विदेश पढ्न जाने विद्यार्थीले रित्याए विदेशी मुद्राको सञ्चिति

राजनीति समाचार

काठमाडौं । मुलुक केही समय यताबाट वैदेशिक मुद्राको सञ्चितिमा आएको गिरावटबाट आर्थिक संकटमा पर्ने सम्भावना र संकेत देखिएको छ । विदेशी मुद्राको अभावबाट उत्पन्न हुने आर्थिक समस्या टार्नका लागि सरकारले राष्ट्र बैंकको सुझावमा सरकारले विभिन्न वस्तुको आयातमा कडाइँ गरेको छ ।

र, कतिपय वस्तुको आयातमाथि प्रतिवन्ध समेत लगाएको छ । तर, हालै मात्र बिदा भएको आर्थिक वर्ष २०७८÷७९ को सुरुको ११ महिनामा विदेशमा अध्ययन गर्ने विद्यार्थीको नाममा ६० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले गरेको एउटा अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकको यो अध्ययन अनुसार विगत ४ वर्षयता विदेशमा अध्ययनका लागि १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षमा मात्रै विभिन्न ६४ मुलुकमा अध्ययन गर्न भनेर १ लाख १३ हजार नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन’ लेटर लिएका छन् ।

हरेक वर्ष विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या परिणाममा बढिराखेको छ । आर्थिक वर्ष २०७७÷७८ को सुरुको ११ महिनाको तुलनामा हालै वितेको आर्थिक वर्ष २०७८, ७९ को सुरुको ११ महिनामा विदेश अध्ययन गर्न जाने विगद्यार्थीको संख्या १६० प्रतिशतले बढेको छ । सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलियामा गएका छन् ।

राष्ट्र बैंकले गरेको अध्ययन अनुसार अमेरिकालगायतका पश्चिमा मुलुक र अस्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीले रोजगारी पनि सँगै अगाडि बढाउन पाउने गरेको देखिएको छ ।

प्रतिविद्यार्थी १३ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिने र हरेक वर्ष यो परिणाम ठूलो प्रतिशतमा बढ्दै जाने गरेकाले मुलुकका लागि विदेशी मुद्राको सञ्चितिमा ठूलो समस्या आउन थालेको उल्लेख गरिएको छ ।

यो समस्याबाट मुलुकलाई मुक्त गर्नका लागि ठोस पहलकदमी गर्न जरुरी भएको बताउन थालिएको छ । र, निश्चित वस्तुको आयातमा कडाईँ गरेर मात्रै अध्ययनका लागि विदेश जाने विद्यार्थीको कारणले समेत खराब हालतमा पुगेको विदेशी मुद्रा सञ्चितिको स्थितिमा सुधार नहुने निष्कर्ष निकाल्दै यससम्बन्धमा अर्थमन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले गम्भीर छलफललाई अगाडि बढाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *