नेताहरूको घर घुमेर एकअर्काको पोल लगाई खानेका दिन गएः राजेन्द्र लिङ्देन

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्ट नेताहरूलाई पार्टी खोल्न वा अर्को पार्टी प्रवेश गर्न चुनौती दिएका छन्। “राप्रपामा शीर्ष नेताहरुबीच विवाद भएको कुरा कपोलकल्पित र हावादारी प्रचार हो ।

नेताहरुलाई उकासेर, घर चक्कर लगाएर, एउटाको पोल अर्कोलाई सुनाएर खानेका दिन गए । त्यसरी कोही नेता पनि बन्न सक्दैन, पार्टी पनि बन्न सक्दैन । पार्टीमा पद प्रतिष्ठालाई मुख्य विषय बनाउनेका सन्दर्भमा मलाई केही भन्नु छैन । तिनले नयाँ पार्टी खोले पनि हुन्छ, अर्को पार्टीमा गए पनि हुन्छ ” उनले भनेका छन् ।

पार्टीमा कमल थापा, पशुपति शमशेरसहित तीन जना अध्यक्ष बनाउने कुरा पनि उनले अस्वीकार गरे । राप्रपा अध्यक्ष लिङ्देनले भने, “पार्टीले वैकल्पिक शक्ति बन्ने एउटा बाटो पक्रिसकेको छ । सामूहिक नेतृत्वका नाममा पदीय भागबन्डामा अल्झेर बस्दैन । यसको अर्थ अध्यक्षले जे मन लाग्यो, त्यही गर्दै जाने भन्ने पनि होइन ।”

आगामी निर्वाचनमा राप्रपा तालमेल गरेर जाने वा एक्लै लड्ने दुवै विकल्पमा खुला रहेको पनि उनले बताए । लिङ्देनले थपे, “अरु दलसँग तालमेल भएन भने एक्लै जानुपर्छ । तर गठबन्धन बन्ने सम्भावना पनि जीवितै छ । तर यसले ठोस आकार लिइसकेको छैन ।”

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेश पनि तत्काल सम्भव नभएको उनले बताए । व्यक्तिगत रुपमा कुराकानी भए पनि औपचारिक संवाद अघि नबढेको उनको भनाइ छ ।

अहिलेको स्थितिमा राप्रपाले मात्र प्रतिपक्षको धर्म निर्वाह गरेको दाबी पनि लिङ्देनले गरे । उनले भने, “हामी रेलिङ भत्काउने, गाडी जलाउने काममा लागेनौं होला । महँगीलगायत जनजिविकाका विषयमा अहिले विरोधमा कोही छ भने राप्रपा मात्र छ । हामी सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएर दबाबमूलक कार्यक्रम गरिरहेका छौं ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *