स्थानीय निकायमा कार्यकारी बन्ने होडबाजीमा कर्मचारी

समाचार

काठमाडौं । राजनीतिक पार्टीसँग जोडिएका कर्मचारी संगठनभित्र स्थानीय तहमा जानको लागि खेलोफड्को सुरु भइसकेको छ । स्थानीय चुनाव सम्पन्न भएपछि मालदार स्थानीय तहमा कार्यकारी भएर जाने कर्मचारीको लर्काे लाग्न थालेको छ । विभिन्न राजनीतिक दलनिकट कर्मचारीले स्थानीय निकायमा जानको लागि कर्मचारी संगठनका नेतालाई हारगुहार गर्न थालेका छन् । खासगरी काठमाडौं उपत्यकाभित्र महानगरपालिकादेखि नगरपालिकामा कार्यकारी भए जाने र मालदार गाउँपालिकाभित्र जान कर्मचारी लागिपरेका छन् । स्थानीय निर्वाचन सम्पन्न भएपछि नयाँ जनप्रतिनिधि चुनिएका नगरपालिका, महानगर, गाउँपालिकामा जानका लागि कर्मचारीहरुले पार्टीसंवद्ध निजामती संगठनका नेताहरुलाई रिझाउन थालेका छन् । मालदार स्थानीय निकायमा कार्यकारी भएर जान हानथाप गरेको बताइन्छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, गोदावरी नगरपालिका, चागुँनारायण नगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिकादेखि शहर, जिल्ला, प्रदेशको स्थानीय तहमा जान कर्मचारीले हानथाप गरिराखेका छन् । पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका, सिद्धार्थनगर नगरपालिका, जनकपुर नगरपालिका, कीर्तिपुर नगरपालिका, धरान उपमहानगरपालिका, कागेश्वरी नगरपालिका, भक्तपुर नगरपालिका, बनेपा नगरपालिकालगायत सातवटै प्रदेशस्तर नगरपालिका तथा गाउँपालिकामा जान कर्मचारी लागिपरेका छन् । राजनीतिक दल निकट कर्मचारी पनि मालामाल हुने भएका छन् । खासगरी सरुवाको लागि कांग्रेस निकट नेपाल निजमती कर्मचारी संगठनका नेता गोपाल पोखरेलको चाकडीमा लागेका छन् । एमाले निकट निजामती संगठनका नेता लेखनाथ कोइराला र रेवन्त गौतम तथा नेकपा एसका नेता आमाचाकडी गाली गर्ने मोहन घिमिरेको चाकडी पनि कर्मचारीले गरिरहेको पाइन्छ ।
कर्मचारीहरु मालदार ठाउँमा जान कर्मचारी संगठनका नेताहरुकोमा धाउने गरेका छन् भने संगठनका नेताहरु पनि कर्मचारीलाई मालदार ठाउँमा पठाएर शुभलाभ लिन खोजेका छन् । नेताले सरुवा गर्न सक्ने ठाउँमा नेतालाई प्रयोग गरिराखेका छन् । नेताले सरुवा गर्न नसक्ने ठाउँमा राजनीतिक दलका सांसद र मन्त्रीहरुको प्रयोग भइरहेको छ । केही कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाईसमेत प्रयोग गरिराखेका छन् ।
राजनीतिक दल निकट स्थानीय जनप्रतिनिधिले पनि कार्यालयमा आफ्नो फेवरको कर्मचारी खोजिरहेका छन् । कतिपय स्थानीय तहमा कर्मचारी अभाव छ, यस्तो कुरामा सरकारले ध्यान दिएको छैन । राजनीतिक दलनिकट कर्मचारीले आ–आफ्नो भेवरका कर्मचारी मालदार अड्डामा राख्नका लागि संघीय मामिला मनत्री राजेन्द्रप्रसाद श्रेष्ठलाई प्रयोग गरिराखेका छन् । संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले नमानेमा प्रधानमन्त्री पत्नी डा.आरजुलाई प्रयोग गरिएको बताइन्छ । डा.आरजुले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर मालदार ठाउँमा कर्मचारी पठाउन निर्देशन दिने गरेको बताइन्छ । प्रत्येक मन्त्रालयका सचिवले प्रधानमन्त्रीलाई भेटि मन्त्रालयको ब्रिफिङ सकिएपछि सचिवले प्रधानमन्त्री पत्नी आरजुलाई एकचोटी दर्शन दिने गरेको बताइन्छ । कर्मचारीहरु सरुवाको लागि विभिन्न शक्ति केन्द्र धाएका छन् र मालदार ठाउँमा जानको लागि मरिमेट्ने गरेको समाचार स्रोतले बताएको छ ।
खासगरी कर्मचारी नेता मोहन घिमिरे कमाउन व्यस्त रहेका छन् । मोहन घिमिरे वर्षौं वर्षसम्म पर्यटन मन्त्रालयमा बस्दै आएका छन् र पर्यटन मन्त्रालय बसेर हिमाल आरोहण गर्ने व्यक्तिसँग पैसा असुल्दै आएको बताइन्छ । मन्त्रालयमा बसेर पर्यटन विभाग र पर्यटन क्षेत्र अन्तर्गत विदेशी पाहुनालाई समेत बजाएर खाने गरेको आरोप छ । एमालेनिकट भएर तत्कालीन माधव नेपाल खेमाका लेखनाथ कोइराला पनि कर्मचारीलाई भजाएर खाने र वर्षाैं वर्षसम्म पनि काठमाडौं उपत्यका छाडेका छैनन् । पुण्य ढकाल पछि मै हो भन्दै लेखा शाखाका कर्मचारीलाई यति चाहिन्छ, उति चाहिन्छ भन्दै ठुला ठुला प्रोजेक्ट र आयोजनाका लेखा अधिकृतलाई उठाएर संगठन र पार्टीका नेतालाई चन्दा दिलाउने गरेका छन् । नेपाल निजामती युनियनका अधयक्ष गोपाल पोखरेल काठमाडौं उपत्यका बािहर गएका छैनन् । अर्थ मन्त्रालयमा बसेर विभिन्न भन्सार र राजश्वका कर्मचारीबाट महिनावारी उठाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *