नेपाल निर्माण व्यवसायी महासंघद्वारा व्यवसायी नै बन्द गर्ने चेतावनी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको बताएको छ। इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ।

महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति निकालेर सरकारले निर्माण व्यवसायीलाई राहत दिनुपर्ने माग गरेका छन्।‘निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेकोबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ,’ महासचिव दाहालले भने।

साथै उनले बिमा निर्देशिका २०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप लगाएका छन्। निर्माण व्यवसायीलाई राहत दिने गरी सरकारले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने माग पनि उनीहरूको छ।

‘मुलुकभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरूसमेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक साताभित्रै थप कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *