जनताको समस्या बुझ्दै साँखुवासीबीच कुन्ती पोख्रेल

राजनीति समाचार

काठमाडौं । धार्मिक नगरी शंखरापुर नगरपालिकाको साँखुबजार पुग्दा कुन्तीदेवी पोख्रेलका सहयोगीहरु स्थानीयका घरदैलोबीच चुनावी अभियानमा जुटिरहेका देखिन्थे । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी कुन्ती पोख्रेल ‘हलो’ चिन्ह देखाउँदै स्थानीयसँग भोट मागिरहेकी थिइन् ।

समाजसेवामार्फत नेपाली महिलाको क्षेत्रमा लामो समय योगदान गर्दै आएकी पोख्रेल पटक–पटक चुनाव जितेर काम नगर्ने र क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्ने भन्दै चुनावी मैदानमा उत्रिएकी छिन् । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेतालाई विस्थापित गर्नुपर्ने दावीसहित मतदाताबीच पुगेकी उनले यस पटक आफूलाई सेवा गर्ने मौका दिन आग्रह गरिरहेकी थिइन् ।

निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनाव जितेर सत्तामा पुगेकाहरुको ढंग हेरियो, उनीहरुले यस क्षेत्रमा जनताको चाहना अनुसार काम गर्न सकेनन् । अब मत परिवर्तन गरौं, नयाँ पुस्तालाई एक पटक मौका दिएर हेरौं भन्ने आममतदाताको मनसाय मैले बुझेकी छु’, तामाकोशी सन्देससँग पोख्रेलले भनिन् । आफूले जिते पनि हारे पनि यस क्षेत्रको विकास निर्माण र जनताको सुखदुःखमा सधैं हातेमालो गरिरहने उनको जिकिर छ ।
‘राजनीति भनेको पेशा होइन, समाजसेवा हो ।

समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर सक्रिय रहने छु,’ पोख्रेलले भनिन् । ‘राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति निरतर आवाज उठाइरहनेछु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लडिरहने छु । देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्टघातविरुद्ध सडकदेखि सदनसम्म आवाज उठान लागिपर्ने छु,’ उनले प्रतिवद्धता व्यक्त गरिन् ।

चुनावका बेला मीठामीठा सपना देखाउने जितिकेपछि बिर्सिने प्रवृत्तिले यो क्षेत्र ओझेलमा परेको स्मरण गर्दै नागरिकहरुले सचेत भएर मतदान गर्ने विश्वास व्यक्त गरिन् । ‘पहिलाको तुलनामा अहिले मतदाता सचेत हुनुहुन्छ, भोट दिँदा विवेक प्रयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै पोख्रेल भन्छिन्, ‘सत्ताको आडमा आउने उम्मेदवारले जति प्रभावित पार्न खोजे पनि जनताले विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क छु ।’ उनले यस क्षेत्रको दीगो विकास र युवा पुस्ताको भविष्यको निम्ति आफू राजनीतिमा आएको बताइन् ।

राजनीतिमा त्याग, इमानदारिता र सेवाभाव हुनुपर्छ, त्यो म गरेर देखाउने छु । यो देशको राजनीतिक वितृष्णाले युवा पुस्ताको आशा मारिसकेको छ, त्यसरी आशा मरेर विदेसिन वाध्य युवा शक्तिलाई स्वदेशमै स्वरोजगारयुक्त र उद्यमी बनाउन म राजनीतिमा आएकी हुँ,’ पोख्रेलले भनिन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *