नेपालको अर्थतन्त्र कमजोर बन्नुमा सबैभन्दा ठूलो भूमिका असमान आयात–निर्यात हो । विदेशी आयात बढ्दै जाँदा मुलुकको मुद्रा बाहिरिनु स्वाभाविक नै हो । तर यही अनुपातलाई व्यवस्थापन गर्न निर्यातलाई प्रवद्र्धन गर्न सके यस्तो गम्भीर असमानता घट्दै जाने थियो । नेपालको कुल आयात अहिले बढेर ९० प्रतिशत नाघिसकेको छ । अर्थात आयात निर्यातलाई हेर्ने हो भने नेपालको निर्यात आयातको दाँजोमा केवल ७÷८ प्रतिशत मात्र रहेको छ । मुलुकको आयात घटाउने हो भने निर्यात बढाउनै पर्छ । अर्थात निर्यात बढ्नुको संकेत मुलुकमा उत्पादन बढ्नु र बाह्य आयातलाई नेपालमा उत्पादिन वस्तु तथा सेवाले प्रतिस्थापन गर्दै लैजानु पनि हो । तर यो आर्थिक मामिलालाई सुधार गर्न नेपाली नेतृत्वले कुनै चासो देखाएको पाइँदैन ।
अर्थतन्त्रलाई सबल बनाउन मुलुकका विभिन्न आर्थिक पक्षहरुको उत्तिकै भूमिका हुन्छ । तर मुलुक आर्थिक रुपमा समृद्ध बनाउन सर्वप्रथम अर्थतन्त्र सबल र सक्षम हुनुपर्दछ । मुलुकको अर्थतन्त्र सक्षम बन्ने प्रमुख आधार मुलुकको आन्तरिक आय राम्रो हुनु, विकास खर्च राम्रो हुनु, न्यून बेरोजगारी हुनु, भ्रष्टाचार कम हुनु, हो । तर अर्थतन्त्रको प्रमुख आधार आन्तरिक आय नै कमजोर बन्दा आर्थिक समृद्धिको सपना बोक्नु मिथ्या हुन सक्छ । आन्तरिक आय आर्जन हुने वातावरण बन्दा मात्रै विकास खर्च राम्रो हुने, बेरोजगारी घट्ने हुन जान्छ । मुलुकमा उत्पादन नै नहुने र आयातमा निर्भर रहनुपर्ने अवस्थामा आन्तरिक आयको परिकल्पना गर्न सकिँदैन । यसका निम्ति मुलुकले निर्यातलाई प्रवद्र्धन गर्ने, यसका निम्ति आयातमा कडाई गर्ने, घरेलु उत्पादनलाई प्राथमिकता दिने, आन्तरिक उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने, उत्पादन अभियान लागू गर्ने इत्यादी गर्दै अगाडि बढ्नुपर्दछ ।
निर्यात प्रवद्र्धन गर्ने उद्देश्यकै लागि भनेर स्थापना गरिएका र स्थापना गर्ने लक्ष्य तोकिएका १४ वटा विशेष आर्थिक क्षेत्रको परिकल्पना पनि बालुवामा मिसिएको छ । नेपालमा निर्यातयोग्य सामाग्री निर्माण गरी निर्यात गर्ने उद्देश्यले स्थापना गरिएका यी विशेष आर्थिक क्षेत्र ‘सेज’ पनि राजनीतिक र भ्रष्टाचारको चंगुलमा परेको छ । मुलुकको आम्दानी र आर्थिक समृद्धिभन्दा पनि व्यक्तिगत लाभ हेर्दा मुलुक कमजोर बन्दै गएको स्पष्ट देख्न सकिन्छ । हालै सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित ‘सेज’ निर्माण भएर तयारी अवस्थामा रहेपनि सञ्चालनमा आउन सकेको छैन । २०७१ सालमा उद्घाटन गरिएको सेज अलपत्र अवस्थामा छ । खाद्यान्न, विभिन्न तयारी पोशाक, कृषि उत्पादन इत्यादी उत्पादन गरी निर्यात गर्ने लक्ष्य राखिएपनि बेथितीको सिकार बनेको ‘सेज’ उकासिन सकेको छैन । सर्वप्रथम आर्थिक व्यवस्थालाई खलल पार्ने यस्ता भ्रष्ट प्रवृत्तिका व्यक्तिहरुलाई कानूनी कठघरामा ल्याउन अनिवार्य देखिन्छ । यो वर्ष काभ्रेको पाँचखालमा ‘सेज’ सञ्चालनमा ल्याउने तयारी पनि गरिएको छ ।
तयारी अवस्थामा रहेको भैरहवास्थित सेजलाई कानूनी तथा अन्य बाधा अड्चनका कारण सञ्चालनमा ल्याउन नसकेको अवस्थामा अन्य क्षेत्रमा ‘सेज’ निर्माण गरी निर्यातजन्य उत्पादन गर्छु भन्दै हुटीहुटी गर्नु अर्काे मुर्खता पनि हो । हो, विशेष आर्थिक क्षेत्र नेपालको विकास र आर्थिक समृद्धिका आवश्यक हुन्छ । तर नीतिगत भ्रष्टाचार र कानूनी अवरोध सिर्जना गरी आफ्नो लाभ खोज्ने निहुँमा सञ्चालनमै आउन नदिने, पेल्ने प्रवृत्तिले उद्योगहरु खुल्न र सञ्चालनमै आउन सकेका छैनन् । यसैको फलस्वरुप नेपालको श्रमशक्ति रोजगारीको अभावमा विदेसिनु परेको छ । सर्वप्रथम अर्थतन्त्रका यस्ता धमिरालाई तत्कालै किनारा लगाउन आवश्यक देखिएको छ ।
नेपालको अर्थतन्त्र सुधारमा नेतृत्वको अरुची र बेवास्ता देखिएको छ । अर्थतन्त्रलाई सुधार ल्याउने भन्दा पनि व्यक्तिगत स्वार्थ पुरा गर्ने, भ्रष्टाचार गर्ने, आफ्ना निकटका व्यक्तिहरुको भाग पु¥याउने, नातावाद र कृपावादलाई प्रश्रय गर्ने काम राजनीतिक नेता र नेपालको नेतृत्वले गर्दै आएका छन् । नेपालमा भइरहेको गलत प्रवृत्तिका विषयमा कुनै पनि राजनीतिक दल बोलेका छैनन् । गलत र बेथितीका विषयमा केही नबोल्ने, तर राजनीतिक मामिलामा झैझगडा गरेर जनतालाई घुनमा पिसाउने काम नेतृत्वले गर्दै आएको छ । असल नेतृत्वको चरित्र भनेको जनता र मुलुकका लागि काम गर्ने हो । मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थामा दिशानिर्देश गर्ने, मुलुकको दीर्घकालीन नीति र योजनालाई कार्यान्वयन गराउने र एउटा नैतिक जिम्मेवारी लिने काम नेतृत्वको हो । आफ्नो स्वार्थका निम्ति मुलुक भाँडमा जाओस् भन्ने प्रवृत्ति र अविवेक नेताहरुमा बढ्दै गएको छ । मुलुकलाई समृद्ध होइन, आफु समृद्ध बन्न तछाडमछाड हुने गरेको छ । अहिले भइरहेको राजनीतिक व्यवस्था, संसदीय निर्वाचन प्रणालीमा पनि त्यही प्रवृत्ति देखिएको छ । मुलुक लुट्नका लागि निर्वाचन जित्ने होडबाजी चलेको छ । निर्वाचन जित्न ठूलो धन खर्च गर्न तयारी अवस्थामा छन् दलीय उम्मेद्वार ।
अबको बाटो अब निर्वाचित सरकारले नेपालको अर्थतन्त्रलाई मागदर्शन गर्ने हो । मुलुकले सर्वप्रथम खोजेको र प्राथमिकतामा राख्नुपर्ने क्षेत्र वा पक्ष भनेकै नेपाली उत्पादन निर्यात गर्नु हो । यसो हुन सकेमा आयातको आकार घट्दै जाने र निर्यात बढ्दै गई विदेशी मुद्रा आर्जन गर्न सकिने हुन्छ । यसले मुलुकको आन्तरिक आयमा ठूलो टेवा पु¥याउँछ । त्यसैकारण मुलुकको योजनामा रहेका सेजहरुलाई तत्काल कार्यान्वयनमा ल्याउने, उत्पादनमुखी योजनाहरु लागू गर्ने तथा मुलुकका उत्पादन र पेशालाई प्रोत्साहन गर्ने, नेपाली श्रमशक्तिलाई नेपालमै श्रम गर्ने वातावरण सिर्जना गर्ने दायित्व नेतृत्वले लिई तत्काल कार्यान्वयनमा ल्याउनुपर्दछ ।