मोदीले किन बेइज्जत गरे माओवादी अध्यक्ष प्रचण्डको ?

समाचार

काठमाडौं । गत हप्ता बुधबार राती चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चिहानछाओ स्वदेश फर्किएको भोलि पल्टै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण सार्वजनिक भएको थियो । भारतमा सरकारको नेतृत्व गरी राखेको भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणा आएको सार्वजनिक गरेको भोलि पल्ट नै अर्थात् गत शुक्रबार तीन दिने भारत भ्रमणमा माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान गरेका थिए । र, भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुने जानकारी अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिएका थिए । भारतीय जनता पार्टीका अध्यक्ष नड्डाको निमन्त्रणामा यो भ्रमण गरेको भएपनि माओवादी अध्यक्ष प्रचण्डको मुख्य उद्देश्य भने भ्रमणको क्रममा मोदीसँग भेटवार्ता गरेर आफ्नो पक्षमा राजनीतिक वातावरण बनाउनु रहेको थियो । समाचार सुत्रका अनुसार गत आईतबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माओवादी अध्यक्ष प्रचण्डको ब्रेक फास्ट मिटिङ हुने समयतालिक निर्धारण भएको थियो । तर आईतबार बिहान हुने भनिएको उक्त भेट भारतीय जनता पार्टीका अध्यक्ष नड्डाले दिवा भोज दिएलगत्तै दिउँसो एक बजेका लागि तय भएको थियो । तर माओवादी अध्यक्ष प्रचण्ड भाजपाका अध्यक्ष नड्डाले दिएको निवा भोजलाई प्रधानमन्त्री मोदीसाग भेटवार्ता गर्ने भनेर हतारमा सम्पन्न गरेर बाहिरिँदा प्रधानमन्त्री कार्यालयबाट भेटवार्ता हुन नसक्ने जानकारी आएपछि माओवादी अध्यक्ष प्रचण्ड छाँगाबाट खस्न पुगेका थिए ।
आगामी मंसीरमा नेपाल आम निर्वाचन हुने र कुनै पनि दलले बहुमत ल्याउन नसक्ने अवस्थामा नेपाली कांग्रेसले आलोपालो सरकार संचालन गर्ने चर्चा काठमाडौंमा भई रहँदा भारतीय जनता पार्टीका अ्रध्यक्ष नड्डाको निमन्त्रणामा दिल्ली पुगेका माओवादी अध्यक्ष प्रचण्ड र दिल्लीमा उपचार गराई राखेकी कांग्रेस नेतृ आरजु राणा बीचको भेटले आम निर्वाचनपछि राणा र माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने चर्चाले थप बल पाएको थियो । र, यसैका लागि भारत सरकारले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेतृ आरजुलाई दिल्ली बोलाएर आवश्यक रणनीति तयार गर्न र आपसमा विश्वास बढाउन उनीहरुलाई दिल्लीमा भेटवार्ता गराएको समेत चर्चा रहेको थियो । उत्तरतिरको छिमेकी चीनले अहिलेको गठबन्धन भत्काएर कम्युनिष्ट बीचमा मात्र गठबन्धन बनाउन सक्ने आशंका गरेर भारतले यो पहल गरेको बताइन्छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माओवादी अध्यक्ष प्रचण्डसँग अन्तिम समयमा किन रुष्ट बन्न पुगे र उनलाई भेटसम्म दिएनन् भन्ने चर्चाले एकातिर काठमाडौंको राजनीति तातेको छ भने भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको एउटा प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रति गरेको यो व्यवहारको प्रतिक्रिया सरकार चलाई राखेको गठबन्धनमा पर्न सक्ने विश्लेषण समेत हुन थालेको छ । र, भारतीय प्रधानमन्त्री मोदी नेपालमा माओवादी र कांग्रेसले आलोपालो सरकार संचालन गर्ने फर्मुलाको विपक्षमा रहेको सन्देश समेत यसबाट प्रवाह भएको विश्लेषण हुन थालेको छ । भारत भ्रमणबाट प्रचण्ड स्वदेश फर्किएको लगत्तै गठबन्धनलाई निरन्तरता दिने र आगामी पाँच वर्ष पनि आफ्नै नेतृत्वमा सरकार संचालन गर्ने भनेर गत सोमबार कांग्रेस केन्द्रिय कार्य समितिले गरेको निर्णयलाई यो सन्दर्भसँग जोडेर अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *