एकै परिवारका तीन जनाको सामूहिक हत्या, घटनाका आरोपि सार्वजनिक

समाचार

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न आरोपी बेलका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्राहार गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या पश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका– ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलका नगरपालिका– ७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव फेला परेको थियो । आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

घटना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे घटनाको बारेमा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाई राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १२ वर्षीय भतिज सुजन बस्नेतको उनले हत्या गरेको प्रहरी आरोप छ ।

बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गई रहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका प्रहरीले जनाएको छ । खुकुरी भिरेका नरबहादुरले भाई राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगि सकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११स्०० बजेको घट्नाबारे ३र४ घण्टासम्म कसैलाई जानकारी थिएन । कसैले नदेखेको हुनाले निर्धक्क घट्ना घटाएर हिँडेका बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

मृतक र हत्या आरोपितका बाजेहरु दाजुभाइ हुन् । घरायसी बिवादले उग्ररुप लिदाँ हत्या हुन पुगेको अनुमान प्रहरीले गरेको छ । हत्या आरोपित बस्नेतले आफूलाई प्रहरीमा लगेर थुनाउछु मात्र भन्ने गरेकाले खेतीमा गएको मौका छोपि बाटो ढुकेर जंगलमा लुकेर बसि राजकुमारको हत्या गरेको बयानमा भनेका छन् ।

त्यसपछि बुहारी र भतिजलाई पनि खेतबाट लखेट्दै खोलामा लगेर हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका हत्या आरोपी बस्नेतलाई आइतबारै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *