उत्पादन वृद्धिको लक्ष्यमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगी व्यापारीहरूलाई आग्रह

राजनीति समाचार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चालु आर्थिक वर्षको बजेटले लिएको उत्पादन वृद्धिको लक्ष्यमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगी व्यापारीहरूलाई आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो स्थापनाको लक्ष्यअनुसार औद्योगिक विकास तथा लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने उनले बताए ।

लिमिटेडको ३५ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बडूले एकातर्फ ठूलो हिस्सा आयातमा निर्भर रहेको र अर्कोतर्फ चाहेर पनि मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसकिरहेको अवस्थामा सरकारले अहिलेको बजेटमार्फत आन्तरिक उत्पादनलाई जोड दिने नीति लिएकाले यसमा सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

उनले व्यवसायी र लिमिटेड एकअर्काका परिपूरक एवं सहयोगी भएकाले सरोकारवाला लगानीकर्ताहरूसँग अधिकतम् छलफल र समन्वयबाट लगानी आकर्षित गर्ने गरी अगाडि बढ्न लिमिटेड व्यवस्थापन पक्षलाई निर्देशन दिए ।

‘व्यवसायीहरुले केही माग र गुनासा सरोकारका विषयहरु उठाइरहनुभएको छ’ मन्त्री बडूले भने ‘व्यवसायी र व्यवस्थापनबीच द्वन्द्वको अवस्था आउनुहुँदैन, त्यसका लागि छलफल र संवादबाट समस्याको समाधान गर्नुस्, सरकार तपाईंहरुको साथमा छ।’

कार्यक्रममा अधिकांश वक्ताहरूले लगानीमैत्री वातावरण बनाउन लिमिटेडले आफ्नो भूमिका थप प्रभावकारी र समन्वयकारी बनाउन जरुरी रहेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *