यो प्रचण्ड सरकारको बजेट हो कि नेपाल सरकारको हो ?

प्रमुख राजनीति समाचार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९ को वार्षिक बजेट प्रतिनिधि सभामार्फत सार्वजनिक गरेका छन् । १७ खर्ब ९३ अर्ब ८३ करोडको यो वार्षिक बजेट आगामी मंसिर महिनामा हुने आमनिर्वाचन र माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक स्वार्थलाई ध्यानमा राखेर ल्याइएको देखिन्छ ।

यहीं कारणले गर्दा सत्तरी वर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक भत्ता दिने प्रावधानलाई संशोधन गरेर ६८ वर्ष उमेर पुगेका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने प्रावधान यो बजेटमा समावेश गरिएको छ ।

जब कि ६८ वर्षको व्यक्ति तन्दुरुन्त नै रहने गरेको र आफ्ना लागि श्रम गर्न सक्ने क्षमताको हुने स्थिति छ । त्यसैगरी आर्थिक अवस्था निरासाजनक बिन्दुतिर गइरहँदा पनि सरकारले आफ्ना कर्मचारीहरुको मासिक तलबमा १५ प्रतिशत वृद्धि गरेको छ ।

सरकारले आर्थिक वर्षको वार्षिक बजेटमार्पmत कर्मचारी र पाका नागरिकलाई आगामी आमनिर्वाचनलाई मध्येनजर गरी यो निर्णय गरेको देखिन्छ । यसबाहेक पनि सरकारले आगामी वर्षका लागि ल्याएको यो बजेटले नागरिकलाई रिझाउने र आफ्नो पक्षमा पर्ने गरी विभिन्न योजना अगाडि सारेको छ ।

यस बाहेक अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते पेश गरेको यो वार्षिक बजेटलाई नेपाल सरकारको वार्षिक बजेट हो कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्षिक बजेट भन्ने छुट्ट्याउन धेरै कठिन पर्ने अवस्था छ । किनभने माओवादी नेतासमेत रहेका जनार्दन शर्माले माओवादी अध्यक्ष प्रचण्डको चुनावी स्वार्थलाई ध्यानमा राखेर चितवन जिल्लालाई लक्षित गरेर दर्जनभन्दा बढी विभिन्न योजना र कार्यक्रम यो बजेटमा समावेश गरिएको छ ।

चितवन–काठमाडौंबीचको सडक दूरीलाई एक घण्टामा सीमित गर्ने गरी द्रुतमार्ग निर्माणका लागि बजेटमा समावेस गरिएको छ । यो दूतमार्ग चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन पुग्ने गरी एकघण्टामा काठमाडौं–चितवनको यात्रा सीमित गर्ने गरी सडक आयोजना सम्पन्न गर्ने योजनापनि बजेटमा समावेश गरिएको छ ।

त्यसैगरी चितवनको शक्तिखोर–माजिमटार सुरुङमार्ग निर्माण गर्ने योजनापनि यो बजेटमा समावेश गरिएको छ । यसैगरी हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनको शक्तिखोरमा अगाडि बढाएको तर अहिले बजेटको अभावमा निर्माणकार्य रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न भनी बजेटले रकमको व्यवस्था गरेको छ ।

त्यस्तै यो बजेटले भरतपुरमा शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाउन भनी रकमको व्यवस्था गरेको छ । त्यसैगरी शक्तिखोरलाई औद्योगिक क्षेत्रमा रुपान्तरण गरी सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । शक्तिखोर औद्योगिक क्षेत्र १ हजार ४ सय ४१ बिगा क्षेत्रफलमा कायम गरेको छ । यो औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले ३६ अर्ब रुपैयाँ छुट्याएको छ ।

यसैगरी सरकारले भरतपुर महानगरभित्र ढल निर्माण, औद्योगिक ग्राम, नारायणी तटबन्धलगायतका विभिन्न योजनाका कार्यक्रम पनि गत जेठ १५ गते सार्वजनिक गरिएको वार्षिक बजेटमा समावेश गरिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी रेणुको निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर सरकारले तयार पारेको आर्थिक वर्षको वार्षिक बजेटलाई यही कारणले यो वार्षिक बजेट नेपाल सरकारको हो कि प्रचण्ड सरकार हो भनेर प्रश्न समेत गर्न थालेका छन् । दूर्गम क्षेत्रका प्रस्तावित योजना र कार्यक्रमको रकमलाई थुतेर माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा उनका मतदातालाई खुरी पार्न ल्याइएको हो भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *