नेपाल प्रेस युनियनमा उम्मेदवारी दिनेको थेगिनसक्नुको लर्को

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनको सरगर्मी बढेको छ । आठ वर्षपछि हुन लागेको महाधिवेशनमा उम्मेदवारको थेगिनसक्नुको लर्को लागेको छ ।

८ औं महाधिवेशन ०७१ भदौमा पोखरामा सम्पन्न भएको थियो । त्यसपछि विभिन्न कारणले आठ वर्षसम्म हुनसकेको महाधिवेशन यसपटक साउनको ६ र ७ गते वागमती प्रदेशको हेटौंडामा हुँदैछ ।

लामो समयसम्म हुन नसकेको महाधिवेशन यसपटक हुनेभएपछि सबैजसो पदमा आकांक्षीहरूको भीड स्वाभाविक रूपमा बाक्लो देखिएको छ । नेतृत्व जामका कारण यसपटक उम्मेदवारको संख्या अत्यधिक देखिएको नेताहरुले बताएका छन्।

यसपटक अध्यक्ष पदमामात्रै ११ जना आकांक्षी देखिएका छन् । जसमध्ये ५ जना उम्मेदवारी सार्वजनिक गरेरै प्रचार(प्रसारमा लागेका छन्, भने बाँकी आकांक्षा प्रकट गरेर लविङमा जुटेका छन् ।

अहिलेसम्म उम्मेदवारी घोषणा गरेकाहरूमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्वमहासचिव एवं सल्लाहकार शिव लम्साल संस्थापनइतर समूहबाट छन्, भने संस्थापन समूहबाट पूर्व उपाध्यक्ष अनिता विन्दु र कोषाध्यक्ष सरोज अधिकारी छन् । यस्तै उपाध्यक्ष इश्वरी ओझाले पनि उम्मेदवारी घोषणा गरेका छन् । तर, उनको पक्षधरता खुलाइएको छैन ।

बिहीबार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अध्यक्षका आकांक्षीहरूसँग बैठक गरेका थिए । त्यहाँ उम्मेदवारी सार्वजनिक गरेका पाँचजना बाहेक प्रेस युनियनका पुराना नेता एवं नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष उमीद वागचन, दामोदर दवाडी, नेपाल पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका पूर्वसचिव सन्तोष न्यौपाने र भुवन भट्टले पनि आकांक्षा प्रस्तुत गरेका थिए ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष डीआर पन्तले पनि अध्यक्षमा आकांक्षा देखाइरहेका छन् । उनले युनियनका विभिन्न नेताहरूसँग भेटघाट गरेर आफूले युनियनको नेतृत्व लिन चाहेको कुरा व्यक्त गरिरहेको स्रोत बताउँछ ।

उम्मेदवारी घोषणा गरेकाहरू आफूहरू कुनैपनि अवस्थामा पछि नहट्ने अडानमा छन् । बाँकी आकांक्षीहरूमध्ये केहीले आवश्यक तयारी गरेर केहीदिनभित्रै उम्मेदवारी सार्वजनिक गर्ने जनाएका छन् ।

यद्यपि बिहीबार कांग्रेस प्रवक्ता महतसँगको छलफलका क्रममा भने सहभागी सबैजसोले सहमतीका लागि आउने प्रस्तावमा आफू बाधक नबन्ने बचन दिएको स्रोत बताउँछ ।

युनियनमा पदाधिकारी कति रहने, कति सदस्यीय कार्यसमिति हुने भन्ने अझै टुंगो लागिसकेको छैन । सम्भवतः आज साँझसम्ममा यसको टुंगो लाग्ने जनाइएको छ । यसको जिम्मा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य नेतृत्वको समितिलाई दिइएको छ ।

स्रोतका अनुसार अहिले उपाध्यक्षको संख्या बढी रहनेछ । जसमा एक वरिष्ठ उपाध्यक्ष, २ खुल्ला उपाध्यक्ष, एक महिला उपाध्यक्ष ७ भूगोलतर्फबाट उपाध्यक्ष र एशोसियट तथा प्रतिष्ठानबाट थप २ गरी १३ जना उपाध्यक्ष हुनेछन् ।

उपाध्यक्ष पद ठूलै संख्यामा भएपनि आकांक्षीहरूको भीड भने कम देखिएको छ । कार्यकारी पद नहुने भएकाले यसमा चासो कम देखिएको हो । यद्यपी महिला उपाध्यक्षमा भने संख्या बढी नै देखिन्छ ।

वरिष्ठ उपाध्यक्षमा हालसम्म लीला खनाल, नीरज खतिवडा, जगत साउँदले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै खुला उपाध्यक्षमा जनार्दन घिमिरे, ऋषिकान्त पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

उपाध्यक्षहरूमा पछि सर्वसम्मत प्रयास गराउँदा अध्यक्ष वा महासचिवका आकांक्षीहरूमध्येबाट पनि उम्मेदवारी आउनसक्ने अनुमान गरिएको छ । यस्तै संगठनमा लामो समय काम गरेका पुराना केही नेताहरू पनि पर्ख र हेरको अवस्थामा रहेकाले उनीहरू पनि उपाध्यक्षमा उम्मेदवार हुनसक्ने देखिएको छ ।

उता महिला उपाध्यक्षमा रस्साकस्सी नै हुने देखिन्छ । हालसम्म संस्थापन समूहबाट कल्पना शर्मा र दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गर्दा संस्थापन इतरबाट सलोजा दाहालले उम्मेदवारी घोषणा गरेकी छन् ।

अध्यक्षपछि सबैभन्दा बढी आकांक्षीहरूको चासोको पद महासचिव भएको छ । अध्यक्षपछिको कार्यकारी अधिकार रहेको पद रहेकाले यसमा धेरैले चासो देखाएका छन् । सोही कारण आकांक्षीहरूले पनि तीब्र दौडधुप गरिरहेका छन् ।

हालसम्म महासचिवमा कार्यवाहक महासचिव भीष्मराज ओझा, प्रेस युनियन काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरू दिलिप पौडेल, शिवराज योगी र रमेश वाग्ले, केशव साउद र विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गरेका सबैजसोले आफ्नो दौडधुप निकै बढाएका छन् । आ(आफ्नो समूहको उम्मेदवार बन्नेदेखि लिएर अर्को समूहमा पनि प्रभाव पार्नेसम्मका प्रयासहरू गरिरहेका छन् ।

यस्तै माथिल्ला पदहरूमा उम्मेदवारको चाप बढिरहँदा उपमहासचिव र कोषाध्यक्षमा पनि उम्मेदवारहरूको आकांक्षा उस्तै छ ।

स्रोतका अनुसार ४ जना उपमहासचिव राख्ने तयारी छ । जसमा ३ जना खुल्ला र एक महिला राख्नेगरी विधानको ड्राफ्ट भएको छ ।

हालसम्म उपमहासचिवमा खुल्लातर्फ भुवन शर्मा, कमल पन्त र युवराज गौतम तथा महिलामा सुलोचना गौतम र कुसुम बिक ९सेन्चुरी० ले उम्मेदवारी सार्वजनिक गरेका छन् ।

यस्तै कोषाध्यक्षमा पदमराज जोशी, मित्र भण्डारी र माधव धितालले उम्मेदवारी घोषणा गरेका छन् ।

यद्यपि यी दुवै पदमा टिम बनाउँदा माथिल्ला पदहरूमा नअटाउनेहरू तल झर्ने र अन्य पुराना नेताहरू पनि समेट्नेगरी आउनसक्ने भएकाले धेरैले ‘पर्ख र हेर’ को अवस्थामा राखेका छन् ।

यस्तै पदाधिकारी भएर काम गर्न इच्छुकहरूका लागि सचिव पद मुख्य आकर्षणको केन्द्र भएको छ । पदाधिकारीको सबैभन्दा तल्लो वरीयतामा रहने यो पदमा अर्कोपटक ‘जम्प’ गर्नसकिने भएकाले धेरैले चासो दिएका छन् ।

यसपटक विभिन्न समावेशी समूहहरूलाई ठाउँ दिनेगरी सचिव पदहरू सिर्जना गर्न लागिएको जनाइएको छ ।

हालसम्म सचिवमा माधवप्रसाद अर्याल, कालिका महत, खगेन्द्र भण्डारी, एलपी देवकोटा, विजय रेग्मी, तीर्थ बस्नेत, राधा खनाल, टिकाराम सुनार र मेनुका ढुंगानालगायतले उम्मेदवारी घोषणा गरेका छन् । सचिव पदमा उम्मेदवार अझै बढ्नसक्ने देखिन्छ ।

नेपाल प्रेस युनियन सुभेच्छुक संस्था रहेकाले निकट आस्था रहेको पार्टी नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बिहीबार अध्यक्षका आकांक्षीहरूलाई राखेर छलफल गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *