पेरिस । युरोपको सबैभन्दा व्यस्त न्यून भाडादर (लो कस्ट) को विमान कम्पनी इजिजेटका कर्मचारीहरूले अगस्टमा ९ दिनको हडताल आह्वान गरेपछि लाखौं यात्रु प्रभावित हुने भएका छन् ।
युरोपमा अगस्ट वर्षभरकै सबैभन्दा व्यस्त बिदा मनाउने समय भएकाले हडतालले लाखौं यात्रुलाई प्रभावित गर्ने भएको छ । कम लागतको विमानद्वारा पोर्चुगल र स्पेनमा उडान गर्ने यात्रुहरूले छुट्टीयाम अगस्टभरि ठूलो यात्रा अवरोधको सामना गर्नुपर्ने छ ।
स्पेन र पोर्चुगलमा इजिजेटका पाइलटहरूले आफ्नो तलब र कामको अवस्था सुधार्नुपर्ने माग गर्दै यो महिना ९ दिन कामबाट बाहिरिने घोषणा गरेका छन् । स्पेनिस युनियन अफ एयरलाइन पाइलट ९सेप्ला० ले १२ देखि १४, १९ देखि २१ र २७ देखि २९ अगस्टसम्म तीन फरक फरक मितिमा ७२ घण्टा हडताल गरिने जनाएका छन् । पाइलटहरूले काम गर्ने अवस्था कोरोना भाइरस अघिभन्दा हाल बिग्रिएकाले भाइरसपूर्वको अवस्था पुनस्र्थापित गर्न र आफ्नो न्यूनतल तलब बढाउनुपर्ने लगायत माग राखेका छन् ।
युनियनले इजिजेटलाई आफ्ना पाइलटहरूको सम्झौता अल्पकालीन गरेकाले त्यसलाई बढाएर नयाँ दीर्घकालीन समयको बहुवर्षीय सम्झौताहरू उपलब्ध गराउन पनि माग गरेको छ ।
सेप्लाले आफ्ना प्रतिनिधिहरूले ६ महिनाभन्दा बढी वार्तालाप गर्दा पनि समाधान ननिकालेको भन्दै हडताल आह्वान गरेको जनाएको छ । र स्पेनिस पाइलटहरूको अवस्था सधैं युरोपका बाँकी देशहरूमा भन्दा खराब भएको दाबी सेप्लाको छ ।
त्यस्तै पोर्चुगलका दुई वटा युनियनका नागरिक उड्डयन कर्मचारीहरूले अगस्ट १९ देखि अगस्ट २१ सम्म हडताल घोषणा गरेका छन् । यदि यो हडताल भएमा यसले पोर्चुगलको राजधानी लिस्बनसहित अन्य ठूला सहर पोर्तो, फारो र देशको सबैभन्दा ठूलो विमान अपरेटर समूह एएनएद्वारा नियन्त्रित सबै एयरपोर्टहरूलाई असर गर्नेछ ।