राजनीतिक दलभित्र अर्को गठबन्धन बनाउने खेल एकीकृत समाजवादीका मन्त्रीलाई म्यादी बनाएकोमा आक्रोश

समाचार

काठमाडौं । सम्पन्न निर्वाचनको परिणामबाट नेपाली कांग्रेस हदैसम्मको उत्साहित बन्न पुगेको छ भने गठबन्धनको अर्को घटक माओवादी केन्द्र पनि गठबन्धन मार्फत् सम्पन्न निर्वाचनमा आएको परिणामप्रति सन्तुष्ट रहेको छ । गठबन्धनको अर्को घटक एकीकृत समाजवादी भने सम्पन्न निर्वाचनको परिणामबाट असन्तुष्ट हँुदै आफूलाई नेपाली कांगे्रस र माओवादी केन्द्रले धोका दिएको गुनासो अहिले पनि गरी राखेको छ । गठबन्धनको अर्को दल जनता समाजवादी पनि सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले खेलेको भूमिका प्रति सन्तुष्ट छैन । गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले सम्पन्न स्थानीय निर्वाचनमा निर्वाह गरेको भूमिका प्रति सन्तुष्ट नभएपनि एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनबाट बाहिरिने स्थिति छैन ।
सम्पन्न निर्वाचको परिणामबाट उत्साहित बन्न पुगेको नेपाली कांग्रेसको संस्थापना पक्ष भने थप लचकता प्रस्तुत गरेर भएपनि गठबन्धनलाई आम निर्वाचनसम्म लैजाने र स्थानीय निर्वाचनमा जस्तै राम्रो परिणाम हात लगाउने योजनामा रहेको छ । समाचार सुत्रका अनुसार आम निर्वाचनमा प्रत्यक्ष तर्फ आफूले साठी प्रतिशत लिएर चालिस प्रतिशत गठबन्धनका अन्य दललाई दिने योजना कांग्रेसको संस्थापना पक्षले बनाएको छ । र, कांग्रेसले यो मामिलामा पार्टीै भित्रकै संस्थापना इतर पक्षका नेतालाई सहमतिमा ल्याउनका लागि प्रयाश भई राखेको छ । उता सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट निरुत्साहित बन्न पुगेको नेकपा एमाले भने यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने कसरतमा लागि परी राखेको छ । यसका लागि नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको सुत्रले बताएको छ ।
समाचार सुत्रका अनुसार यो गठबन्धन भत्काएर कम्युनिष्ट गठबन्धन बनाउन नेकपा एमालेले एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई राष्ट्रपतिको समेत प्रस्ताव गरेको बुझिएको छ । र, यही कारणले गर्दा खनालले आफ्नो बोलीमा परिवर्तन गर्दै अहिले कम्युनिष्ट एकताको आवश्यकता रहेको टिप्पणी गर्न थालेका छन् । गठबन्धनलाई लिएर पक्षविपक्षका बीचमा विभिन्न कसरत भई रहँदा सरकारमा सामेल भएका मन्त्रीको अवसरलाई लिएर एकीकृत समाजवादीमा नयाँ विवाद सुरु भएको छ । गत वर्षको भदौमा एकीकृत समाजवादी देउवा नेतृत्वको सरकारमा समावेश हुँदा सबै सांसदलाई चित्त बुझाउन ६ महिनापछि सरकारमा गएका एकीकृत समाजवादीका मन्त्रीलाई फिर्ता लिएर सांसदको अर्को टोलीलाई मन्त्रीको अवसर दिने वचन दिएको थियो । उक्त वचन अनुसार सरकारमा सामेल भएको आठ महिनापछि पार्टी अध्यक्ष नेपालले वर्तमान सरकारमा रहेका पर्यटन मन्त्री प्रेम आले, स्वास्थ्य मन्त्री विनोद खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवन राम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र भवानी खातुनलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय एकीकृत समाजवादीका अध्यक्ष नेपालले गरेका थिए । तर बजेट माथिको छलफल सम्पन्न नभई मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेपछि एकातिर बिदा हुन लागेका मन्त्रीहरुले थप समय पाएका छन् भने अर्कोतिर मन्त्री हुने निश्चित भएको भन्दै बनाई खाएका एकीकृत समाजवादीका सांसदहरु तत्कालका लागि थन्किएर बस्नु पर्ने अवस्था आएको छ । ६ महिनामा आफूहरुलाई मन्त्री पदबाट हटाउन थालेकोमा आले, खतिवडा, झाँक्री र श्रेष्ठले आफूहरु म्यादी पुलिस जस्तो म्यादी मन्त्री नभएको भनेर आक्रोश व्यक्त गरेका छन् भने मन्त्रीका लागि प्रस्ताव भएका एकीकृत समाजवादीका सांसदहरुले अब मन्त्री हुने पालो कहिले आउने हो र यो मामिलामा रात रहे अग्राख पलाए भन्ने नेपाली उखान चरितार्थ हुने हो की भनेर चिन्ता समेत व्यक्त गर्ने गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा बजेट माथिको छलफल सम्पन्न भएपछि आगामी मंसीरमा हुने आम निर्वाचनलाई समेत ध्यानमा राखेर एकीकृत समाजवादीको प्रस्तावको आधारमा मात्र नभएर मन्त्रिपरिषदमा व्यापक परिवर्तन गर्ने पक्षमा छन् । प्रधानमन्त्री देउवा वर्तमान गठबन्धनलाई थप ठूलो बनाउनक लागि लोकतान्त्रिक समाजवादीलाई पनि सरकारमा समावेश गर्ने पक्षमा छन् । यसैगरी आगामी असार १५ गते नेकपा माओवादीको पदाधिकारी र स्थायी समिति सदस्य चयनको काम सम्पन्न भएपछि माओवादीलाई समेत मन्त्रिपरिषद पुनर्गठन गर्नु पर्ने अवस्था आउने विश्लेषण प्रधानमन्त्री देउवाको रहेको छ । यो विश्लेषण अनुसार आगामी असार १५ मा माओवादी केन्द्रले केन्द्रिय कार्य समितिलाई पूर्णता दिएपछि मात्र र अब हुने आम निर्वाचनको मिति टुंगो लागेपछि मात्र मन्त्रिपरिषद पुनर्गठन हुने अवस्था देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अब हुने मन्त्रिपरिषदको पुनर्गठनमा कांग्रेसको तर्फबाट समेत मन्त्री परिवर्तन गर्ने मनस्थितिमा रहेको बताइन्छ । आम निर्वाचनलाई केन्द्रमा राखेर अब बन्ने सरकारले नै आम निर्वाचन गर्ने भएपछि पार्टी भित्रको संस्थापना इतर पक्षलाई पनि सहमतिमा लिएर अगाडि जान आवश्यक हुने भएको कारण प्रधानमन्त्री देउवा संस्थापना इतर पक्षका केही नेतालाई समेत सरकारमा सामेल गर्ने पक्षमा छन् । उता नेकपा एमालेले भने सरकार र सत्तारुढ गठबन्धन आम निर्वाचनको तयारीमा लागि रहँदा यो गठबन्धन भत्काउने कसरतमा लागि परी राखेको छ । नेकपा एमालेलाई आगामी आम निर्वाचन वर्तमान सरकारको मातहतमा नहोस् भन्ने प्रमुख चिन्ता र चासो रहेको छ । तर अहिलेसम्म वर्तमान सरकारको गठबन्धन भत्किने संकेत देखिएको छैन । सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले खेलेको भूमिका प्रति एकीकृत समाजवादी र जनता समाजवादीले असन्तोष व्यक्त गरेका भएपनि गठबन्धन नै भत्काएर यी दुई दल सत्ता बाहिर जाने स्थिति देखिँदैन । त्यस कारण सम्पन्न स्थानीय निर्वाचनमा नराम्रो पराजय भोगेकोे नेकपा एमालेले सत्तारुढ गठबन्धनलाई भत्काउनेतिर लाग्नु भन्दा आफ्नो तर्फबाट आगामी आम निर्वाचनको तयारी र गृहकार्य गर्नु उचित हुने टिप्पणी राजनीतिक क्षेत्रबाट आएको छ । र, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव हुँदा पनि गठबन्धनबाट बाहिर ननिस्किने संकेत गरेपछि यो गठबन्धन भत्काएर अर्को कम्युनिष्ट गठबन्धन बनाउनेतिर लाग्नुलाई मूर्खता मान्न थालिएको छ । तर अस्ति सोमबार एकीकृत समाजवादीका मन्त्रीको सपथ खान नपाएर आक्रोशित बन्न पुगेका एकीकृत समाजवादीका सांसद मेटमणि चोैधरीले व्यक्त गरेको आक्रोशले तत्काल मन्त्रिपरिषद पुनर्गठन भएर सरकारमा सामेल हुने अवसर नआए एकीकृत समाजवादीले सरकार र गठबन्धन छाड्न सक्ने संकेत सहितको चेतावनी दिएर प्रधानमन्त्री देउवा र यो गठबन्धनका शीर्ष नेतालाई खतराको संकेत भने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *