विजयी हुनेमा ढुक्क छु : अर्जुननरसिंह केसी

राजनीति समाचार

काठमाडौँ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।

बेलकोटगढी नगरपालिकास्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार नरहेको जिकिर गर्दै यस्तो बताएका हुन् । “नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्छ । हामी निर्वाचन जित्छौँ । यहाँ गठबन्धनको उम्मेदवारले जित्छन् । कुनै किसिमको शङ्का गर्नुपर्दैन”, नेता केसीले भन्नुभयो, “गठबन्धनको विरुद्धमा फैलने गलत भ्रमलाई चिर्दै वास्तविकतालाई जनस्तरसम्म पु¥याउनुपर्छ ।”

उनले सबै मतदाताको माझमा गठबन्धनका उम्मेदवार पुग्न नसेको खण्डमा आफूलाई आधिकारिक प्रतिनिधि सम्झेर गठबन्धनका उम्मेदवारको पक्षमा मत खस्ने वातावरण बनाउन सत्ता गठबन्धन पार्टीका सक्रिय कार्यकर्तासमक्ष आग्रह गरे ।

साथै उहाँले नेपालको संविधान २०७२ को रक्षाका लागि र नेपाली जनताको हक र अधिकारको सुरक्षाका लागि राजनीतिक दलहरुबीच गठबन्धन गरी चुनावी माहोलमा होमिएको बताए । देशको संविधानलाई सुरक्षित गर्दै समृद्धि र विकासको गतिलाई अगाडि बढाउनका लागि दलहरूबीच गठबन्धन भएको उनको भनाइ छ । “लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । व्यक्तिव्यक्ति बीचमा भएको अस्वस्थ प्रतिस्पर्धालाई बिर्सेर सबै कांग्रेसी एक ठाउँमा आउनु आवश्यक छ । माओवादी केन्द्रमा पनि त्यस्तो व्यक्तिगत असन्तुष्टि छ भने बिर्सिएर एकजुट हुन आग्रह गर्दछु”, उनले भने, “परिस्थितिजन्य आवश्यकताका आधारमा राजनीतिक दलहरूबीच चुनावी गठबन्धन भएकाले यसलाई सार्थकता दिनु आजको आवश्यकता हो ।”

आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी पालिकास्तरको बैठकमा वाम लोकतान्त्रिक गठबन्धन दल व्यस्त रहेको छ । गठबन्धन दलले सोमबार नुवाकोट क्षेत्र नं १ अन्तर्गतको लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा बैठक सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *