मनसुनजन्य विपद्ले ठूलो क्षति पु-याउँदै आएको छ

अन्तरवार्ता

प्रदीप कुमार कोइराला
विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा तथा सहसचिव, गृह मन्त्रालय 

निरन्तर दोहोरिने बहुप्रकोपको घटनाहरुबाट उत्पन्न विपद्को अत्याधिक जोखिममा रहेका मुलुकहरुमध्ये नेपाल पनि एक हो। मुलुक विषम् भू–बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु परिवर्तनका कारण भूकम्प, बाढी, पहिरो तथा भू–स्खलन, डुवान, चट्याङ्ग, खडेरी, हिमपात, असिना, हुरी बतास, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, शीतलहर, डढेलोलगायतका प्राकृतिक प्रकोपहरुबाट प्रभावित छ। भूकम्पीय जोखिमको हिसाबले नेपाल ११औं स्थानमा, बाढी पहिरोको जोखिमका हिसावले ३० औं स्थानमा पर्छ ।

मनसुनजन्य तथा अन्य विपदका घटनाबाट नेपालमा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । नेपालको वर्तमान संविधानले विपद व्यवस्थापनलाई संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीमा समावेश गरेको छ। सोहीबमोजिम संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ।

विपद् व्यवस्थापनका सम्बन्धमा नेतृत्वदायी भूमिका गृह मन्त्रालयले निभाउँदै आएको छ । जसको नेतृत्व सम्हालेको छन् प्रदीप कुमार कोइरालाले उनैसँग विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले के कस्ता कार्याहरु गर्दै अइरहेको छ, बाढी पहिरोको कारण के कती क्षति भए र राहत वितरणको कती गरियो, यो वर्ष मनसुनको अवस्था कस्तो छ, मनसुन अबधिमा के कतीले ज्यान गुमाएका छन् र आगामी दिनमा भैपरी आउने जोखिम व्यवस्थापन कसरी गरिँदैछ भन्नजस्ता विषयमा तामाकोशी सन्देशले गरेको कुराकानीको अंशः

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले के कस्ता कार्याहरु गर्दै अइरहेको छ ?
हामीले पछिल्लो समय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन सम्बन्धी नीति, कानून र योजना तर्जुमा कार्यान्वयन सम्बन्धी कामहरु, विपद जोखिम क्षेत्र नक्साङकन र बस्ती स्थानान्तरण सम्बन्धी, विपद तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान सम्बन्धी, प्रदेशिक विपद कोष स्थापना , संचालन र ब्यवस्थापन सम्बन्धी, विपद प्रभावितहरुलाई राहत प्रदान गर्ने सम्बन्धी, कार्यकारी समितिको बैठक ब्यवस्थापन, निर्णय कार्यान्वयन र अभिलेख ब्यवस्थापन सम्बन्ध, प्रदेशिक आपतकालीन गोदाम घरको ब्यवस्थापन सम्बन्धी, प्रदेशिक आपतकालीन कार्यसंचालन केन्द्र सम्बन्धी, विपद रोकथाम, पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभका लागि संघ, प्रदेश र स्थानीय तहका निकायहरु वीच समन्वय र सहकार्य सम्बन्धी, बस्ती स्थानान्तरण सम्बन्धी नीति, कानून, तर्जुमा सम्बन्धी, विपद् व्यवस्थापन सम्बन्धी विविध कार्यहरु गरिरहेका छौं ।

बाढी पहिरोको कारण के कती क्षति भए र राहत वितरण कति गरियो ?
अघिल्लो बर्ष करिब १ अर्ब ५५ करोड बराबरको क्षति भएको छ। मनसुन अवधि र मनसुन पश्चातको समयमा भएको बेमौसमी वर्षाका कारण भएको क्षति तथा विपद्जन्य अन्य घटनाबाट भएको क्षतिलाई क्षेत्रगत रुपमा तपसिलबमोजिम उल्लेख गरिएको छ । मनसुन अवधिमा भएको क्षतिको विवरणः सधैका वर्षझैँ मनसुनका कारण गएको बाढी पहिरो, डुबानबाट नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुप¥यो । पहिरोको कारण २३४ घटना घटेको छ भने ७९ जनाको मृत्यु भएको छ, ६ जना बेपत्ता भएका छन् भने ८९ जना घाइते भएका छन् । बाढीको कारण ११२ घटना घटेको छ भने ४३ जनाको मृत्यु भएको छ, ३० जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । भारी बर्षाको कारण ३१० घटना घटेको छ भने १६ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् भने ४६ जना घाइते भएका छन् ।

 यो वर्ष मनसुनको अवस्था कस्तो छ ?
यस वर्ष पहिलाको भन्दा झन्डै एक साताअघि नै नेपालमा मनसुन प्रवेश गरेको छ । प्राय जुन महिनाको दोस्रो सातामा नेपालमा मनसुन भित्रिने गरेको थियो । तर यसपालि भने जुन ५ मा नै नेपालमा मनसुन भित्रिएको र यो पूर्वबाट पश्चिमतर्फ सर्दै गएको छ । हाल प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशसम्ममा मनसुनी गतिविधि देखिएको छ ।

त्यसो भए के औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान हो ?
देशका कतिपय भागमा सरदरभन्दा बढी वर्षा हुने देखिएको छ। प्रदेश नम्बर १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरूमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। चार महिनाको मनसुन याममा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। सरकारी अधकारीहरूका अनुसार औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेका क्षेत्रहरूमा विपद्को जोखिम पनि बढ्ने अनुमान गरिएको छ ।

मनसुन अबधिमा के कतीले ज्यान गुमाएका छन् ?
मनसुन अबधिमा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे भने १४२ जनाले ज्यान गुमाए । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बासिन्दाले सबैभन्दा धेरै क्षति व्यहोर्नुपर्यो । मनसुनपश्चात आएको बेमौसमी वर्षाका कारण ४०४ घरपरिवार प्रभावित भई ठूलोमात्रामा धनजनको क्षति भयो, १२० जनाको मृत्यु भयो, सबैभन्दा धेरै घटना पहिरोबाट भए । यसैगरी मनसुन अबधिमा मनसुनजन्य घटनाबाहेक अन्य विपद्का ५७७ बटा घटनाबाट १४७१ घरपरिवार प्रभावित भए भने ४० करोडभन्दा बढीको क्षति हुन पुग्यो ।

विपद्ले के कति मानिसलाई प्रभावित पार्ने अनुमान गर्नु भएको छ ?
यस वर्षको मनसुनका बेला आउन सक्ने बाढीपहिरो र विभिन्न खाले विपद्ले ठूलो जनसंख्यालाई प्रभावित पार्न सक्ने आंकलन गरिएको छ । पहिले १७ लाख जनसङ्ख्यालाई मनसुनी विपद्ले प्रभाव पार्ने आकलन गरेकोमा थप अध्ययन र छलफलपछि त्यो संख्या करिब २० लाख हुने देखिएको छ । चार लाखभन्दा बढी घरपरिवारका २० लाखजति मानिसे प्रभावित हुने देखिएको छ ।

मनसुनबाट हुनसक्ने सम्भावित जोखिम तथा क्षति न्यूनीकरणको लागि के कस्तो पूर्वतयारीमा हुनुहुन्छ ?
नेपाल भौगोलिक विविधतायुक्त मुलुक भएको र विकासको गतिविधि एवम् भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा वैज्ञानिक भूउपयोग नीतिको पूर्ण परिपालना हुन नसक्दा वर्षेनी बाढी पहिरोका कारण ठूलो धनजनको क्षति व्यहोर्नु परेको छ। मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम तथा क्षति न्यूनीकरण तथा रोकथामका लागि केन्द्रमा गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी जिल्लालाई आवश्यक निर्देशन दिने गरेको र जिल्लाहरुले पनि उल्लिखित कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने गरेका छन् । स्थानीय तहले समेत मनसुन जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएका छन् । यद्यपि मनसुनबाट हुनसक्ने क्षतिलाई अपेक्षाकृतरुपमा कम गर्न भने सकिएको छैन ।

विपद् व्यवस्थापन कोषमा के कति रकम निकासा भएको छ ?
जिल्लामा घटेका विपद्जन्य घटनाबाट प्रभावितलाई तोकिएको मापदण्डबमोजिम तत्काल राहत उपलब्ध गराउने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन कोषमा जिल्लाले माग गरेबमोजिम आवश्यकता र औचित्यताका आधारमा केन्द्रीय विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने गरिएको छ। २०७८ साल जेठ १ गते देखि मंसिर २९ गते सम्म केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा ८,६६,५०,००० रकम निकासा गरिएको छ।

काम गर्ने क्रममा के कस्ता समस्या र चुनौतीहरु देख्नु वा भोग्नु भयो ?
विपद्बाट सबैभन्दा जानकार पक्ष स्थानीयबाट हुने र सूचनादाता पनि उनीहरु नै हुने हुँदा विपद् के हो र यसको जोखिम न्यूनीकरणका लागि के गर्ने लगायतका विपद्सम्बन्धी बुझाईमा स्पष्टता हुन आवश्यक हुन्छ । सोका लागि विपद जोखिम संभावित क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरी विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी गराउने, विपद् सम्बन्धी बुझाईमा एकरुपता कायम गर्ने र विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि दक्ष जनशक्ति तयारी अवस्थामा राखे, सोका लागि विपद्का समयमा आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्ती गर्नेलगायतका काम गर्नुपर्ने हुन्छ ।

नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नीतिगत, कानूनी, संरचनागत एवम् संस्थागत व्यवस्था हुँदाहुदै पनि अपेक्षाकृत उपलब्धी हासिल गर्न भने सकिएको छैन । विपद् जोखिम संवेदनशील भौगोलिक अवस्था हुनु, विपद्सम्बन्धी बुझाईमा एकरुपता नहुनु, विपद् पूर्वसूचना प्रणाली व्यवस्थित नहुनु र सूचनाको पहुँच कम हुनु, वैज्ञानिक भूउपयोग नीतिलाई अक्षरसः पालना गर्न नसकिनु, प्राकृतिक एवम् गैरप्राकृतिक विपद् जोखिमसम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न नसक्नु आदि हुन् ।

अबको कार्यदिशा कस्तो रहने छ, यसले के गर्दैछ ?
मनसुनजन्य विपद् तथा अन्य विपद्का कारण वर्षेनी नेपालले ठूलो मात्रामा धनजनको क्षति व्यहोर्दै आएको छ । राष्ट्रिय भू उपयोग नीति अनुरुप स्थानीय तहमा बहुप्रकोपीय जोखिम लेखाजोखाको आधारमा जोखिम संवेदनशील भूउपयोग योजना तर्जुमा गरी व्यवस्थित बस्ती विकास गर्ने, असुरक्षित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, विपद्को साझा बुझाई निर्माण गर्दै विपद्जन्य घटनालाई न्यूनीकरण गर्ने र विपद् उत्थानशील समाजको निर्माण गर्नु अबको प्रार्थमिकताको क्षेत्र रहनुपर्छ ।

विपद् जोखिम न्यूनीकरणराष्ट्रिय नीति, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, नियमावली, राष्ट्रिय विपद् प्रतिकार्यढाँचा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिक कार्ययोजनालगायत विपद् व्यवस्थापनसँग सम्बन्धित ऐन, नियममा उल्लिखित व्यवस्थाबमोजिम विषयगत मन्त्रालय, विभाग, निकायहरुले आआफ्नो जिम्मेवारी गहनतापूर्वक निर्वाह गर्ने साथै तीनै तहका सरकारले विपद् (मनसुनजन्यसमेत) जोखिम न्यूनीकरणलाई प्रार्थमिकतामा राखे, छुट्टै बजेटको व्यवस्था गरी आपतकालीन कार्यसंचालन केन्द्रहरुको सबलीकरण गर्नु आवश्यक छ । यसमा स्थानीय तहलाई थप जिम्मेवार बनाउन सकेमा काममा दोहोरोपना नहुने, कामप्रति स्थानीयको अपनत्वबोध हुन गई प्रभावकारिता बढ्न जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *