माओवादी र ए समाजवादीको इच्छा र स्वार्थ विपरित आमनिर्वाचनको मिति घोषणा हुँदै

राजनीति समाचार

काठमाडौं । गत असार २२ गते आफ्नो नेतृत्वमा गएको उच्च स्तरीय टोलीले प्रधानमन्त्री देउवासँग विचार विमर्श गरेर बालुवाटारबाट निस्किएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आगामी मंसिर ४ गते संघीय र प्रदेशको एकैचरणमा आमनिर्वाचन सम्पन्न हुने र यो निर्णय अब बस्ने मपन्त्रिपरिषद्को बैठकले गर्ने विश्वासका साथ उद्घोष गरेका थिए ।

तर, अहिलेसम्म मन्त्रिपरिषद्ले आमनिर्वाचनका सम्बन्धमा मिति तोक्ने गरी कुनै ठोस निर्णय गरेको छैन । सरकारको एउटा घटक माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी दोस्रो हेसियतमा आउनेगरी निर्वाचनको मिति तोक्नुपर्ने शर्त अगाडि सारेपछि र सरकारकै अर्को घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आमनिर्वाचनको लागि आफ्नो पार्टीको तयारी नपुगेको भन्दै आमनिर्वाचनको मिति आगामी फागुनको अन्तिम सातासम्मका लागि सार्न प्रधानमन्त्री देउवालाई दबाब दिएका छन् ।

प्रधानमन्त्री देउवा आगामी मंसिर ४ गते जसरी पनि आमनिर्वाचन गर्ने पक्षमा भएपनि र उनको पार्टी नेपाली कांग्रेसले पनि आगामी मंसिर ४ गते नै आमनिर्वाचन प्रधानमन्त्रीलाई दबाब दिए पनि अहिलेसम्म मन्त्रिपरिषद् यससम्बन्धमा आवश्यक निर्णय गरिसकेको छैन ।
निर्वाचन सम्पन्न गर्नको लागि १ सय २० दिन आवश्यक पर्दछ ।

तर, आगामी मंसिर ४ गते आमनिर्वाचन गर्ने हो भने अब समय १ सय १० दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको मिति घोषणा नभएपनि राजनीतिक दलहरुलाई भने चुनाव लागिसकेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई एक्ल्याएको यो अवस्थाको फाइदा लिएर माओवादी केन्द्र सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी हुने लक्ष्यमा रहेको छ ।

यसका लागि माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा बाहिरका कम्युनिस्ट पार्टीहरुलाईसमेत समावेश गरेर समाजवादी केन्द्र बनाउने कसरत गरेका थिए । तर, त्यो प्रयास असफल भइसकेपछि माओवादी अध्यक्ष प्रचण्ड यतिखेर प्रधानमन्त्री देउवामाथि आगामी आमनिर्वाचनमा माओवादी केन्द्र दोस्रो ठूलो पार्टी हुने वातावरण बनाउन दबाब दिइराखेका छन् ।

आगामी आमनिर्वाचनमा नेकपा एमालेलाई अपछाडि पार्दै माओवादी केन्द्र दोस्रो ठूलो दल हुने सुनिश्चित नभएकै कारणले गर्दा माओवादी अध्यक्ष प्रचण्ड आगामी मंसिर ४ आमनिर्वाचन गर्ने पक्षमा छैनन् । यसैगरी सरकार र गठबन्धनको अर्को घटक एकीकृत समाजवादी आमनिर्वाचनलाई सकेसम्म पछाडि घकेल्न चाहन्छ ।

स्मरण रहोस् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत वैशाखमा स्थानीय निर्वाचनको चर्चा भइरहँदा आगामी फागुन महिनामा स्थानीय, प्रदेश र केन्द्रको एकैसाथ निर्वाचन गर्ने प्रचार गरेका थिए । तिनै तहको निर्वाचन एकैसाथ गर्दा खर्च कम हुने तर्पm एकीकृत समाजवादीका अध्यक्ष नेपालको रहेको थियो । तर, गत वैशाख ३० गते नै स्थानीय निर्वाचन सम्पन्न भयो ।

र, स्थानीय निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । त्यसैगरी गठबन्धनकै कांग्रेस र माओवादी केन्द्रले आपूmलाई सहयोग नगरेको आरोप समाजवादीको रहँद आएको छ । आमनिर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले सहयोग नगरेको भन्ने आरोप लगाउँदै आएको एकीकृत समाजवादीले एक्लै चुनाव लड्ने धम्की दिने गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल यो धम्की आमनिर्वाचनको मिति पछाडि सार्ने नियतले दिने गरेका हुन् भनिन्छ ।

गठबन्धनका दुई कम्युनिस्ट घटक माओवादी केन्द्र र एकीकृत समाजवादी आमनिर्वाचनलाई पछाडि सार्ने पक्षमा भए पनि आफ्नो पार्टी भित्रैको दबाब र अहिलेको वातावरणलाई हेरेर प्रधानमन्त्री जसरी पनि आगामी मेसिर ४ गते गर्ने पक्षमा अडिक छन् । यससम्बन्धी निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठक गर्ने निश्चित जस्तै देखिएको छ । तर, निर्वाचनको मिति तोकिनुअगाडि सरकारले कर्मचारीहरुको सरुवा गरेर आमनिर्वाचनलाई आफूअनुकूल बनाउने प्रयास गर्ने देखिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *