विकल्पहीन जनता, दलका पुरानै अनुहार

समाचार

संसदीय व्यवस्थामा जननिर्वाचित व्यक्तिहरूले मुलुकको कानुन निर्माण गर्ने, विधिको शासन लागू गर्ने तथा मुलुकलाई जनअपेक्षा अनुसार मार्गदर्शन गर्ने अभिभारा बोकेका हुन्छन् । राजनीतिक अस्थिरतालाई निकास दिँदै मुलुक र मुलुकका जनताका लागि काम गर्ने जनप्रतिनिधि जनताले चाहे अनुसार पाउन सकेनन् भने त्योभन्दा बढी विडम्बना केही हुन सक्दैन । यो सरासर जनतामाथि धोका र जनचाहना माथिको कुठाराघात हो ।
दलीय व्यवस्था संसदीय प्रणालीको सुन्दर पक्ष हो । तर जब यही दलीय व्यवस्थामा जनताले रोजेका भन्दा पैसा, नाता र कृपाको भरमा उम्मेद्वार खडा गरेर जनतालाई विकल्पहीन बनाइनु दलीय व्यवस्थाकै सबैभन्दा खराब र नकारात्मक पक्ष हो । केही सीमित व्यक्तिले नेपालको सुन्दर संसदीय व्यवस्थामाथि व्यक्तिवाद हावी गरेर नेपालको संसदीय र दलीय व्यवस्थालाई मुठ्ठीमा राखेका छन् । यसमा नेपाली जनता निरीह भएका छन् ।
संसदीय प्रणालीको सुन्दर पक्षलाई नेपाली जनताले सहजै स्वीकार गरेका छन् । तर सीमित व्यक्तिमा शक्ति केन्द्रित हुन जाँदा दलीय व्यवस्था स्वच्छ बन्न नसक्नु, जनताले विकल्प पाउन नसक्ने परिपाटी लामो समयकै इतिहास नै हो । अब जनताले यो परिपाटीलाई चुनौती दिनैपर्ने हुन्छ ।
राजनीतिक स्वार्थका लागि दलीय व्यवस्थाको गलत व्याख्या र प्रयोग गर्दै संसदीय व्यवस्थालाई नै दखल र भताभुंग पारि वर्णसंकर तंत्र लागू गरिएको छ । पैसा र शक्तिको दुरुपयोग गर्दै दलीय व्यवस्थालाई व्यक्तिवादी व्यवस्थामा परिवर्तन गरिएको छ । अहिले संसदीय व्यवस्थाको नाममा भइराखेको वर्णसंकर तंत्रले जनताको लागि होइन स्वार्थ केन्द्रित राजनीति र राजनीति गर्नेहरुका लागि फाइदा पु¥याइरहेको छ । कानूनतः पूर्ण र सही पालना गर्न सके विश्वकै उत्कृष्ट रहेको नेपालको मिश्रित निर्वाचन प्रणाली नेपालको भ्रष्टतन्त्रले विश्वमा नजीर नै नभएको विकृत निर्वाचन प्रणालीमा परिवर्तित भइसकेको छ । यो त केवल नेतावाद, नातावाद, कृपावाद, पैसावाद र आफन्तवादलाई प्रोत्साहन गर्ने गणतान्त्रिक व्यवस्था मान्न सकिन्छ, जुन नेपालका लागि अफापसिद्ध भइसकेको छ ।
नेपालको राजनीतिक व्यवस्थालाई अगाडि बढाउने, मुलुक सञ्चालन गर्ने र मुलुकको नेतृत्वलाई नियमन गर्दै मागर्देशन गर्ने तथा जगाइराख्ने नेपालको संसदीय व्यवस्थामा त्यही पुराना काम गर्न नसकेका, नेताहरुद्धारा मनोनित, पैसाबाट उम्मेद्वारको टिकट खरिद गरेका र जनताका लागि काम गर्नभन्दा पनि आर्थिक लाभ आर्जन गर्न उम्मेद्वार बन्नेको घुइँचो छ । हो, दलीय व्यवस्थाले यस्तै उम्मेद्वारहरु निर्वाचनका लागि मनोनित गरिरहेको छ । नेपालको मिश्रित निर्वाचन प्रणाली नेपाली जनताका लागि लाभदायक बन्न सकेको छैन । नेताको खल्तीबाट प्रत्यक्ष तथा समानुपातिक टिकट पाएर लड्नेहरु श्रम तथा वैज्ञानिक वर्गहरु छैनन् । केवल पैसा र निकटताको भरमा टिकट पाउनेहरुको जमात् ठूलो छ ।
दलीय व्यवस्थाले यस्तै उम्मेद्वार खडा गर्दा जनताले विश्वास गर्न सकेका छैनन् । तर जनतासँग यसको विकल्प पनि छैन । पार्टीहरुले उही प्रकारका उम्मेद्वारहरु खडा गर्दा विश्वसनीयता रहने सम्भावना पनि छैन । प्रत्यक्षतर्फ त कमसेकम जनताले बुझ्ने मौका पाएका हुन्छन् । तर सबै वर्ग, तहतप्का र समुदायको शासन व्यवस्थामा सहभागिता गराउने भनेर गरिएको समानुपातिक व्यवस्थामा पनि व्यवसायी, नेताका श्रीमती, प्रत्यक्ष निर्वाचनमा जित्न नसक्नेहरु, आफन्त, चाकडीबाजहरुले प्रश्रय पाउँदै आएका छन् । यो गलत व्यवस्थालाई परिवर्तन गर्नका लागि जनताले राम्रा उम्मेद्वार तथा उपयुक्र्त स्वतन्त्र उम्मेद्वारलाई विजयी गराई नजीर बनाउन आवश्यक देखिन्छ । यसले पछिल्लो पुस्ता र राजनीतिकर्मीलाई राम्रो सन्देश जान सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *