ढुवानी भाडा कार्यान्वयन गर्न माग

अर्थ/वाणिज्य समाचार

काठमाडौं । बाँकेका ट्रक व्यवसायीहरुले आफ्नो व्यवसाय धराशयी भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरकारकै कारण आफूहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको आरोप लगाउँदै सरकारले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् ।

नेपालगञ्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नाले र बनाएका नीति पनि कार्यान्वयन नभएकाले ट्रक व्यवासायीहरु पलायन हुने अवस्था रहेको बताउनुभयो।

सरकारका करण व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याउनुपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु न ओकल्नु जस्तै भएको छ भन्नुभयो । राज्यको कर प्रणाली चुस्तदुरस्त नहुनु, इन्धन र गाडीको अस्वाभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अरबौँ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेको उहाँले जाकारी दिनुभयो ।

कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञबहादुर ओलीले इन्धन र गाडीका पाटपुर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको गुनासो गर्नुभयो । उहाँले ढुवानी भाडा नबढाए पनि सरकारले तोकेको ढुवानी भाडासमेत आफूहरुले पाउन नसकेको उल्लेख गर्नुभयो ।

पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर रु ७ रुपैया ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । सो भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन नसकेको बताइएको छ ।

सिद्ध कैलाश ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले नियमनकारी निकाय मौन भएर बसेका कारण व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी ठगिनुपर्ने अवस्था आएको बताउनुभयो । ट्रक व्यवसायीहरुले चुङ्गी कर, सडक कर र गद्दी खर्च लगायतका करले व्यवसायी पीडित हुनु परेको गुनासो गरेका छन् । उनीहरुले आयकर र अग्रिम करलाई व्यावहारिक बनाउनसमेत माग गरेका छन् ।

भेरी ट्रान्सपोर्ट एसोसिएशन, भेरी अञ्चल ट्रक समिति, नेपालगञ्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्ध कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर यही असार २ गतेदेखि ट्रक सञ्चालन नगर्ने चेतावनी दिएका छन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *