ananta gurung

दलका नेताहरुको फोस्रा संकल्पहरु

समाचार

बुढापाकाहरुले युवाहरुलाई गरेर देखाउनु तर भनेर नसुनाउनु भनी उपदेश दिने गरेका छन । त्यस्तै बंग्रा दुखाउनु भन्दा नंग्रा दुखाउनु बेश पनि भन्ने गरेका छन । कतीले बुठापाकाहरुको यो भनाईलाई मनन गरी अभ्यास गर्नाले जीवनमा सफलता पाएका छन भने वेवास्ता गर्नेहरु असफल भएर पछाडि परेका पनि छन । नेपालको राजनीतिमा पनि लगातार यस्तै हुँदै आएको देखिन्छ । चुनावको बेला दलका नेताहरु लिखितमा नै ठुला ठुला बिकासका काम गरी देखाउने अनेक संकल्पहरु गरेका हुन्छन तर व्यवहारमा सोसंकल्पहरु अनुसार कुनै काम भएको छैन । अहिले पनि नेपालमा आउँदो मंसिर ४ गते २०७९ मा संघिय संसद र प्रदेश संसदहरुको चुनाव हुन गईरहेको छ । उक्त चुनावबाट ७ प्रदेशका ५५० साँसदहरु र केन्द्रका २७५ साँसदहरु चुनिने छन । उक्त चुनावी भिडन्तमा सय भन्दा बढी दलहरु मैदानमा उत्रिने भएता पनि खासमा केही राष्ट्रिय दलहरु जस्तो नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, समाजवादी राष्ट्रिय दलहरुका बिचमा नै मुख्या चुनावी प्रतिश्प्रधा हुनेछन् । तर यसपालि हुन गईरहेको उक्त चुनावमा स्वतन्त्र उम्मेद्वारहरु पनि प्रशस्तै देखा परेका छन् ।
गत जेष्ठ ४ गते , २०७९ सालमा सम्पन्न भएको स्थानिय तहको चुनावमा केही स्वतन्त्र उम्मेद्वारहरुले दलका उम्मेद्वारहरुलाई हराईदिएका थिए । खासगरी काठमाण्डौ महानगरकापालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन साहको जित र धरानको मेयर पदमा हर्क साम्पाङको जितले संसार भर ठुलो चर्चा पाएको छ । दलहरुले गरेको जस्तो अनेक फोस्रा संकल्पहरु उहाँहरुले गरेका थिएनन् तर जे जस्तो संकल्प उहाँहरुले चुनावको मुखमा गरेका थिए त्यो सबै पदभार ग्रहण गरेको सय दिन भित्रै भटाभट गरी देखाएका छन् । यसको ठिक बिपरित दलका नेताहरुले गरेका फोस्रा संकल्पहरुका कागजको चाङहरुले पालिकाहरुको कागजका फोहरमैला मात्रै बढाएका छन । दलका नेताहरुका फोस्रा संकल्पहरुले भरिएका प्रतिबद्धतापत्रहरु पढीपढी धेरै नेपाली जनताका आँखाहरु थाकीसकेका छन भने दलका नेताहरुको फोस्रा संकल्पहरुलेयुक्त भाषणहरु सुन्दा सुन्दा अनेक नेपाली जनताका कान पाकी सकेका छन । नेपालमा बहुदल आउँदा जन्मेकाहरु पनि अहिले पट्ठा जवान बनीसकेका छन तर उहाँहरुले दलका नेताहरुले आफ्नो प्रतिबद्धता पत्रमा लेखेका संकल्पहरु र भाषणमा बोलेका बिकासका संकल्पहरु देख्न र भेट्टाउन सकीरहेका छैनन् । त्यसैले तिनै युवा पुस्ताहरुले आज आएर दलको विकल्प खोज्न थालेका छन ।
पुरानो पुस्ताले दलका नेताहरुको फोस्रा संकल्पहरुको पछाडि लागेर आफ्नो महत्वपूर्ण जीवनकाल त्यसै गुमाएका छन । त्यहि देखेर नयाँ पुस्ताले दलहरुको नै विकल्प खोज्दै र रोज्दैछन । दलहरुका फोस्रा संकल्पहरुको पछाडि लागेर जुन गल्ती पुरानो पुस्ताले गरेको थियो त्यसको दुष्प्रभावको सिकार नयाँ पुस्ता बन्दै जाँदा नयाँ पुस्तो पिरलो बढेको हो । संसारले गरेको प्रगति देखि भोगी सकेका नेपालको नयाँ पुस्ताले अब नेपालको पुरानो पुस्ताले गरेको गल्ती फेरि दोहर्याउने छैन । चुनावी दोगलाको रुपमा दलहरुले पस्केका फोस्रा संकल्पहरुले मात्रै अबका नेपाली युवा पुस्ता सन्तुष्ट भएर दलहरुलाई भोट हाल्ने छैन । अहिलेका नेपाली युवा पुस्ता पुरानो नेपाली पुस्ता जस्तो एकछाक मासुभात र केही नगदमा बिकेर दलहरुलाई सित्तैमा चुनाव जिताउनेमा पर्दैन ।
आगामी मंसिर ४ गते २०७९ सालको आम चुनावको लागि पनि दलका नेताहरुले ठेलीका ठेली फोस्रा संकल्पहरुले भरीएका प्रतिनद्धतापत्रहरु प्रकाशित गरी बाँड्दै हिडेका छन । नेपाली युवापुस्ताले भने त्यसको ठिक बिपरित तरिकाले उक्त आउँदै गरेको चुनावमा स्वतन्त्र उम्मेद्वारहरु उठाएर दलका नेताहरुको मनोमानी तोड्ने तयारीमा जुटेका छन । दलका नेताहरुमा उही पुरानै अनुहारहरु छन जसलाई हेर्दा हेर्दा नेपाली जनताको आँखाहरु थमिलो भईसकेका छन भने जसको भाषणहरु सुन्दा सुन्दा कानहरु पाकी सकेका छन । दलका नेताहरुको अनुहार देख्दैमा नेपाली जनतालाई वाकवाक लाग्ने भईसकेको छ । तिनै नेताहरुको अनुहारलाई देखाएर आउँदो संसिर ४ गतेको चुनाव सहजै र सजिलै तरिकाले जित्ने योजनाका साथ अगाडि दलहरु बढेका छन । नयाँ राजनीतिक नाराहरु र फोस्रा संकल्पहरुले भरिएका प्रतिबद्धता पत्रहरु दलका नेताहरुको परम्परा अनुसार प्रकाशित गरी एकपल्ट फेरि नेपाली जनताको दिल र दिमाग भुटेर भ्रममा पारी भोट लुटने प्रयास गर्दैछन । तर यो पटक नेपालको राजनीतिक अबस्था फरक बन्दै गएको हुँदा सितिमिति नेपाली जनतालाई भ्रममा पार्न सक्ने छैन किनकि पुरानो पुस्ताको ठाउँमा अब नयाँ पुस्ताले नेतृत्व ग्रहण गर्ने अभियान सुरुभईसकेको छ । गत तीन दशक सम्म नेपाली जनताले दलहरुको भनाईमा लागेर आफ्नो बहुमुल्य समय गुमाएर मूर्ख बनेका छन् ।
अब नेपाली जनता दलहरुले फैलाएको भ्रमको पछाडि लागेर थप मूर्ख बन्न तयार छैनन् । दलहरुकै विकल्प खोज्ने र आफुबाट बिगतमा भएगरेका राजनीतिक गल्तीहरुलाई सच्याउने तिर नेपाली जनताको ध्यान मोडिएका छन । दलहरुले राजतन्त्रलाई फलेर ल्याएको बहुदलिय व्यवस्थाले दलका नेताहरुको अवस्था बदलिए पनि नेपाली जनताको अवस्था भने झनझन नाजुक बन्दै गयो । अहिले आएर नेपाली जनताको सामु कुनै राजनीतिक विकल्पहरु वचेको छैन । नेपालको राजनीतिमा एकातिर भिर र अर्को तिर खाल्डो निस्कीसकेको छ । दलका नेताहरुले नेपालको बिकास गर्ने नाममा बिदेशी सित ऋण काढी काढी राष्ट्रलाई बिदेशीको २२ खरब ऋणमा डुबाईसकेका छन । नेपालको राजनीतिमा मह काढ्ने र हात चाट्ने तिनै गिनेचुनेका नेताहरु छन जो पालैपालो राजनीतिक चलेखेल गरी सत्तामा पुग्छन अनि आपसमा भागबण्डा गरी आपसी मिलोमतोमा नै राष्ट्रलाई लुट्नु लुट्छन । तिनै लोभीपापी दलका नेताहरु कै कारण नेपाल राष्ट्र पनि महाआर्थिक संकट तिर अग्रसर हुँदै गएको छ । दलका नेताहरुको आपसी स्वार्थहरु र भागबण्डा मिलाउने राजनीतिक चलखेलले गर्दा नेपाली जनतालाई संघारमा नै आईपुगेको महाआर्थिक संकटबाट बचाउने तयारीमा प्रयाप्त राजनीतिक ध्यान पुगेको छैन ।
दलका नेताहरुले बनाएको संविधान र सोअनुसार बनेको नेपालको शासकिय संरचनाहरुलाई सञ्चालन गर्न नेपालको राष्ट्रिय आम्दानीले नपुग्ने हुँदा दलका नेताहरु राष्ट्रको र नेपाली जनताको हितलाई नहेरी आफ्नो सत्ता टिकाउने हिसाबले अन्धाधुन्द रुपले बिदेशी सित ऋण काढेको काढेकै छन । बिदेशीले पनि नेपालको राजनीति र बिकासमा आफ्नो पकड र प्रभाव कायम राख्नको निमिक्त ऋण पत्याएको पत्याएकै छन । दलका नेताहरुले बिदेशी सित ऋण काढेको पैसा केही बिकास कार्यमा लगाएको नाटक मञ्चन गर्छन अनि ऋणको ठुलो भाग दलका नेताहरुले आफ्नै यसआरामका लगि प्रयोग गर्दछन । नेपालमा दलहरुले तीन दशक देखि यस्तै चलन चलाउँदै र बसाउँदै आएको हुनाले नेपालको बिकास नभएर बिनास भएको हो । नेपाली युवा पुस्ताले दलहरुको यो राजनैतिक चलखेल बुझीसकेको हुँदा दलहरुको प्रतिकार गर्न स्वतन्त्र उम्मेद्वारहरुको अभियानलाई परिचालन गरेका छन । यो अभियान सानो भएता पनि यसको सुरुवातले भविष्यमा हुनसक्ने ठुलो राजनीतिक घटनाको शंकेत दिएको छ ।
दलहरुको मनोमानी र भागबण्डाको राजनीतिलाई पूर्णबिराम दिनै पर्छ भन्ने अठोटका साथ सुरु भएको यो अभियानले राजनीतिक ठगहरुलाई सत्ताबाट निकालेर फाली नेपाल राष्ट्र र नेपाली जनताको हितमा काम गर्नेहरुलाई नेपालको राजनीतिमा स्थापित गर्न सक्ने नेपाल राष्ट्रको उज्यालो भविष्य तर्फ इङ्गित गरेको देखिन्छ । दलहरु रुपमा राजनीतिक देखिएपनि सारमा अपराधीक नै छन । यो कुनै हावा वा मनगढ्न्ते कुरा मात्रै होईन । मंसिर ४ गते हुने चुनावको लागि दलहरुले सिफारिस गरेका उम्मेद्वारहरलाई केलाएर हेरीसकेपछि यो दावी स्वयम शिद्ध हुन्छ । ईटा भट्टीमा जीउँदै मान्छेलाई हालेर जलाएका देखि लिएर गुण्डाको नाईके सम्म दलहरुले साँसदको उम्मेद्वारको लागि सिफारिस यबम छनौट गरेका छन । राजनीतिलाई अपराधीकरण गर्दै अपराधकै मार्गबाट सत्तामा आएका राजनीतिक दलहरुकै वर्चस्व नेपालको राजनीतिमा कायम भएको छ । यास्ता अपराधिक पृष्ठभूमिबाट आएका राजनीतिक दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको हितमा काम गरेको छैन । दलहरुबाट नेपालका अपराधीहरुलाई फाईदा नै फाईदा हुँदै आएको छ भने नेपाली जनता लगातार पीडित बनेको बनेकै छन । नेपाली जनताको हैषियत एक छाक मासुभात र केही चन्द पैसामा किन्न खोज्ने दलहरुले गर्दा नै आज नेपालको राजनीति कुरुप भएको हो ।
तसर्थ नेपालका सबै राजनीतिक दलहरु रुपमा राजनीतिक दल भए पनि सारमा राजनीतिक ठग नै भन्दा हुन्छ । तिनै राजनीतिक ठगहरु पुरानै बदनाम नेताहरुको अगुवाईमा नेपाली जनताले चुनावमा जिताएमा यो गर्छौ वा त्यो गर्छौ भनी झुटमुटको राजनीतिक एजेण्डा लिएर आएका छन । उहाँहरुको त्यो प्रतिज्ञा वा संकल्पमा कुनै दम छैन किनकि दलहरुका नेतृत्व पुरानै छन र सबै नेताहरुको पाईन के कती छन भन्ने कुरा नेपाली जनताले तीन दशक देखि देख्दै भोग्दै आएका छन । उहाँहरुको प्राथमिकतामा लोकतन्त्र र संविधानको रक्षा परेका छन् तर नेपाल राष्ट्र र नेपाली जनताको रक्षा दलहरुको प्राथमिकता कहिले परेको छैन । राष्ट्रै नै नरहेमा दलहरुको लोकतन्त्र र संविधानको अवस्था के होला उहाँहरुले कल्पना सम्म पनि गरेका छैनन् । तसर्थ नेपाली जनताले अब दलहरुले फैलाएको भ्रमका पछाडि लाग्नु जरुरी छैन । नेपाली जनता अब स्वतन्त्र युवा उम्मेद्वारहरुको पछाडि लाग्नु पर्छ बुढाखाडा दलका नेताहरुलाई चुनावमा हराएर हामी नेपाली सार्वभौम जनता हौ भनी पुष्टी दिनु पर्छ । दलका नेताहरुको फोस्रा संकल्पहरुलाई लात हान्दै यथार्थ वैज्ञानिक सत्यतथ्य अनुसार राजनीति गर्न चुनावी मैदानमा उत्रिएक राजनीतिका स्वतन्त्र खेलाडीहरुलाई जिताउन एकजुटता देखाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *