नेपालको राजनीतिमा राजतन्त्रको स्थान

समाचार

दलहरुले नेपालको संविधान २०७२ मा राजतन्त्रलाई कुनै स्थान राखेको छैन । २४३ बर्ष सम्म चलेको राजतन्त्रलाई दलहरुले एकै झट्कामा मेटाउन खोजेको हुँदा नेपालको राजनीति अस्थिर भएको छ । दलहरुले नेपालमा शासन गर्न थालेको लामो काल बित्दा पनि नेपालको राजनीतिमा परिपक्कता आएको छैन । नेपालको राजनीति संधै तरल र दिशाहिन अवस्थाबाट गुज्रिरहेको देखिन्छ । दलहरुले राजालाई संबिधानबाट मेटाउन सफल भएपनि नेपाली जनताको मनमष्तिकबाट अझै मेटाउन सकेको छैन ।
दलहरु भित्र भएको राजनीतिक सुझबुझको कमी र कमजोरीहरु झनझन बढेर गएको हुँदा नेपाली जनतालाई राजतन्त्रको राम्रो दिनको झझल्को आउन थालेको छ । हालै सम्पन्न स्थानिय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता राजेन्द्र लिङ्देनको नेतृत्वमा प्राप्त गरेको सफलताले राजतन्त्रवादीहरु झनै उत्साहित भएकाछन भने दलहरुलाई झस्काई दिएको छ । दलहरुको नेतृत्वमा जनआन्दोलनहरु राजतन्त्रको बिरोधमा भएका थिए र राजाले जनभावना बुझी सजिलै सत्ताबाट बाहिरिएका थिए । यसको मतलव के हुन्छ भने राजतन्त्र पनि नेपालमा आएको राजनीतिक परिवर्तनको पक्षधर नै हो ।
दलहरुले आपसमा मिलेर नेपालको राजकिय सत्ताको भागबन्डा गर्दा सानो भाग राजा र राजतन्त्रवादीहरुलाई पनि संबिधानमा राखेको भए सुनमा सुगन्ध थपिने थियो । त्यसो नगरिएको हुँदा नेपालको राजनीतिमा अस्थिरताको बिज रोपिएको छ र त्यसले नेपालको समग्र राजनीतिलाई प्रभावित तुल्याउन थालेको छ । राष्ट्रवादको कुरा गर्दा राजतन्त्रवादीहरु अव्बल दर्जाका राष्ट्रवादीहरु हुन भन्ने कुरा सबैले मान्छन । नेपालको रक्षा र नेपाली जनताको शान्ति सुरक्षाको लागि राजाको नेतृत्वमा भएगरेका अनेक कामहरुको उल्लेख नेपालको इतिहासमा छ । दलहरुले त्यस्तो इतिहास केहि बनाउन सकेको छैन ।
अहिले सम्म जे जति कामहरु गरेका छन त्यसबाट दलहरु नै झनझन बदनाम हुँदै गएका छन । संसारमा भएका हरेक मुलुकको उक्त मुलुकलाई चिनाउने मौलिक मुल्य, मान्यता, रीतिरिवाज, परम्परा, साँस्कृतिक र सिद्धान्तहरु हुन्छन । सोही अनुसार उक्त मुलुक चलेको हुन्छ र संसारले चिन्ने गरेको हुन्छ । त्यस्तै नेपालको पनि आफ्नै मौलिक मुल्य, मान्यता, रीतिरिवाज, परम्परा, साँस्कृतिक र सिद्धान्तहरु छन जसले नेपाललाई संसार भर चिनाउने गरेको छ । नेपाललाई वीर गोरखालीको देश, सगरमाथाको देश, शेर्पाहरुको देश, पवित्र देवभूमि हिन्दूराष्ट्र भनी संसारले मान्छन र त्यहि नै नेपालको जग भएको हुँदा त्यसैको आधारमा नेपाललाई चिन्छन । अहिले नेपालमा दलहरुले त्यहि नेपालको जग र आधारलाई नै जरै देखि भत्काउने र नास गर्ने कामहरु गर्दै आएका छन ।
नेपाली जनताको मनमा आदिकाल देखि चल्दै आएको त्यहि रीतिरिवाज, परम्परागत मान्यता र साँस्कृति प्रति घृणा जगाउने काम नेपालका दलहरुले गरेका छन । नेपालमा परपूर्व काल देखि चल्दै आएका जात्राहरु, पर्वहरु, धार्मिक र साँस्कृतिक परम्पराहरुले नेपालीहरुलाई एक आपसमा जोडेर मिलाएर राख्ने काम गरेको छ । त्यसैको आधारमा नेपाल र नेपालीहरु विश्वमा पृथक देखिने र चिन्ने गरिएका छन । नेपालको राजनीतिक दलहरु अहिले हावामा संसारवाद तिर आकर्षित भएर लाग्दै नेपाल राष्ट्रको आधारशीला नै भत्काउने गतिविधिमा लागेका छन । राजतन्त्र नेपालको मौलिक राजनीतिक व्यवस्था हो भने हिन्दूराष्ट्र नेपाल र नेपालीलाई जोडेर एक ढिक्का बनाई राख्ने मौलिक कडी हो । नेपालको राजनीतिक दलहरुले बिदेशीको नक्कल गरी नेपालमा कपी पेस्ट गरिएको राजनीतिक व्यवस्थामा त्यो दिव्य शक्ति र बासना छैन जुन राजतन्त्रमा थियो ।
हिन्दूधर्मले युगौ देखि नेपालीलाई जोडेर एकता बद्ध गरी मिलाएर राखेको थियो भने दलहरुले अहिले लादेको धर्मनिरपेक्षताले त्यसलाई कमजोर तुल्याएको छ । त्यसैको परिणाम स्वरुप नेपालको तिब्र ईशाईकरण सुरु भएकाले नेपालमा उहिले देखि नै स्थापित हिन्दू मान्यताहरु र परम्पराहरुका बिरुद्ध तोडफोटडका गतिविधिहरु बढेका छन । नयाँ धर्म, रीतिरिवाज र साँस्कृतिलाई स्थापित हुन समय लाग्ने हुँदा बिभाजित नेपालीहरुका बिच टकराव पनि बढ्दै गएको देखिन्छ । नेपालका राजनीतिक दलहरुले बाह्र बर्ष रामायण पढ्यो सीता कस्को जोई भन्ने अवस्थामा नेपाललाई रुपान्तरण गर्दै लागेका छन । नेपालको मौलिकतालाई लत्याउँदै बिदेशीको नक्कल गर्दै हिडेका दलहरुले नेपाललाई भडखालोमा लगेर जाक्ने पक्कापक्की गरेको महशुस हुन थालेको छ ।
नेपालको राजाले आफ्नो हातमा सत्ताको बागडोर भए पनि त्यसको दुरुपयोग कहिले गरेनन् । राजतन्त्र बिरुद्ध नेपाली जनताको मनमा भ्रम फैलाएर आन्दोलन गर्ने दलका नेताहरुका बिरुद्ध पनि बल प्रयोग गर्न राजा कहिले तयार भएनन् । अखिरमा राजाले यदि यहि नै जनभावना हो भने नेपालको राजतन्त्रको परम्परा अनुसार र जनभावना अनुसार नै चल्छु भनी राजपाठ दलका नेताहरुलाई निःसर्त बुझाएका थिए । यदि राजाले चाहेको भए दलहरुका बिरुद्ध सैनिक परिचालन र कार्यबाही गर्नसक्ने अधिकार हुँदाहुँदै पनि नेपाली जनता मरिन्छन र दुःख पाउँछन भन्ने हेतुले त्यसो नगरी एउटा गोली पनि नहानी खुरुक्क राजपाठ त्याग्ने राजा दलका नेताहरु भन्दा धेरै महान भएको प्रमाण हो ।
शान्ति सम्झौताको एउटा पक्ष राजा र राजतन्त्रवादीहरु पनि हुन तर त्यसलाई वेवास्ता गर्दै दलहरुले नेपालको संबिधान २०७२ बनाउदा एकलौटी नै पारेका छन । बेलाबेलामा चलेको बेबी किङ र साँस्कृतिक धार्मिक भूमिका सहितको राजाको चर्चा त्यसै सेलाउँदै गएको थियो । सत्तापक्ष र प्रतिपक्षका दलहरुकै बिच भारतको रोहबरमा दोस्रो दिल्ली संझौता सम्पन्न भएको थियो । पूर्व प्राधनमंत्री गरिजा प्रासाद कोइराला स्वर्गबास भएपछि नेपालको राजा र राजतन्त्रको भविष्य बारे भएको अलिखित सम्झौता बारेको जानाकार नेपालमा शीर्ष नेता प्रचण्ड मात्रै छन भने भारतमा नेपाल राजपरिवारको नातेदार नै पर्ने कास्मिरका पूर्व राजा करण सिंह छन । पूर्व राजा ज्ञानेन्द्रले बारबार उठाईरहनु भएको बिषय यहि गोप्य अलिखित सम्झौताका सर्तहरु नै हुन जसको उलंघन नेपालका दलहरुले गरेका छन । भारतको रोहबरमा भएको लिखित र अलिखित सम्झौताहरुको पालना नभएको हुँदा अहिले नेपालको राजनीति अस्थिर बनेको छ ।
दोस्रो दिल्ली सम्झौता दलहरुका बिचमा मात्रै हस्ताक्षेर गरिएको थियो र त्यसमा तत्कालिन राजा र राजतन्त्रवादीहरुको तर्फबाट हस्ताक्षेर गर्ने कोही थिएन । यस्को ठिक बिपरित पहिलो दिल्ली शान्तिसम्झौतामा राजा त्रिभूवन स्वयम पनि हष्ताक्षेर गर्ने पक्षमा सहभागी भएका थिए । हालै सम्पन्न भएको स्थानिय तहको चुनावमा राजतन्त्र र हिन्दूवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भयो । प्राप्त नतिजा अनुसार उक्त पार्टीले स्थानिय तहका पदाधिकारीहरुको धेरै पदहरु जित्न नसकेपनि २० लाख भन्दा ज्याद लोकप्रिय भोट नेपाली जनताबाट पाउन सफल भएको छ । अर्को चुनाव आउँदा सम्ममा उक्त दलले सत्ता नै चलाउन सक्ने गरी चुनाव जित्नको लागि जग हाल्ने काम यो चरणमा सम्पन्न गरेको छ । नेपाली जनतालाई जब जब राष्ट्रको सुरक्षा कमकोर भएको महशुस हुन थाल्छ तबतब राजालाई संझने गर्दछन र “राजा आउ देश बचाउ“ भन्ने नारा लगाएर दलहरुलाई थर्काउँछन । राजा र राजतन्त्र कालमा आत्मनिर्भर रहेको मुलुक नेपाललाई दलहरुले परनिर्भर मुलुकमा रुपान्तरण गरीसकेका छन ।
दलहरुले नेपालको जनशक्ति देखि लिएर जंगल, जमिन, जल सबै बिदेशीलाई भेट चढाईसकेका छन भने नेपाली युवा जनशक्ति बिदेशी मुलुकको रक्षा गर्न र बिकास गर्नलाई रगत पसिना बगाउँदै छन । राजा र राजतन्त्र कालखण्डमा जीवान्त रहेका नेपाली जनतालाई अहिले दलहरुले जीउँदो लास समान पारीसकेका छन । नेपालमा हुने नेपालीहरु बिदेशी पर्यटकको भारी बोक्न बाध्य छन भने बिदेशमा हुने नेपालीहरु बिदेशीलाई धनी बनाउन पसिना बगाएर मेहनत गर्दै छन । केही नेपाली जीवितै खालीहात नेपाल फर्किन्छन भने केही नेपाली बन्द बाकसमा नेपाल फर्किने गरेका छन । अहिले आएर बल्ल नेपाली जनताले दलहरु र राजतन्त्र बिचको फरक के हो भन्ने अनुभूति गर्दैछन । राजतन्त्रमा राष्ट्र सुरक्षित थियो भने नेपाली जनता सुखी थिए । नेपाली जनताको मनमा त्यो बेला शान्ति थियो भने अहिले आशान्त भएको छ किनकि दलहरु प्रति नेपाली जनताको भरोषा छैन । दलहरु बिदेशीका भरिया हुन भन्ने कुरा नेपाली जनताले राम्रै सित देखी बुझी सकेका छन । नेपालमा यतिबेला बिदेशीले आफ्ना दलाल दलका नेताहरु मार्फत राज गर्दैछन त्यसैले दलहरुले जनताको सुन्दैनन् र जनभावना अनुसार पनि चल्दैनन् भन्ने कुरा अहिले ऐना जस्तै छर्लङ्ग भईसको छ ।
राजालाई आजीवन राष्ट्रपति पदमा राखी नेपाललाई हिन्दूराष्ट्र नै कायम राखेको भए दलहरुले नेपाली जनताले स्यावास भन्ने थिए तर त्यसो नगरेको हुँदा अब नेपाली जनताले ढिलो चाँडो दलहरुलाई लोप्पा खुवाउने वाला छ । आफ्नो सिद्धान्तबाट अविचलित नेता द्वय मोहन वैद्य “किरण“ र मजदुर किसान पार्टीको शीर्ष नेता बिजुक्छे ज्यूहरुले पनि राजा र राजतन्त्रवादीहरुलाई राष्ट्रको मुलधार राजनीतिमा ल्याउनु पर्नेमा आफ्नो राय सुझाव दिईसकेका छन । अब सत्तामा भएका र विपक्षमा लागेका प्रमुख दलहरुको हातमा राजनीतिक निर्णयको बल पुगेको छ । बाह्र बर्षमा खोला पनि फर्किन्छ भन्छन त्यसैले तीन दशक पार गरीसकेका दलहरुले नेपाल राष्ट्रलाई अब अगाडि बढ्नबाट अलमल्याउन सक्दैन । अन्तिममा बिजय त्यसैको हुन्छ जो सत्य र धर्मको पक्षमा लागेका छन । भ्रष्टाचार र अपराधको मार्गमा लागि सत्य र धर्मको बिरोध गर्नेहरु कहिले पनि सफल हुने छैन र तिनीहरुको महापतन निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *