काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (शनिबार) बाट दशैं लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलितय पसल सञ्चालन हुनेछ । आजदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।
थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकबाट खाद्यान्न बिक्री हुने खाद्य व्यापार कम्पनीका बजार प्रमुख भीम थापाले जानकारी दिए । व्यापार कम्पनीका अनुसार दशैंलक्षित सहुलियत पसल उपत्यका बाहिर ३८ जिल्लाका ४१ केन्द्रबाट बजार सञ्चालनमा आउने भएको छ ।
थापाका अनुसार सबै प्रकारका चामल तथा दालमा प्रतिकेजी सात रुपैयाँ छुट दिइने भएको छ । त्यस्तै, विभिन्न प्रकारको तेल र अन्य खाद्य वस्तुहरू चिउरा, पिठोमा सात रुपैयाँ छुट दिइनेछ । खसी(बोकाको बिक्री घटस्थापनापछि राखिने भएको छ । थापाका अनुसार खसी र बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने भएको छ ।
६ करोड ४० लाखको खसी र च्यांग्रा ल्याइने
यसपटको दशैं(तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्यांग्रा ल्याएको थियो । कोभिड(१९ का कारण अघिल्लो वर्ष प्रभावित भए पनि यस पटक बढी खपत हुने अनुमान खाद्य व्यापार कम्पनीको रहेको छ ।