आगामी निर्वाचनमा ओली र देउवा नेतृत्वको गठबन्धनकाबीचमा भिडन्त पर्ने स्थिति

राजनीति समाचार

काठमाडौं । महामन्त्री कुन्ती शाहि र केन्द्रिय सदस्य रेखा थापाले अलग अलग भेटवार्ता गरेपछि गत शनिबार निवासमा नै पुगेर राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एमालेका अध्यक्ष केपी अ‍ोलीसँग लगभग दुइघण्टा लामो भेटवार्ता गरेका छन् । गत शनिबार भएको यो भेटवार्तालाई राजनीतिक क्षेत्रले महत्वका साथ हेरेको छ ।

नेकपा एमालेले सत्ताभन्दा बाहिर रहेको लोकतान्त्रिक पार्टीसँग चुनावी सहकार्य गर्ने सोच बनाएको थियो । तर, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी वर्तमान सरकार र पाँचदलको गठबन्धनमा जाने सम्भावना बढेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातान्त्रिक पार्टीसँग सहकार्य गर्ने योजना बनाएका हुन् ।

सरकारमा रहेको पाँचदलिय गठबन्धनले सबै दलसँग सहकार्य गर्ने योजना बनाउँदै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गर्दै मधेश प्रदेशमा आधारभूमी रहेको लोकतान्त्रिक समाजवादीपार्टीसँग पनि प्रधानमन्त्री देउवाले सहकार्य गर्ने, २ नम्बर प्रदेशमा कांग्रेसको प्रभाव बढाउने सोच बनाएपछि नेकपा एमालेले पनि विभिन्न राजनीतिक दलसँग चुनावी सहकार्य गर्ने योजना बनाउन थालेको हो ।

यहि योजना अनुसार गत बैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा साढे ३ लाख लोकप्रिय मत प्राप्त गरेको राप्रपासँग सहाकर्य गर्नतिर एमाले लागेको हो । यहि प्रयोजनका लागि गत शनिबार एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङदेनकाबीचमा लगभग दुइघण्टा लामो भेटवार्ता भएको छ । केहिदिन अगाडि सम्म एक्लै चुनावमा लड्ने दाबी गर्दै आएको नेकपा एमालेमाथि पछिल्ला दिनमा दबाब बढ्न थालेको छ ।

यस्तो दबाब एमाले अध्यक्षमाथि पार्टीका कतिपय शीर्ष नेताले माओवादी केन्द्रसँग कतिपयले एकीकृत समाजवादीसँग मिलेर चुनाव लड्न दबाब दिइरहँदा अध्यक्ष ओलीले भने चुनावी सहकार्यका लागि राप्रपा अध्यक्ष लिङदेनसँग कुराकानी अगाडि बढाएका छन् । नेकपा एमालेले अध्यक्ष ओलीकै नेतृत्वमा चुनाव परिचालन समिति समेत गठन गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल र सिपि मैनाली नेतृत्वको नेकपा मालेसँग तथा सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि चुनावी सहकार्य गर्ने सम्भावना बढेर गएको छ । पहिलो पटक संघिय र प्रदेश निर्वाचनमा भाग लिन लागेको जनमत पार्टी मधेश प्रदेशमा वैकल्पिक राजनीतिक शक्ति हुने योजनामा रहेको छ । यो योजना सफल बनाउनका लागि जनमत पार्टीले एउता ठुलो पार्टीसँग सहकार्य गर्न आवश्यक छ ।

यहि आवश्यकतालाई ध्यानमा राखेर सिके राउतले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग तालमेल मिलाउने चुनाव लड्ने स्थिति बन्दै गएको छ । सत्तारुढ गठबन्धनले अन्य दलसँग सहकार्य गर्ने योजना बनाउन थालेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि आगामी आम निर्वाचनलाई केन्द्रमा राखेर चुनावी तालमेलदेखि सहकार्य सम्म गर्ने रणनीति अख्तियार गरेका छन् । र, अबको आम निर्वाचनमा कांग्रेस नेतृत्वको र एमाले नेतृत्वको गठबन्धनकाबीचमा सिधा प्रतिस्पर्धा हुने वातावरण बन्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *