ananta gurung

अब आर्थिक क्रान्तिको आवश्यकता

समाचार

नेपालको अर्थतन्त्र जोखिम मोडमा छ । पछिल्लो दशकको मूल्यवृद्धि हेर्ने हो आम्दानीको दाँजोमा खर्च निकै ठूलो देखिएको छ । मुलुकको आन्तरिक आयको अभाव र आवश्यक वस्तुहरुमा मुलुक परनिर्भर बन्दा यो समस्या झनै जटिल बन्दै गएको हो । मुलुकमा उत्पादन नहुने, मुलुक परनिर्भर बन्दै जाने, आन्तरिक आयभन्दा पनि भन्सार महसुल र ठूलो कर शुल्क असुलेर मुलुकको सार्वजनिक खर्च धान्नुपर्ने अवस्थाले अर्थतन्त्र झनै जटिल बनाउँदै लगेको देख्न सकिन्छ । यसको विश्लेषण दुई पक्षबाट गर्न सकिन्छ । एक वैदेशिक आयातमा सजिलै महसुल तोक्न सकिने र वैदेशिक आयातमा मनलाग्दी रुपमा भ्रष्टाचार र बेथितीलाई प्रश्रय दिन सकिने, अर्काेतर्फ आन्तरिक आयलाई प्रश्रय दिँदा आन्तरिक द्वन्द्व सिर्जना हुने, भ्रष्टाचार गर्न नपाइने, राजश्व चुहावट गर्न नपाइने हुन्छ ।
सजिलो रुपमा कमाई गर्ने र नातावाद, कृपावादलाई प्रश्रय दिने हेतुले आयातलाई अझ सहजीकरण गरी आन्तरिक उत्पादनलाई टिक्नै नदिने अवस्था पनि सिर्जना गरिएको छ । बेथितीको दृष्चक्रमा फसेको नेपालको अर्थतन्त्र उकासिन सकेन । सर्वसाधारण जनता महंगीको मारमा परेका छन् भने लुटको धन जम्मा पारेका राजनीतिक नेता र कार्यकर्ता तथा व्यापारीहरुलाई महंगीले कुनै प्रभाव पार्न सकेको छैन । अब यो दृष्चक्रमाथि प्रहार हुनैपर्छ । यो दृष्चक्रलाई परास्त गर्नैपर्छ । सर्वसाधारण जनतालाई मारमा पार्ने अर्थ व्यवस्थालाई तत्काल मार्गदर्शन दिनु आवश्यक छ ।
मुलुक परनिर्भर भएको अवस्थामा अब नेपालको अर्थतन्त्रलाई जोगाउन आर्थिक क्रान्ति गर्न अपरिहार्य देखिसकिएको छ । नेपालको भौगोलिक अवस्था र आर्थिक क्षमताका आधारमा औद्योगिक, कृषि, पर्यटन र जलविद्युतका क्षेत्रमा क्रान्ति ल्याएर एउट लहर सिर्जना गर्न आवश्यक देखिएको छ । मुलुकको श्रमशक्तिलाई विदेश पठाएर नभई दीर्घकालीन रुपमा योजना बनाई मुलुकमै खटाउन सकेमा केही वर्षमा नै मुलुकले कोल्टे फेर्न सक्छ । काम गर्न सक्ने हैसियत नभएका र इच्छाशक्ति नभएका जनप्रतिनिधिहरुलाई जिताएर जनता सँधै ठगिनु हुँदैन । सँधै आन्दोलन गरेर सडकमा आउनुपर्ने अवस्थाबाट मुक्त हुन् स्वयम जनता नै उर्लिएर आर्थिक क्रान्तिको आवाजलाई बुलन्द बनाउन आवश्यक देखिएको छ । बेलायतले १८औं दशकमा गरेको औद्योगिक क्रान्तिको सफलता अझैसम्म पनि बेलायतीहरुले लिइरहेका छन् । मुलुक आर्थिक रुपमा सम्पन्न छ । आर्थिक उदारीकरण छ । बेरोजगारीको समस्या कम छ, सामान्य आयमा पनि मानिसहरु जीवनयापन गरिरहेका छन् ।
नेपाल र नेपाली जनताले मुलुकको भौगोलिक र आर्थिक अवस्थालाई मध्यनजर गरेर उद्योग, कृषि, पर्यटन र जलविद्युतजस्ता सम्भावना बोकेका क्षेत्रमा प्राथमकिता दिई क्रान्ति ल्याउन आवश्यकता देखिएको छ । यसलाई पृष्ठपोषण गर्न सरकारले उचित नीति तथा कार्यक्रम ल्याएर यस अभियानलाई सफल बनाउन जुट्नुपर्दछ ।
दशकौंदेखि राजनीतिक भागवण्डा, खिचातानी, राजनीतिक रुपमा भौगोलिक विखण्डन, भ्रष्टाचार र बेथितीमा सरिक हुँदै आएर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउने क्रियाकलापमा सरिक र संलग्न हुने काम गरेनन् । निहीत स्वार्थका निमित्त जस्तोसुकै हतकण्डा पनि अपनाउने कारणले गर्दा संविधान, ऐन, नियम तथा सिद्धान्तकै धज्जी उडाउने काम अति–राजनीतिले गरेको छ । जब मुलुक समृद्ध बन्छ, तब सबै समृद्ध बन्छन् भन्ने सामान्य हेक्का पनि नराखी मुलुकलाई आर्थिक रुपमा बलियो र सक्षम बनाउनुको साटो आफु सक्षम र बलियो बन्नका लागि भ्रष्टाचार र बेथितीलाई नै आफ्नो अभियान बनाएका नेताहरुलाई जनताले चिन्नु आवश्यक बनिसकेको छ ।
मुलुक राजनीति र राजनीतिले सिर्जना गरेको शक्तिको चंगुलमा यसरी फसेको छ कि राजनीतिकसँग आवद्ध नभएको कुनै स्वतन्त्र व्यक्ति पनि अहिलेको राजनीतिले सिर्जना गरेको समाजबाट बहिष्कृत हुनुपर्ने हुन्छ । हरेक व्यक्ति पार्टीगत भइसकेका छन् । यसरी स्वतन्त्र व्यक्ति नभएको मुलुकमा पार्टी नेतृत्व गर्नेहरु शक्तिशाली बन्नु अस्वाभाविक होइन ।
अहिलेसम्म जति जे राजनीतिक भागवण्डा र राजनीतिक रुपमा भौगोलिक र जातीय विखण्डता सिर्जना गरिएपनि अब राजनीतिक नेतृत्व र सर्वसाधारण जनताले आर्थिक क्रान्तिको अभियान ल्याउन आवश्यक देखिसकिएको छ । माध्यमिक शिक्षा हासिल गरेपछि उत्पादन भएका र सीप हासिल गरेका जनशक्तिलाई आर्थिक रुपान्तरणमा सरिक बनाउन आवश्यक देखिएको छ । विभिन्न चरणमा कृषि क्रान्ति, औद्योगिक क्रान्ति, पर्यटन क्रान्ति तथा जलविद्युत क्रान्ति गरेर यी क्षेत्रलाई प्राथमिकतामा राख्न सकियो भने नेपालले अल्पकालीन समयमै आर्थिक समृद्धि हासिल गर्न असम्भव छैन । यसका लागि जनतामा एकजुट र एकरुपता आउन जरुरी छ । अहिलेको राजनीतिक र दलीय सोचलाई परास्त गर्न आवश्यक छ । अब यही पुराना राजनीतिक उम्मेद्वार तथा पुरातन र भ्रष्ट सोच भएका नातावाद र कृपावादबाट राजनीतिमा आएकाहरुलाई जनताले बहिष्कार गरेर मुलुकको अर्थतन्त्र र समाजलाई सुधार गर्ने तथा नीति नियमलाई पालना गर्ने जनप्रतिनिधिहरुको आवश्यकता देखिएको छ ।
निष्कर्षमा भन्नुपर्दा अब सरकारको नेतृत्व गर्नेले मुलुकको अर्थव्यवस्थालाई मध्यनजर गरी आर्थिक क्रान्ति चलाउनुपर्ने देखिन्छ । यसमा जनताले पूर्ण साथ दिनुपर्दछ । केही समयका लागि कठिनाई भएता पनि वैदेशिक आयातलाई निरुत्साहित गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लागू गर्ने र जनताले अपनाउनुपर्ने देखिएको छ । मुलुक अर्थतन्त्रको जोखिम मोडमा भएको अवस्थामा आर्थिक क्रान्ति ल्याउन सकियो भने कृषि भूमिहरु बाँझो रहँदैनन्, पर्यटकीय क्षेत्रमा ठूलो प्रगति हासिल गर्न सकिन्छ । उद्योग कलकारखाना लागि पनि नेपालको तराईका भूभाग तथा पहाडका विभिन्न भागहरु अतुलनीय छन् । हिमाली भाग पर्यटनका लागि उत्कृष्ट छ । जलवायु र भौगोलिक विविधताले पनि नेपाल स्वर्गजस्तै छ । जलविद्युतको सम्भावना हेर्ने हो भने विद्युतमात्रै बेचेर पनि मुलुक निकट भविष्यमै समृद्ध मुलुक बन्न सक्छ । तर यसका लागि नेतृत्वकर्तामा इच्छाशक्ति र नेतृत्व गर्ने क्षमता हुनुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *