जनताले किन स्वीकारे स्वतन्त्र उम्मेद्वार ?

समाचार

रामचन्द्र
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको परिणामप्रति सुरुदेखि नै आम जनतामा समेत उत्सुकता बढेर गएको थियो । सत्तामा रहेका पाँच दलको गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले सम्पन्न स्थानीय निर्वाचनलाई आफ्नो राजनीतिक शक्तिको प्रदर्शनीको रुपमा लिएर त्यही अनुसार चुनावको प्रचार प्रसार गरेको कारणले गर्दा यो निर्वाचन प्रतिको उत्सुकता एकातिर बढेर गएको थियो भने अर्कोतिर राजनीतिक प्रतिश्पर्धा पनि त्यसैगरी बढेर गएको थियो । स्थानीय तह खास गरेर जनताको दैनिक समस्या र गतिविधिसँग सरोकार राख्ने निकाय हुने भएपनि नेपालका राजनीतिक दलहरुले भने आपसको कटुताको कारणले गर्दा सम्पन्न स्थानीय निर्वाचनलाई आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्ने अखडाको रुपमा लिएका थिए । यही कारणले गर्दा नै सम्पन्न स्थानीय निर्वाचनमा एकातिर दलिय राजनीति घुसेको थियो भने अर्कोतिर स्थानीय चुनावमा विकृति पनि घुसाउने काम भएको थियो ।
गत वैशाखको अन्तिम साता सम्पन्न भएको स्थानीय निर्वाचनको लगभग सबै परिणाम सार्वजनिक भई सकेको छ । यो निर्वाचन परिणामलाई लिएर खास गरेर सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेस र सरकारको प्रमुख घटक रहेको माओवादी केन्द्रले खुशी व्यक्त गरेका छन् । र, गठबन्धनलाई आम निर्वाचनसम्म लैजाने उत्साह फेरि सार्वजनिक गरेका छन् । तर गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीले भने यो सम्पन्न निर्वाचनको परिणामप्रति असन्तोष व्यक्त गर्दै आफूलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले धोका दिएको आरोप समेत लगाएको छ । सम्पन्न निर्वाचनमा ७५३ तह मध्ये स्पष्ट बहुमतमा विजय प्राप्त गर्न नेपाली कांग्रेस सफल भएको छ । यसैगरी नेकपा माअ‍ोवादी केन्द्रले पनि २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा प्राप्त गरेको साखलाई जोगाएको छ । यसका लागि कांग्रेस र माओवादीले गठबन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिक्रिया दलको तर्फबाट आएको छ । पाँच दलिय गठबन्धन बनाएर चुनावी मैदानमा आएको परिणामको आधारमा गठबन्धनमा रहेका दलहरु प्रति जनताको समर्थन कति छ भन्ने स्पष्ट भने हुन सकेको छैन । प्राविधिक रुपले सरकारमा रहेका कांग्रेस र माओवादी केन्द्रले सम्पन्न स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई निराश परिणाम ल्याउन सफल भएका छन् ।
निर्वाचनको जितहारको परिणाम एउटा पक्ष हो । निर्वाचन भएपछि स्वभाविक रुपले जित हारको स्थिति बन्न पुग्दछ । त्यस कारण संसदीय अभ्यासमा निर्वाचनमा हुने जितहारलाई कसैले पनि विशेष घटनाको रुपमा लिँदैन । तर गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको केही तहमा आएका परिणामले भने सम्पूर्ण राजनीतिक दललाई आफ्नो कार्यशैली प्रति नै सोच्न बाध्य हुनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । राजधानीलाई कुनै पनि मुलुकको मुटु मानिन्छ । त्यही मुटुमा अहिले ठूला सबै राजनीतिक दललाई पन्छाएर काठमाडौंका सचेत जनताले सम्पन्न निर्वाचनमा स्वतन्त्र हैसियतले मेयरको उम्मेदवारी दिएका र अहिलेसम्म राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न समेत नभएका बालेन शाहलाई अत्याधिक मत दिएर निर्वाचित गरेका छन् । यसैगरी पूर्वी नेपालको सचेत नगरी भनेर चिनिने धरानमा पनि हर्क साङपाङलाई पनि त्यहाँका नागरिकले दलिय उम्मेदवारलाई रद्दीको टोकरीमा पन्छाउँदै विजयको माला लगाई दिएका छन् । नेपाली कांग्रेसको गढ मान्ने गरिएको जनकपुर उपमहानगरपालिकाका जनताले पनि दलका उम्मेदवारलाई अस्वीकार गर्दै नेपाली कांग्रेससँगको संलग्नता समाप्त गरेर स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिएका मनोज कुमार साहलाई त्यहाँका मतदाताले अत्याधिक मत दिएर निर्वाचित गराएका छन् । यसैगरी सुदुरपश्चिमको अस्थायी राजनीति रहेको र प्रमुख व्यापारीक केन्द्र रहेको धनगढी उपमहानगरपालिकामा पनि राजनीतिबाट अलग भएर स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका गोपाल हमाललाई त्यहाँका जनताले त्यसैगरी ठूलो समर्थन दिएर विजयी बनाएका छन् । स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरेको सन्दर्भमा हेक्का राख्नु पर्ने पक्ष के छ भने बालेन्द्र शाह स्वतन्त्र हैसियतले राजधानी काठमाडौं जस्तो महत्वपूर्ण स्थानमा अत्याधिक जनताको समर्थनबाट मेयरमा निर्वाचित भई राखेका छन् भने पूर्वको चर्चित र सचेत शहर भनेर परिचय बनाएको धरान उपमहानगरपालिकामा कसैको सहयोगविना नै स्वतन्त्र उम्मेदवार भएका हर्क साङपाङ मेयरमा निर्वाचित भएका छन् । पञ्तायत कालमा समेत कांग्रेसको गढ भनेर चिनिने गरेको जनकपुरमा कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साह मेयरमा निर्वाचित हुनु सम्पन्न स्थानीय निर्वाचनको अर्को महत्वपूर्ण घटना हो ।
काठमाडौं, धनगढी, धरान र जनकपुर जस्ता सचेत स्थानमा राजनीतिक विल्ला सहितका उम्मेदवारलाई अस्वीकार गर्दै स्वतन्त्र हैसियतले उम्मेदवार भएका व्यक्तिलाई स्थानीय मतदाताले बहुमत मार्फत् स्वीकार गरेको घटना प्रति नजर अन्दाज गर्नुलाई ठूलो मूर्खता मान्नु पर्दछ । किनभने राजनीतिक दल र नेताहरुको कामकारवाही प्रतिको जनताको असन्तोष यी स्वतन्त्र उम्मेदवार मार्फत् यी नगरहरुका सचेत नागरिकले व्यक्त गरेका छन् । यदि राजनीतिक दलहरुले यो निर्वाचन परिणामबाट शिक्षा लिएर आफूलाई सुधार नगर्ने हो भने युवा पुस्ताको नेतृत्वमा तमाम मतदाताले यसैगरी ६ महिनापछि हुने निर्वाचनमा पनि राजनीतिक दल तथा दलिय उम्मेदवारलाई पर्याप्त शिक्षा हुने गरी यस्तै कदम चाल्ने स्वतन्त्र व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउने सम्भावनालाई इन्कार गर्न सकिँदैन । त्यस कारण सम्पन्न निर्वाचनको प्राविधिक परिणामबाट खुशी भएर यो गठबन्धनलाई आम निर्वाचनसम्म नै लैजाने योजना अगाडि सारी राखेका राजनीतिक दल र दलिय नेताहरुले यी चार नगरमा आएको परिणामलाई ध्यान दिएर आफ्नो कार्यशैलीमा परिवर्तन गर्नु पर्ने र त्यो परिवर्तनके विश्वास जनतालाई दिनुपर्ने अवस्था आएको छ । यदि जनताको समर्थनबाट काठमाडौं महानगरको मेयरको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका बालेन्द्र साहलाई र उनका समर्थकलाई हत्सोत्साहित पार्नको लागि एक्लो बलेन्द्रबाट काठमाडौं महानगरमा कुनै काम हुन सक्दैन भन्ने जस्ता टिप्पणी गर्नेहरुले सबभन्दा पहिले राष्ट्रपति विद्या भण्डारी दाहिना र एमाले अध्यक्ष ओली बायाँ भएका निवृत्तमान काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले कति र के काम गरे भन्ने पनि प्रष्ट पार्नु पर्दछ । त्यस कारण अहिलेको राजनीतिक विकृतिको विरुद्धमा झण्डा उठाएका स्वतन्त्र नागरिकलाई निरुत्साहित गर्न यस्ता प्रतिक्रिया व्यक्त गर्नु भन्दा यी नगरहरुमा जनताले दिएको मतको सम्मान गर्दै आफूलाई पनि सुधार गरेर अगाडि बढ्न सबै राजनीतिक दल र नेतालाई सुझाव दिए त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ । र, यो विषयमा सबैले बुझ्नु पर्ने के छ भने राजाको वंश नै नाश गर्ने गरी दरवार काण्ड हुँदा पनि यो मुलुक निरन्तर रुपमा अगाडि बढिराखेकै छ । त्यस कारण दलिय उम्मेदवारलाई पन्छाएर जनताले स्वतन्त्र उम्मेदवारलाई जिताएकै कारण ठूलो अनिष्ट हुन्छ भन्ने जस्ता दुश्साहसी टिप्पणी नगर्दा नै राम्रो होला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *