आठ महिनाअघि प्रेम विवाह गरेकी राधिकालाई तिनै श्रीमानले करेन्ट लगाए

समाचार

काठमाडौं । सिन्धुली गोलञ्जर गाउँपालिका–२, कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्कीले आठ महिनाअघि मात्रै प्रेम विवाह गरेकी थिइन् । अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालको शैयामा छट्पटाइरहेकी छन् ।

अस्पतालको शैयामा छटपटाउँदै आएकी राधिकालाई न त उनका परिवारले साथ दिएका छन्, न त अन्य आफन्तले । प्रेम विवाह गरेर सुन्दर भविष्यको देखेकी उनलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शैयासम्म पुर्‍याएको हो।

राधिकाले जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुण शाहसँग करिब एक वर्षको चिनजानमा आठ महिनाअघि प्रेम विवाह गरेकी थिइन् । पति धनुषाको सखुवा महेन्द्रनगर घर भएकी उनी अहिले उनी पतिको चरम शारीरिक यातनाको शिकार बनेकी छन् ।

उनीहरू विवाहपछि जनकपुरको थापाचोकमा डेरामा बस्दै आएका थिए । उनले विवाह गरेको करिब आठ महिनासम्म कोठा लिएर बस्दै आएको र श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएका छन् । शारीरिक र मानसिक यातनाले दुःखमा परेका बेला उनको साथमा कोही छैनन् ।

‘समान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्‍यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् ।

गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते भइन् । प्रहरीले उनलाई उद्दार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत छिन् ।

विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले उनलाई राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताएकी उनले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताइन् ।

‘महिनाको १० हजार जति मैले पनि कमाउँथे । घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएकी थिएँ । बढिजसो मैसँग बस्थ्यो तर, पछि दुई, तीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो,’ राधिकाले भनिन्, ‘त्यसपछि आफूले सोधखोज गर्दा यातना दिने गरेको र त्यो दिनसमेत विवाद भएको र घरमा आफूलाई लैजान भनेपछि विवाद भयो । विवादपछि उनले कुटपिट गर्दै करेन्ट लगाएका दिए । करेन्ट लगाएपछि बेहोस भएछु, कसले अस्पताल लग्यो, त्यो पनि थाहा पाइनँ ।’

उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा करेन्ट लागेको गहिरो खत छ भने शरीरका अन्य भाग पनि जलेका छन् ।

उनक हातखुुट्टाका औँला र शरीरको भागहरू समेत जलेको छ । घटना भएदेखि नै अरुण फरार छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उनलाई उद्दार गरेर अस्पताल लगेको बताए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *