राष्ट्रको सुरक्षामा खेलाँची

समाचार

यसो त नेपालमा खेलाँची नभएको कुनै क्षेत्र नै छैन । तर अहिले जसरी एमसीसी र एसपीपीको कारणबाट नेपालको राष्ट्रिय सुरक्षामा खेलाँची भयो त्यो हदैसम्मको संवेदनशील बिषय बनेको छ । फेरि यो बिषयमा नेपालको राजनीतिक दलहरु मात्र होइन नेपालको सुरक्षा गर्ने जिम्मा लिएको सरकारी निकाय नेपाली सेना आफै संलग्न भएको छ । अमेरिकन परियोजना एमसीसीलाई सत्ताको साझेदार दलहरुले बढोमुस्किलको साथ संसदबाट अनुमोदन गराएको केही महिना नबित्दै अमेरिकाले आफ्नो कूटनीतिक दबाब नेपाल माथि बढाएको छ ।
छोटो समयको अन्तरालमा नै अमेरिकी मंत्री देखि लिएर अमेरिकी सेनाको प्याशिफिक कमाण्डको नेतृत्व गर्ने जर्नेलले समेत नेपाल भ्रमण गरी सकेका छन् । यहि अवधीमा ललितपुर एकान्तकुनामा रहेको तिव्वती सरणार्थी सिबिरमा अमेरिकी मंत्रीले गरेकी अनाधिकृत भ्रमणलाई पनि कूटनीतिक मर्यादा बिपरित भएको मानी नेपाली कूनीतिका विज्ञहरुले तिब्र आलोचना गरेका छन्् । यसको लगत्तै पछाडि भएको अमेरिकी जर्नेलको भ्रमणमा एसपीपीको कुरा उठ्यो । नेपाली जनतालाई यो बिषयमा कुनै पूर्व जानकारी थिएन त्यसैले सबै चकित भएका छन् । अमेरिकी एसपीपीको लाभार्थीमा नेपाली सेना नै भएको देखियो भने त्यसको श्रेयार्थीमा एमालेले नेतृत्व गरेको दलको सरकार नै भएको भेटियो ।
तर दलहरु आफ्नो गल्ती स्वीकार गर्न कोही पनि तयार देखिएन । बरु एक दलले अर्को दललाई त्यसको द्वोष लगाएर बदनाम तुल्याउने घटिय राजनीतिक खेल खेल्नमा केन्द्रित भएका छन् । तर सत्य तथ्य भनेको नलुकाएर लुक्छ न छिपाएर छिप्छ सबै एक पछि अर्को गर्दै सार्वजनिक हुँदै जान्छन्् । अहिले पुरै नेपाल यो बिषयको पक्ष र विपक्षमा बिभाजित भएका छन् । यो भन्दा पहिले भड्केको एमसीसीको मुद्दामा पनि नेपाल पुरै यसरी नै बिभाजन भएको थियो । नेपाल राष्ट्रलाई दलहरुको राजनीतिक नेतृत्वले यतिबेला यस्तै नचाहिने कुरामा अल्झाएर राखेको छ ।
नेपाल राष्ट्रको उन्नति र विकासका कुराहरु यतिबेला गतिहिन भएर बसेका छन् । दलहरुले राजतन्त्रलाई हटाएर नेपालको सत्ता चलाउन थाले देखि नै नेपालको राजनीति र बिकासमा विदेशीले आफ्नो सक्रिय हस्तक्षेप बढाएको बढाएकै छन् । विदेशीले नेपाल माथिको यस्तो हस्तक्षेप विदेशी बैंकहरु, विदेशी गैरसरकारी संस्थाहरु र कूटनीतिक नियोगहरु मार्फत सञ्चालन गर्ने गरेका छन्् । खुला राजनीतिमा लागेका दलहरु भित्र पनि विदेशी दलालहरुले घुसपैठ गरी यो भन्दा पहिले राजतन्त्रले बसाएको योजनाबद्ध बिकासको जग देखि लिएर असंलग्न परराष्ट्र नीतिको निव समेत भत्काउने र तोड्ने कामहरु भएका छन् । त्यसैले आज नेपाल राष्ट्रमा कुनै उद्योगहरु खुलेको छैन भने पहिले खुलेका सबै उद्योगहरुलाई पनि जिर्न पारी बन्द गराएर राखेका छन्् ।
विदेशीले देखाएको विकासको बाटोमा लागेका दलहरुले नेपाल राष्ट्रलाई यतिबेला नघर नघाटको तुल्याएका छन् । नेपाल राष्ट्रको बिकास गर्छौ भनी हौसिएर दलहरुले लिएका विदेशीका ऋणहरु अहिले नेपाल राष्ट्रको गलपासो बन्दै गएका छन् । विदेशी सित कुनै योजना बिना लिएका ऋणहरु हचुवाको परियोजनाहरुमा दलहरुले लगानी गरेकाले सबै डुव्ने अवस्थामा पुगेका छन् । दलहरुले राष्ट्रको नाममा ऋण काढीकाढी घीउ खाने काम मात्रै गर्दा उक्त ऋण लगानीबाट फुटेको कौडी पनि उत्पादन हुन सक्ने देखिन्न । नेपालको सस्तो जनशक्तिलाई सस्तैमा विदेशीले आफ्नो मुलुकको बिकासको लागि उपयोग गरेका छन् भने नेपाललाई विदेशी उत्पादनहरुलाई बेच्ने बजार बनाएका छन् । नेपाल राजतन्त्र कालमा आत्मनिर्भर मुलुक थियो भने हाल दलहरुले नेपाललाई परनिर्भर मुलुकमा ठुलो सफलताको साथ रुपान्तरण गरीसकेका छन् । नेपाललाई कहिले सिंहापुर र कहिले स्वीटजरलैंड बनाउँछौ भन्ने प्रतिबद्धता जनाएका दलहरुले नेपालको इतिहासिक धरोहरहरु र सम्पदाहरुलाई समेत मेटाएर नेपालको पहिचान नै मटाउने जमर्को गरेकाछन् ।
नेपाललाई दलहरुले यतिबेला बिकासमा गतिहिन तुल्याउँदै आर्थिक संकटको संघारमा पुर्याएका छन् । कुनै पनि बेला नेपालले श्रीलंकाली जनताले भोगेको जस्तो आर्थिक संकट भोग्नु पर्ने दिन आउनै लागेको छ भनी विज्ञहरुले सावधान गराउँदै छन् । यस्तो आर्थिक दुर्गतीमा नेपाल त्यसै एकासी पुगेको होइन । दलहरुले बिगत देखि नेपाल राष्ट्रका लागि लिएका गलत आर्थिक नीतिहरु कै यो परिणाम हो । नदीमा डुब्न आँटेकालाई तिल्काको सहारा भने जस्तो दलका नेताहरुले अब अमेरिकाबाट ठुलो आर्थिक सहयोग पाउने वा आउने आशमा नेपालको असंलग्न परराष्ट्र नीतिलाई बदल्ने प्रयास गरेका छन् । त्यसो गर्दा दलका नेताहरुको आफ्नै धोती खुस्कीसकेको कुराको उहाँहरुले पत्तो सम्म पनि पाउन सकेको छैन । नेपालको संवेदनशील भूगोल र बिश्वराजनीतिक परिस्थिति माथि दलका नेताहरुको ध्यान नपुग्दा नेपालको झनै दुर्गती हुने संभावना बढेको छ ।
संसारै बहुधुर्बिय राजनीति तिर लागेको बेलामा नेपाल भने अमेरिकाको पछि लाग्दै एकधुर्बीय राजनीतिमा किन केन्द्रित हुन पुगेको हो कसैलाई थाहा छैन । यस्तो बेलामा झन असंलग्न आन्दोलले बढवा पाउनु पर्नेमा नेपाल भने उल्टै बाटोमा लागेको देख्दा कूटनीतिका ज्ञानीहरु सबै चकित परेका छन् । दलहरुले अहिले नेपाललाई जसरी अगाडि बढाउने प्रयास गरेकाछन् त्यो परिणाममूखि हुनै सक्दैन । निश्चयपनि त्यो संकटमूखि हुँदै जानेछ र कालन्तरमा नेपाल राष्ट्रलाई नघर नघाटको तुल्याएर नै छाड्ने छ । नेपालको राजनीतिक दलहरुको देखाउने र चपाउने दाँत बेग्लाबेग्लै देखिएका छन् । पहिले त्यस्तो लाग्दैन थियो तर हालै प्रकाशमा आएको अमेरिकी एसपीपी काण्ड पछाडि त्यो ऐना जस्तै छर्लङ्ग बनेको छ । राष्ट्रवादको डिंगो हाँकेर कहिले नथाक्ने एमाले दलका नेताहरुले नै अमेरिकी एसपीपी परियोजनालाई अगाडि बढाएको प्रमाणित भईसकेको छ । दलका नेताहरु पहिले देखि नै दुईजुब्रे त थिए नै तर एसपीपी काण्ड पछाडि उहाँहरुको देखाउने र चपाउने दाँत पनि बेग्लै भएको प्रमाणित भएका छन् । नेपालका राजनीतिक दलहरु यसरी भरपर्न लायक छैनन् । खासगरी बिदेश नीतिको मामलामा त दलहरु एकदमै कच्चा खेलाडी ठहरिएका छन् । त्यसैले दलहरुको भरमा नेपालको सुरक्षा र नेपाली जनताले चाहेको शान्ति कायम हुन सक्दैन ।
नेपालका राजनीतिक दलहरु भित्र बढेको विदेशीका दलालहरुको घुषपैठ नै यसका लागि जिम्मेवार छ । अहिले नेपालको संसारलाई हेर्ने नीतिमा जुन परिवर्तन आएको छ वा आउँदै छ त्यो पनि विदेशीका दलालहरुकै प्रयास र प्रभावको परिणाम हो भनी ठोकुवाको साथ भन्न सकिन्छ । नेपाल कुनै पनि हालतमा अमेरिकाको चीनलाई घेर्ने नीति अनुसार बन्ने वा बनाएको सैनिक प्याक्टमा सामेल हुन सक्दैन । त्यसकारण अमेरिकाले आईपीएस मातहत अगाडि बढाएको एसपीपीमा नेपाल कुनै पनि हालतमा सामेल हुन सक्दैन । यस्तो थाहा पाउँदा पाउँदै पनि राजनीतिक दलहरुले किन एसपीपीलाई अगाडि बढाए र त्यसमा नेपाली सेनालाई सामेल गरेका हुन त्यसको जबाफ नेपाली जनतालाई उहाँहरुले नै दिनुपर्छ । कुनै पनि मुलुकको सत्तामा भएको दलहरु अनुसार फरक फरक बिदेश नीति हुँदैन । नेपालको संबन्धामा पनि त्यहि नै कुरा लागु हुन्छ ।
राजतन्त्र काल देखि नै स्थापित बिदेश नीति नै नेपालको बिदेश नीति हो । तत्कालिन व्यवहारिक अवस्था अनुसार राष्ट्रको बिदेश नीतिहरु बनेका हुन्छन्् । स्वार्गिय राजा महेन्द्रले प्रतिपादन गरेको नेपालको बिदेश नीतिहरु अहिलेको नेपालको प्रसंग र अवस्थामा पनि खरा उतरिएका छन् । नेपाललाई संसार भर चिनाएर राष्ट्रको रुपमा स्थापित गर्ने शासक स्वर्गिय राजा महेन्द्र नै थिए । उहाँकै पूर्खा स्वर्गिय बडामहाराज पृथ्बी नरायण शाहाको दिव्यउपदेशले पनि नेपालको बिदेश नीतिको मार्गलाई दिग्दर्शन गरेको छ । अहिले दलहरुको शासन सत्ता चलेको हुँदा नेपाल कै राजा महाराजाको उपदेशलाई त्यति महत्व दिएको छैन तर पनि नेपालको सन्दर्भमा अझ पनि तिनै दिव्यउपदेशहरु जनमानसमा ताजाका ताजै छन् । भर्खरै आएको समचार अनुसार हिजो बसेको देउवा सरकारको क्यबिनेट बैठकले अमेरिकी एसपीपी सहयोग परियोजना अस्वीकार गर्ने निर्णय गरेको र सोही अनुसार अमेरिकालाई पत्राचार गर्ने जानकारी आएको छ ।
यो राम्रो निर्णय आएको भएता पनि दलहरुको कमी र कमजोरीलाई उजागार पनि गरेको छ । यसले नेपालको कूटनीतिलाई धेरै नोक्सान गरीसकेको छ भने संलग्न दलहरु र तिनका नेताहरुलाई बदनाम तुल्याएको छ । त्यसैले दलहरुले सर्बदलिय बैठक गरी नेपालको बिदेश नीतिको मामलामा साझा धारणा बनाएर सोही अनुसार बिदेश नीतिहरु र नियमहरु बनाएर अगाडि बढ्नु पर्ने जनधारणा आएको छ । अब उप्रान्त राष्ट्रको सुरक्षाको मामलामा कुनै खिलाँची नहोस भन्ने पनि नेपाली जनताले चाहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *