः सामाजको दु्रत प्रगती जस्ता विषयमा अठोट व्यक्त गरेको छ ।

राजनीतिक दलहरु प्रतिवद्धता पत्र र संकल्प पत्रका साथ चुनावमा होमिएका छन् । घरदैलो, टोल तथा चुनावी सभाहरु भैरहेका छन् । यी अभियानवाट निर्वाचन आफ्नो पक्षमा पार्ने दौडमा सवै लागेका छन् । नतिजाको लागि वैसाख ३० पछिका दिन कुर्नुको कुनै विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *