जसपाले साकार गरिदेला त कांग्रेसको सपना ?

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस अहिले पाँच दलको गठबन्धन र संयुक्त सरकारको नेतृत्व गरिराखेको छ । आफूसँग अन्य ४ दलसमेत साथमा रहेको कारण आगामी आमनिर्वाचनमा सके बहुमत ल्याउने नसके सबैभन्दा ठूलो दल हुने योजनामा अगाडि बढिराखेको छ ।

यो योजना पुरा गर्नका लागि ११ सदस्यीय कार्यदलले संघीय संसद्को १६५ स्थानको भागबन्डाका लागि छलफल र गृहकार्य गरिरहँदा नेपाली कांग्रेसले पनि प्रत्यक्षतर्फको १६५ स्थानको ६० प्रतिशत आफूले पाउनुपर्ने दावी गरेको छ । कांग्रेसले यो दावी आगामी आमनिर्वाचनपछि कम्तिमा सबैभन्दा ठूलो दल हुने योजनाबाट राखेको हो ।

गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासमेत संलग्न हुँदा पनि कांग्रेसले आगामी आमनिर्वाचनबाट सबैभन्दा ठूलो दल हुने विश्वास राखेको देखिँदैन । यही कारणले गर्दा कोसी पश्चिम, गण्डक पूर्वको तराइको आठ जिल्लामा मात्र प्रभाव र संगठन भएको लोकतान्त्रिक समाजवादीसँग पनि गठबन्धन गर्ने तयारी कांग्रेसले गरिराखेको छ ।

मधेस नै आफ्नो आधार क्षेत्र भएको दावी गर्ने नेपाली कांग्रेस यतिखेर मधेस प्रदेशबाट आफ्नो पक्षमा परिणाम ल्याउनका लागि लोकतान्त्रिक समाजवादीसँग गठबन्धन गर्न गइराखेको हो । लोकतान्त्रिक समाजवादीलाई सरकारसमेत सामेल गराएर आगामी आमनिर्वाचनमा मधेस प्रदेशमा आफ्नो राम्रो परिणाम ल्याउने पक्षमा नेपाली कांग्रेस रहेको छ ।

लोकतान्त्रिक समाजवादी सुखी पारेर सरकार र गठबन्धनमा सामेल गर्नकै लागि देउवा सरकारले छोटो बाटोबाट नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाएको छ । लोसपाले सरकार र गठबन्धनमा सामेल हुन आपूmले भनेअनुसार नागरिकता सम्बन्धी कानुन संशोधन हुनुपर्ने सर्त राखेको थियो ।

लोकतान्त्रिक समाजवादीको सर्त अनुसार अहिले राष्ट्रपति कार्यालय पुगेको नेपालको नागरिकता सम्बन्धी ऐन (२०७३) को संशोधन प्रस्तावलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मुख्य रुपमा तराइमा विवाह गरेर आउने भारतीय युवतीले नेपालको नागरिकता तत्काल प्राप्त गर्ने छन् । विवाह गरेर आउने विदेशी महिलाले नागरिकता पाउने यस्तो प्रावधान यो दुनियाँमा नेपाल बाहेक अन्य कुनै मुलुकमा पनि हुने छैन ।

कांग्रेसले नागरिकता यस्तो विचित्र र आपत्तिजनक विधेयक लोकतान्त्रिक समाजवादीलाई खुसी पारेर सरकारमा सामेल गर्ने आगामी आमनिर्वाचनमा यसको फाइदा आफूले  मधेस प्रदेशमा लिने योजनासहित अगाडि बढाएको हो ।

अब केही दिनमै लोकतान्त्रिक पार्र्टी सरकारमा सामेल हुने छ । र, सबैभन्दा ठूलो दल हुने कांग्रेसको सपना साकार पार्न लोकतान्त्रिक समाजवादीले सहज पु-याउने छ भन्ने विश्वास कांग्रेसी नेताहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *