दलहरुले नेपालको सत्ता चलाउन थालेको तीन दशक बितिसक्दा पनि नेपालको राजनीति र विकासलाई कुनै ठोस दिशा दिन सकेको छैन । नेपालको राजनीतिक धरातल अहिले पनि कमजोर अवस्थामा नै छ भने विकासमा भद्रगोल नै छ । दलहरुले नेपालको राजनीति र विकासलाई सम्हालेर अगाडि बढ्न सकीरहेको छैन । यस्तो अवस्था नेपालमा अझपनि कायम भईरहनु दलहरुको ठुलो असफलता हो । दलका नेताहरुको अज्ञानताले गर्दा विदेशीले नेपालको राजनीति र विकासमा चलखेल गर्न पाएका छन् । विदेशीले नेपालको नाफाखोर दलाल तस्कर व्यापारीहरु र व्यवसायीहरुलाई परिचालन गरी तिनीहरु मार्फत नेपालको शासन व्यवस्था चलाउने गरेका छन् । विदेशीको यो राजनीतिक योजनालाई नेपालमा सफल पार्न दलहरु माध्यम बनेका छन् ।
नेपालमा राजतन्त्र र पञ्चायती व्यवस्था हुँदा पनि विदेशीले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने कोशिस नगरेको होइन तर राजा र पञ्चहरुको बज्र राष्ट्रवादको अगाडि उनीहरु कहिले पनि नेपालको राजनीतिलाई प्रभावित तुल्याउन सफल भएनन् । नेपालमा दलहरुले सत्ता चलाउन थाले पछि भने विदेशीको घुषपैठको लागि सजिलो वातावरण तयार भयो । फलस्वरुप अहिले नेपालको राजनीति र विकास मात्र होइन धर्म र संस्कृति समेत विदेशीको हस्तक्षेपको चपेटामा परेका छन्् । दलहरुको राष्ट्रवाद कमजोर भएको र दलका नेताहरु लोभी लालची र अज्ञानी पनि भएको हुँदा विदेशीको दान, अनुदान, र ऋणको प्रलोभनमा मजाले चाँडै फँस्ने गरेका छन्् ।
दलहरुलाई माछा जालमा परेझै पार्नको लागि विदेशीले नेपालमा विदेशी बैंकहरु र अनेक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई परिचालन गरेका छन् । तिनीहरुको झाँसामा नेपालका लोकतान्त्रिक कम्युनिष्टहरु र काग्रेसहरु सजिलै सित सस्तोमा नै पर्नेर र बिक्ने गरेका छन् । नेपालको राजनीतिमा बलियो पकड भएको एमाले जस्तो दलका नेताहरु धेरैले विदेशीको प्रभावमा परी स्थानिय गैरसरकारी संस्थाहरु खोलेर चलाउँदै आएका छन् । विदेशीले तिनै नेताहरुले खोलेका स्थानिय गैरसरकारी संस्थाहरुलाई अध्ययन अनुसन्धान गर्ने बाहानामा फन्ड उपलव्ध गराएर नेपालको राजनीति, विकास, धर्म र साँस्कृतिलाई प्रभाबित तुल्याउन सफल हुँदै आएका छन् । एमाले दलको पछिल्लो शासनकाल खण्डमा नेपाल राष्ट्रको सुरक्षा जस्तो सम्वेदनसील बिषयमा पनि अध्ययन अनुसान्धान गर्न विदेशीले फन्ड उपलव्ध गराउँदै घुसपैठ गरेको बिषयलाई लिएर व्यापक चर्चा र सार्वजनिक आलोचना नै भएको थियो । विदेशीहरुको फण्डिङमा चल्ने व्यक्तिहरु वा गैरसरकारी संस्थाहरुलाई नेपालमा डलरे वा फण्डित भन्ने चलन नै बसेको छ ।
कोरोना माहमारीको कालमा विदेशीहरु आफ्नै मुलुकको समस्यामा फँसेको हुँदा र आवत जावत माथि लागेको प्रतिबन्धहरुले गर्दा विदेशी हस्तक्षेप संसार भरमा नै त्यति प्रभावकारी हुन सकेन । तर यहि अवधिमा नेपालको राजनीतिलाई भने अमेरिकी परियोजना एमसीसीले निकै प्रभावित तुल्याई नै रह्यो । नेपालको राजनीतिक दलहरु दुई खेमामा विभाजित भएका थिए भने आम नेपाली जनता पनि उक्त अमेरिकी परियोजनाको पक्ष र बिपक्षमा उभीएका थिए । ठुलो वादविवाद र राजनीतिक रस्साकस्सी पछाडि नेपाली काँग्रेसको नेतृत्वमा बनेको पाँचदलको गठबन्धन सरकारले नेपालको संसदबाट उक्त अमेररिकी एमसीसी परियोजना अनुमोदन गराउन सफल भएको थियो ।
अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिन्छ भने झै संसार भर अमेरिकाले गर्दै आएको सैनिक हस्तक्षेपबाट नेपाली आम जनता तर्सिएका छन् । अमेरिकाको चीनलाई घेर्ने नीति र तिव्वती सरनार्थीहरुलाई उचालेर चीनको तिव्वतमा आशान्ति फैलाउने गतिविधिहरु देखि नेपाल राष्ट्र र नेपाली जनता पहिले देखि नै पीडित हुँदै र पीडित बन्दै आएका छन् । अमेरिकाले उपलव्ध गराएको हतियारहरु र धनबाट उत्पन्न भएको खम्पा काण्ड अझै नेपालीको जनमानसमा ताजै छन् । अति सुझबुझ भएको स्वर्गिय राजा वीरेन्द्रले नेपाल राष्ट्र र नेपाली जनताको हित हेरी सैनिक परिचालन गरी अमेरिकाले नेपालमा श्रृजना गरेको उक्त खम्पा अभियानलाई निष्तेज पारिदिएका थिए ।
अहिले नेपालमा राज गर्ने बिकाउ दलहरु त्यतिबेला सत्तामा भएको भए स्वर्गिय राजा वीरन्द्रले लिएको जस्तो साहासी निर्णय लिन सक्ने थिएन र नेपाललाई अफगानिस्तान बनाउन सक्ने पुराको पुरा संभावना थियो । अमेरिकी एमसीसी परियोजनालाई नेपालमा लागु गर्ने सन्दर्भमा पनि नेपाली जनताहरु त्रसित थिए र अहिले पनि त्रसित नै छन् । नेपाली जनता क्षिमेकी चीन र भारतलाई चिढाएर अमेरिकालाई प्रशन्न तुल्याउन कुनै हालतमा पनि तयार छैन । नेपाली जनताले आफ्नो मुलुक नेपालको भूगोल राम्रै सित बुझेका छन् र आफ्नो भूगोल अनुसार परिवर्तन गर्न नसकिने क्षिमेकीलाई कुनै हालतमा पनि चिढाउन तयार छैन । नेपाली जनता नेपाललाई एशियाको युक्रेन बन्न दिनु हुन्न भन्ने कुरामा पहिले देखि नै सजक छन् । अमेरिकाले आफ्नो स्वार्थ पुरा गर्न दिने हतियारहरु र डलरले कुनै हालतमा पनि नेपाल राष्ट्रको सुरक्षा हुँदैन ।
मध्य युरोपको युक्रेनी जनताले गरेको भुललाई नेपाली जनता नेपालमा कुनैपनि हालतमा दोहर्याउन चाहेका छैनन् । दलहरुको एकोहोरो राजनीतिले नेपाली जनता हैरान भईसकेका छन् । नेपाली जनता नेपालको राजनीतिबाट नेपाल राष्ट्रलाई सुख, शान्ति र समृद्धि प्राप्त होस भन्ने चाहेका छन् । नेपालको राजनीतिमा एक प्रकारको हलचल वा वर्कत आवस र नेपाल राष्ट्र ठोश विकास गर्ने दिशा तर्फ उन्मुख होस भन्ने चहेका छन् । नेपालमा हालै मात्र स्थानिय चुनाव सम्पन्न भएको छ र चुनावको नतिजाले यस्तै संकेत दिएको छ । दलका नेताहरुले अब बुझ पचाएर बस्नु भएन र बदलिंदो परिस्थिति अनुसार आफै पनि र आफ्नो मुलुक नेपाललाई पनि परिवर्तन गरी देखाउन सक्नु पर्छ । नेपाली जनताले दलहरुलाई दिएको समय अब सकियो । तीन दशक भनेको कम समय होइन किनकि अशल नेताको निमिक्त पाँच बर्ष नै काफी हुन्छ ।
दलहरुको अझ पनि चिल्लो पात निस्केको नदेखिएको हुँदा नेपाली जनता दिक्क भएका छन् । दलहरु यथास्थितिमा बसी नेपालको राजकिय सत्ता भोग गर्न चाहेको देखिन्छ तर नेपाली जनता भने दलहरु अग्रगमन वा पश्चगमनको मार्गमा लागि हाल्नु पर्ने सोचमा छन् । नेपालको विकास र समद्धि अहिले नेपालमा चलेको संसदवाद र पुँजीवादबाट हुन सक्दैन । नेपालको विकास र समृद्धिको लागि दलहरु राजनीतिको अर्को बिसाउनी तिर कदम बढाएर लाग्नै पर्ने हुन्छ । यस्तो राजनीतिको पहिलो बिसाउनी समाजवाद हो भने अन्तिम बिसाउनी साम्यवाद नै हो । नेपाललाई सिंहापुर वा स्वीटजरलैंड जस्तो बनाउछौं भनी बारबार उद्घोष गर्ने दलका नेताहरु सिंहापुरको जस्तो एकदलिय नेतृत्व भएको शासन व्यवस्था स्वीकार गर्न तयार हुनुपर्छ अथवा युरोप र अमेरिकाको जस्तो दुई ठुला दलहरु भएको शासन व्यवस्था तर्फ लाग्नु पर्छ । नेपालको वर्तमान अविकासको अवस्थामा खाली दलहरुले संकल्प वा प्रतिज्ञा मात्रै गरेर पुग्दैन त्यसलाई व्यवहारमा नै अपनाएर देखाउनु पर्ने हुन्छ ।
हालै सम्पन्न स्थानिय चुनावमा स्वतन्त्र उम्मेद्वारहरुको संख्या ह्वात्तै बढेको छ । यो ट्रेण्डले नेपाली जनताको झुकाब निर्दलियता तिर बढेको देखिन्छ । दलहरुले यसलाई पश्चगमन भनी व्यख्या गरेपनि यथास्थितिमा राजनीतिको फाईदा लुटी बसेका दलहरु माथि अग्रगमन हुन दबाब बढेको नै छ । नेपालको राजनीतिमा कुनै नयाँ नौलो हलचल नभए सम्म वा नदेखिए सम्म नेपाली जनता त्यसै चित्त बुझाएर नबस्ने देखिएको छ । नेपाली जनताले दलहरुको तुलनामा राजतन्त्र र पञ्चायती व्यवस्थालाई राम्रो पाएका छन् । नेपाल राष्ट्रको सुरक्षा विदेशीको दलालहरुबाट प्रेरित दलहरुले भन्दा उच्च राष्ट्रवाद भएको राजतन्त्रले राम्रो सित गर्न सक्नेमा नेपाली जनताको दुईमत छैन ।
नेपालको इतिहासिक धरोहरहरु, धार्मिक सम्पदाहरु र साँस्कृतिक सम्पदाहरु दलहरुले मासेर खाएकाछन् र खाँदैछन् भन्ने त्रास आम नेपाली जनताको मनमा परेको छ । नेपालको मौलिक विकास र मौलिकताको सुरक्षा दलहरुबाट हुन नसक्ने निर्क्योल आम नेपाली जनताले निकाली सकेका छन् । यहि भएको हुँदा दलहरुको बिरुद्ध स्थानिय चुनावमा स्वतन्त्र उम्मेद्वारहरुको चुनौती थपिएको हो । दलहरुका बिरुद्ध यस्तो चुनौतीहरु थपिएर नै जानेछन् जब सम्म दलहरुहरु अग्रगमन तिर आफ्नो कदमहरु बढाउने छैन । नेपालका कुनै पनि दलहरु र तिनका नेताहरुको रिपोर्ट कार्ड राम्रो छैन । नेताहरु राष्ट्रको बजेट तानेर आफ्नो चुनाव क्षेत्रको विकासमा खर्च गर्ने भनी लान्छन् तर त्यसको कुनै डेलीभेरी छैन । लक्षित वर्ग वा समूह सम्म त्यसरी लगेको बजेट नपुगेको हुँदा विकासको भौतिक डेलीभेरी सिटाबालेर सिला खोज्दा पनि भेटिन्न । भरतपुर महानगरपालिकामा मेयर रेणु दाहालले प्राप्त बजेटबाट राम्रो डेलिभेरी गरेकी छिन् भन्ने चर्चा सुनिन्छ तर यसको स्थानिय बासीले अनुभूति गर्न बाँकी नै छ ।
स्थानिय चुनावको नतिजा अनुसार दलहरु झस्किनु पर्ने अवस्था नै आईलागेको छ । दलहरुको ओछ्यानमा भल पसिसकेको हुँदा अब मजाले निदाउन सक्ने कुरै भएन । एकातिर स्वतन्त्र उम्मेद्वारहरुको दबाबमा दलहरु परेका छन् भने अर्कोतिरबाट संसदवाद र पुँजीवाद स्वीकारगरी हालै अग्रगमन भएका राष्ट्रिय प्रजातन्त्र पार्टीले पेल्दै ल्याएका छन् । त्यसैले दलहरुको कानमा तेल हालेर सुत्ने दिन सकिएको हुँदा अबको दिनमा बढी अग्रगमनकारी बनी देखाउन नसकेको खण्डमा दलहरु प्रति नेपाली जनताको आकर्षण घट्दै जाने निश्चित भएको छ ।