घण्टी नपाएपछि रवि रन्थनिए

राजनीति समाचार

काठमाडौं । अत्यन्तै महत्वकांक्षाका साथ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका पूर्व टेलिभिजनकमी रवि लामिछानेलाई एकपछि अर्को अवरोध आइ रहेको छ । उनी नेतृत्वको दलले दाबी गरेको घण्टी चुनाव चिन्ह नपाउने भएपछि अर्को अवरोध आएको हो ।

उनले आफ्नो नेतृत्वमा असार ७ गते दल घोषणा गरेर निर्वाचन आयोगमा दर्ता गर्न गएपछि ८ गते नै उनले स्वतन्त्र शब्दको दुरुपयोग गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा अभियानका संयोजक शंकर शाहुले र काभ्रेमा गोकुल बाँसकोटालाई हराउने घोषणा गरेका चलचित्रकर्मी मनोज पण्डितले आयोगमा उजुरी दिएका थिए ।

रविले पार्टीको घोषणा गरेर केटाकेटी काम गरेको भन्दै उनका सहोदर दाइ हरिशरण लामिछानेले असन्तुष्टि पोखेका छन् । रविलाई सञ्चार क्षेत्रमा ल्याउन ठूलो भूमिका निभाएको दाबी गर्ने हरिशरणले सार्वजनिक रुपमै रविले केटाकेटी पारामा दलको घोषणा गरेको भन्दै आलोचना गरेका छन् ।

यसैबीचमा उनले दाबी गरेको चुनाव चिन्ह घण्टी प्रयोग गर्न नपाउने भएपछि अर्को तनाब थपिएको छ । उक्त चुनाव चिन्ह यसअघि नै राष्ट्रवादी पार्टीका नाममा प्रयोग भइसकेको पाइएको हो ।

यद्यपी उक्त पार्टी अर्कै पार्टीमा गाभिइसकेकोले रविले मंसिरसम्म पर्खिए भने चाहीं उक्त चुनाव चिन्ह पाउन सक्ने सम्भावना समेत देखिएको छ । राष्ट्रवादी पाटी २०७८ मंसिर ३० गतेका दिन नेपाल सदभावना पार्टीमा गाभिएकोले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्थालाई आधार मानेर रविले मंसीर अन्तिमसम्म पर्खिए भने चाहीं उनले घण्टी चुनाव चिन्ह पाउन सक्ने सम्भावना देखिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ को प्रावधानअनुसार ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन’ भन्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *