अग्निप्रसाद अधिकारी, प्रशासकीय अधिकृत
अग्निप्रसाद अधिकारी, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । ०५२ सालबाट सरकारी सेवा प्रारम्भ गर्नु भएको थियो । उहाँले स्थानीय तहमा आफ्नो कपाल सेता बनाइसक्नु भएको छ । इलाम नगरपालिका, धनकुटा नगरपालिका, खाँदबारी नगरपालिका, काभ्रे जिल्ला विकास समिति, बर्दिबास नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चागुँनारायण नगरपालिका हुँदै हाल उर्लाबारी नगरपालिकाकामा कार्यकारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उर्लाबारी नगरपालिकाकामा स्थानीय तहको विकास निर्माण, नगरभित्र सम्भावना क्षेत्र लगायत विविध, हालसम्म भएको कामको के कस्ता चुनौतीको विषयमा केन्द्रित भएर प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग तामाकोशी साप्ताहिकले गरेको कुराकानीको अंशः
उर्लाबारी नगरपालिका भित्र सम्भावनाका क्षेत्रहरु के के छन् ?
सुन्दर पर्यटकीय क्षेत्रले भरिपूर्ण नगरपालिका बनाउन सक्ने सम्भावना छ । नगरभित्र बेतिनी, लाम्पाते, बासेचौरी र बुढा महाराजथान सिमसार छन् । राजमार्ग नजिकै सडक, खानेपानी, विद्युत, सुरक्षा सबै हिसाबले उत्तम रहेकोले यी चार सिमसारलाई व्यवस्थित र व्यवसायिक बनाउन सकियो भने उर्लाबारी नगरपालिकाको दीर्घकालीन आन्तरिक स्रोतको रुपमा विकास गराउन सक्ने अवस्था छ । नगरभित्र पर्याप्त कृषियोग्य जमिन छ । ९ वटा वडा रहेको नगरभित्रका केही वडाबाहेक अधिकांश नगरवासी कृषिमा आश्रित छन् । त्यसैले नगरभित्र आधुनिक प्रणालीबाट कृषि उत्पादन गर्न सक्ने सम्भावना छ ।
गरिबी निवारण सम्बन्धी कस्ता खालका कार्यक्रम छन् ?
दलित, गरिब, असहायहरूलाई प्राथमिकतामा राखेर स्वरोजगारमूलक तालिमहरु प्रदान गरिरहेका छौं । हामीले नगर प्रोफाइल नै बनाएर गरिबी निवारणका लागि विशेष जोड दिइरहेका छौं । विपन्न परिवारलाई खाद्य सुरक्षा अन्तर्गत राहत सहयोग तथा सीप, क्षमता र सामान्य पुँजीको अभावमा जीविकोपार्जन गर्न कठिन भएका व्यक्ति वा समूहलाई उद्यमशीलतामा अग्रसर गराउने काम नगरपालिकाले गरिरहेको अवस्था छ ।
त्यस्तै, कृषकहरुलाई मध्यनजर गरी कोल्ड स्टोर स्थापना गर्ने, कृषि बजार स्थापना गरी उत्पादित कृषि उपज कृषकले सहज रुपमा बिक्री वितरण गर्न सक्ने वातारण सिर्जना गर्ने, खाद्यान्न बाली धानको बिउ उत्पादन भण्डारण प्याकेजिङ कार्यलाई प्राथमिकता दिने, प्रत्येक वडामा स्थान विशेष पकेट क्षेत्र छनौट गरी बाली उत्पादनमा आवश्यक सहयोग बिस्तार गर्ने योजना रहेको छ ।
तपाईं प्रशासकीय अधिकृत भएर आएपछि भएका महत्वपूर्ण कामहरु के के हुन् ?
२० किलोमिटर डे«न, ४५ किलोमिटर ग्राभेल, १५ वटा कल्भर्ट तथा १० वटा भवन निर्माण भएका छन् । नदी नियन्त्रण, शैक्षिक सुधारका कार्यक्रम, सीप विकास तालिम कार्यक्रम, कृषि उत्पादन बढाउन सिंचाइ, थ्रेसर, पावर टिलर, मिनी टिलर आदि व्यवस्था गरेका छौं । धेरै जनअपेक्षाका कामहरु भइरहेका छन् र यो प्रक्रिया निरन्तर रुपमा हुँदै जानेछ । कृषिमा दीर्घकालीन महत्वका योजना अन्तर्गत किसानलाई सहयोगका काम भइरहेका छन् ।
सिचाई कार्यका लागि कृषकहरुलाई ३ सय २७ वटा मोटर÷बोरिङ वितरण, उन्नत जातको खाद्यान्न, बिउ वितरण पहिलेभन्दा करिब १५–२५ प्रतिशत बढी उत्पादनमा सहयोग, कृषिमा यान्त्रिकीकरण र व्यावसायिकरण गर्नका लागि कृषि औजार उपकरण कृषकको माग अनुसार वितरण गरिएको छ । जसमा पावर टिलर २५ वटा, मिनिटिलर ५ वटा, धान रोप्ने मेसिन १ वटा, टिपर ७ वटा, स्प्रेयर १३८ वटा, मकै रोप्ने मेसिन १९ वटा, मकै छोडाउने मेसिन ५४ वटा वितरण गरिएको छ । कृषकहरु सामुहिक र ब्यवसायिक खेतीतर्फ उन्मुख हुन थालेका छन् ।
गरिबीको रेखामुनी रहेका कृषकहरु समूहगत रुपमा कृषि कर्म गर्न अग्रसर देखिएका छन् । मौरीपालन तथा च्याउखेतीमा कृषकहरुलाई नगरपालिकाबाट कृषकको माग अनुसारको सामग्री प्रदान गर्नाले ब्यवसायमा कृषकहरुको आकर्षण बढेको छ । मौरीपालनको १३७ वटा घार वितरण महदानी ६ वटा, मह प्रशोधन मेसिन १ वटा, च्याउ खेतीमा ट्याक्टरमा जोडेर पराल काट्ने मेसिन वितरण गरिएको छ । नगदेबालीतर्फ तोरी, सूर्यमुखी, उखुलगायतमा आकर्षण बढेको छ ।
फलफूल खेतीमा कृषकहरुको आषर्कण बढेको छ भने आलुको बिउ उत्पादन गर्ने कार्य सुरुवात गरिएको छ । सीपमूलक र ब्यवहारिक तालिम सञ्चालन गरी ब्यवसायिक खेतीतर्फ उन्मुख गराउने, सामुदायिक खेतीलाई प्राथमिकतामा राखी कृषकको आवश्यकताअनुसार कार्यक्रम सञ्चालन रहेको छ । उन्नत जातको तरकारी खाद्यान्न सूर्यमुखी फलफूलको बिरुवा, लहरे तरकारी बालीको लागि मोहनी पासोलगायत वितरण गरिएको छ ।
त्यस्तै, वडाभरिका टोलहरुमा ७० वटा महिला समितिहरु गठन, सबै समितिहरुमा बचत परिचालन करिब १ करोड ५० लाख बचत, नगरपालिकाबाट विभिन्न कोषमा वितरण गरी परिचालनमा ७ लाख ७० हजार, २८ जनाले एडभान्स तालिम लिएर १९ जनाले सीपलाई निरन्तरता दिइरहेको अवस्था छ ।
२३ जनालाई ढाका तालिम दिई तान वितरण गरेको २१ जना उद्यमी भएको मासिक आम्दानी १० देखि १८ हजारसम्म आय आर्जन गर्ने अवस्थामा पुगेको छ । ४ हजार १ सय ७९ जना ज्येष्ठ नागरिक परिचयपत्र, ४ सय ९५ अपाङ्गता परिचय पत्र, १ सय १४ पूर्ण अशक्त अपाङ्गता, २ सय ३० अतिअशक्त, ७२ मध्यम अपाङ्गता र ५३ जना सामान्य अपाङ्गता वितरण गरिएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुको शिविर सञ्चालन गरिएको छ । जसमा ४ सय ९२ जनाले सेवा लिएका छन् । शिविरबाट सहायक सामग्रीको नाप जाँच गरी २ सय १८ वटा माग भएको छ । ३६ जना सहभागीहरुले लेबल २ सिलाई कटाई तालिम लिइरहेका छन् । जसमा १६ जनालाई सिलाई मेसिनको व्यवस्था गरिएको छ ।
३० जनाले ब्युटिपार्लर तालिम लिइरहेका छन् भने ४० जना सहभागीहरुलाई स्तरोउन्नतिको लागि तालिमको तयारी भएको छ । ८० जनालाई नयाँ सीप विकास तालिमको तयारी भएको छ । ४० जनालाई ढाका तालिम दिने तयारी भएको छ । जसमा २० जना एड्भान्स तालिम र २० जनालाई बेसिक तालिम दिने तयारी रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निर्माण र निकासको काम भइरहेका छन् ।
समृद्ध नगरपालिका बनाउन के–केस्ता योजना रहेका छन् ?
उर्लाबारी नगरपालिकालाई समृद्ध क्षेत्र बनाउँदै यहाँका जनतालाई सुखी बनाउने उद्देश्यअनुरूप हामीले खासगरी विकास निर्माण, कृषि र पर्यटनलाई जोड दिइरहेको अवस्था छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा मूल रूपमा केन्द्रित गरेर विकास गर्दै लैजाने योजना बनाएका छौं । लक्षित वर्गलाई आयमूलक, रोजगारमूलक, सीपमूलक र उद्यमशीलतासँग जोडेर अघि लैजाने छौं ।
यस नगरपालिकाको मुख्य पहिचान के हो ?
हामी उर्लाबारीलाई पर्यटनको गन्तव्य शहरको रुपमा विकसित गर्ने योजनामा छौं । किनकी त्यो सम्भावना उर्लाबारीमा छ । नगरमा भएका जैविक विविधताले भरिपूर्ण बेतिनी सिमसार क्षेत्र छ जहाँ विभिन्न प्रजातिका बनस्पति, वन्यजन्तु, चराचुरुङ्गी छन् । त्यसलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ । त्यस्तै, मदन भण्डारी संग्रहालय, मञ्जुल संग्रहालय, विभिन्न धार्मिक प्रतिष्ठान, अन्य सिमसार भएकोले पनि अध्ययन र अवलोकनका लागि पर्यटक आउने बलियो सम्भावना छ ।
यस उर्लाबारी नगरपालिका भित्र पनि चुनौती होलान ती के के हुन् ?
भरपर्दो आम्दानीको स्रोत छैन । मावा, बक्राहा, तेली, सुनझोडा, सोल्टी, मिक्लुक, नुनसरीलगायतका खोलाले वर्षेनि ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको छ । सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतमा पनि चुनौती कायमै छन् । सुकुम्बासी व्यवस्थापन पनि समस्या छ । हाल सुकुम्बासी आयोगमार्फत तथ्यांक संकलनको काम भएको छ । यसबाट सुकुम्बासी समस्या समाधान हुनेमा आशाबादी पनि छौं ।
सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
अहिलेसम्म आएका सबै सेवाग्राहीले म प्रमुख भएको अथवा मैले नेतृत्व गरेको संस्थामा कुनै गुनासो गरेको मलाई थाहा छैन । त्यसकारण मैले उहाँहरूको समस्या राम्रोसँग समाधान गरेको छु भन्ने लाग्छ । असफल भएजस्तो लाग्दैन ।
कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
कतिपय मान्छेलाई व्यवहारिक पाटोमा काम पर्दा यो भइदिए हुन्थ्यो भन्ने हुन्छ । तर कर्मचारीहरूले आफ्नो विधि–विधान प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ । विधि–विधान सेवा–प्रवाहलाई व्यवस्थित गर्न र सेवा प्रवाह गर्नेले आफ्नो अनुकूल व्याख्या नगरोस् भन्नका लागि हो । कतिपय अवस्थामा ती विधि–विधानलाई पछ्याउँदा सेवाग्राहीको माग पूरा नहुँदा अलिकति दबाब आएजस्तो हुन जान्छ । प्रक्रिया नपु¥याउँदा यस्तो गर्नू भनेर अह्राउनुपर्छ । प्रक्रिया नपुग्दा पुगेन भन्दा दबाब दिएको जस्तो अवस्था हुन्छ । त्यस्तो ठूलो दबाब आएको अनुभव छैन ।
सेवाग्राहीलाई सहज सेवा प्रवाहको लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
कुनै पनि संगठनमा कामको प्रकृतिअनुसार संगठन संरचना बनाइएको हुन्छ । कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारी दिइएको हुन्छ । अधिकार दिइएको हुन्छ । सोहीअनुरुप आ–आफ्नो ठाउँमा काम गर्ने हो । नेतृत्वले उनीहरूको कामको निगरानी गर्ने हो । निगरानी भयो भने सेवा प्रवाह प्रभावकारी हुन्छ ।
संगठनअनुसार, कामअनुसार फरक–फरक प्रकारले काम गर्नुपर्छ । आफूलाई दिएको जिम्मेवारी सही रुपमा जनताको सेवामा समर्पित गर्ने, सेवाग्राहीको समस्या सरल र सहज रुपमा सम्बोधन गर्ने, हुन नसक्ने कुरा यो कारणले हुँदैन भनेर भन्ने । तपाईंको काम हुँदैन मात्र भन्दा सेवाग्राहीमा निराशा आउँछ ।
मेरो काम सधैं नहुने किन ? भन्ने कुरामा विवाद उत्पन्न हुन सक्छ । त्यसैले यो–यो प्रक्रिया पूरा गर्नु तपाईंको काम हुन्छ भन्नुपर्छ । ‘हामी तपाईंहरूकै काम गर्न बसेका हौं । तपाईंहरूले लिएर आएको काम हामीले गर्नैपर्छ । हामीले दिएको सेवाबाट तपाईंले सन्तुष्टि प्राप्त गर्नुपर्छ । र तपाईंले पनि यो प्रक्रिया पूरा गर्नुपर्छ’ भन्ने ढंगले सेवाग्राहीलाई सम्झाउनुपर्छ ।
यसो हुँदा काम नहुने मान्छे फर्किएर जान्छन् हुने प्रक्रिया पु¥याएर आउँछन् । काम पारदर्शी र विधि–विधान पु¥याएर ग¥यो भने सेवा ग्राहीले मेरो काम भइरहेको नभएर यो कारणले भएको छैन भन्ने कुरा सेवाग्राहीले बुझ्नुहुन्छ । हामी कर्मचारीले सबैलाई एकै किसिमको जवाफ दिँदा जनमानसमा त्यसले गलत अर्थ राख्छ । त्यसकारण सबै सेवाग्राही नयाँ हुन् उनीहरू पहिलोपटक सेवा लिन आएका हुन् भन्ने बुझेर झर्को नमानी हामीले प्रक्रियाबारे बतायौं भने सेवाग्राहीको काम प्रभावकारी हुन्छ ।
संघीयता अघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
संघीयता भनेकै परिवर्तनको चाहनालाई आत्मासात् गर्न गरिएको व्यवस्था हो । संघीयता भनेको व्यवस्थाको परिवर्तन हो । संघीयता आएपछि तीन तहको सरकार आयो । सबै तहले अधिकार पाएका छन् । पहिला नियम–कानुन बाझिँदा केही अन्योल भए पनि समय क्रमसँगै तीनै तहका सरकारले ऐन, कानुन, संगठन, संरचना कर्मचारी व्यवस्थापनजस्ता कुरामा निखारता ल्याइसकेको हुनाले अब सेवा प्रवाहमा एक किसिमबाट छर्लंग भइसकेको छ ।
तर समन्वयको चाहिँ खाँचो छ । तीन तहमा राम्रो समन्वय भयो भने सेवा प्रवाह प्रभावकारी हुन्छ । स्थानीय तह अधिकार सम्पन्न भएको यो अवस्थामा जनतालाई सेवा प्रवाह राम्रो भएको छ ।