२०७९ का मूख्य चाडवाडहरु सकिएका छन्् । दशैं, तिहार, नेपाल सम्वत् र छठ धुमधाम मनाइयो । सामाजिक सञ्जाल, पत्र पत्रिका, रेडियो लगायत भौतिक रुपमा पनि शुभकामनाको ओइरो लगाइयो । यी शुभकामनामा प्रयोग भएका शव्दावली घोत्लीएर हेर्ने हो भने हाम्रो मौलिक परम्परालाई खुम्च्याएको पाइन्छ ।
शुभकामना आदान प्रदान गर्दा अधिकांशले विजया दशमी र शुभ दिपावली भन्ने शव्दावली लेखिएको भेटिन्छ । विजया दशमी भनेको दशैंको दशमी तिथीलाई मात्र सम्वोधन गर्दछ । अर्थात दशैंमा मान्यजनबाट टिका लगाउने दिन । दशैं भनेकै त्यही दिन मात्र भनेको जस्तो भयो । यस हिसावले हेर्ने हो भने त दिनै पिच्छेको शुभकामना दिनु पर्ने भयो । मूख्य गरी सप्तमी अर्थात फूलपातीको दिन, अष्टमी दिन महाअष्टमी अनी नवमीको दिन महानवमी भन्नु पर्ने हो । हामीले विशेष कार्यक्रम आयोजना गरि दिएको शुभकामना टिकाको दिनको लागि मात्र पक्कै होइन होला ।
हाम्रो चाड ‘दशैं’ भनेको ‘प्याकेज’ हो । अर्थात घटस्थापना देखि पूर्णिमा सम्म । जमरा राखे देखि सेलाउने सम्मको अवधीसम्म अवधीलाई वडा दशैं पनि भन्ने गरिन्छ ।
त्यस्तै तिहार पनि अर्को प्याकेज हो । जुन काग पूजा गर्ने दिन देखि भाई पूजा गर्ने सम्म हो । जसलाइ यमपञ्चक पनि भन्ने गरिन्छ । हाम्रो शुभकामना आदान प्रदान कार्यक्रममा भनिने वा लेखिने गरेको शुभदिपावली भनेको त एक दिन मात्र हो । जुन लक्ष्मी पूजाको दिन अर्थात औंशिको वेलुका दिपावली गर्ने गरिन्छ ।
हाम्रा चाडवाड मनाउने परम्परागत चलन भन्दा वाहिर तिर गइरहेको भान हुन्छ । त्यो कुरा दशैं तिहार मात्र हैन अन्य कुरामा पनि त्यो भान हुने गर्दछ । हामी सानो हुँदा राखी भन्ने चलन नैं सुनिदैनथ्यो । अहिलेको जसरी जन्म दिन मनाउने वा त्यो दिन केक काट्ने पनि चलन हाम्रो होइन । अष्टचिरञ्जीवि पूजा गर्ने चलन भने थियो ।
अझै केही चर्चा गरौं दशैं तिहार कैं । यी चाड मनाउने नेपाल भित्रै पनि समुदाय अनुसार फरक फरक तरिका रहेको थियो । अहिले सवै एकै हो कि भन्ने जस्तो पनि लागि रहेको छ ।
नेवार समुदायले दशैंमा ‘मोहनी’ मनाउने चलन छ । अष्टमीको रातीवाट दियो वालिन्छ जुन दशमी दिन विहानसम्म निरन्तर वालिरहनु पर्दछ । त्यो दियोको माथि धुवाँ वा वत्तिको ध्वाँसो जम्मा हुन्छ त्यसको टिको लगाउने चलन छ । कालो टिको लगाउने पनि भन्ने चलन छ ।
क्षेत्री व्राम्हणले सप्तमीमा फूलपाती अनी अष्टमी नवमीमाा मार हान्ने र दशमीको दिन अक्षेतालाई रातो पारीे टिका लगाउने चलन छ ।
तराई तिर दशमीको दिनमा दुर्गा पूजा गर्ने चलन छ । कतैं रामले रावण मारेको दिनको रुपमा पनि लिने गरिन्छ । राई लिम्वु, मगरहरुले यो चाड मनाउने तरिका फरक नैं होला । तामाङहरुले सेतो चामलको टिका लगाउने चलन छ । चामलमा अविर मिसाउने गरिंदैन ।
त्यस्तै तिहार मनाउने चलन पनि फरक फरक रहेको पाइन्छ । क्षेत्री व्राम्हण विशेष गरी पहाडी क्षेत्र तिरकाले काग पुजा कुकुर पूजा, गाई अनी लक्ष्मी पूजा, गोवर्धन पुजा र भाइ टिका भनेर पाँच दिन मनाउने चलन छ । नेवार समुदायले ‘म्ह’ पूजा गर्ने चलन छ ।
दशैं र तिहारमा कुन दिन कस्ले के मनाउला भिन्नै कुरा हो तर त्यो दुई चाड भनेको प्याकेज हो । त्यसैले हामीले शुभकामना आदान प्रदान गर्दा वडा दशैं र तिहारको शुभकामना भन्नु ठिक हुन्छ ।
अव केही बेर दशैं र तिहारका नाममा हामीमा आएका अल्छीपनको चर्चा गरौं । हुनत वर्ष दिन भरीको कमाई यी चाड मनाउनमा खर्च गर्ने चलन पनि राम्रो होइन । देखासेखीमा खर्च गर्दा ऋणमा डुव्नु परेको अनेकौं उदाहरण छ । यसता चाडवाट सामान्य रुपमा लिने र मनाउने चलन राख्नु नैं सान्दर्भिक हुन्छ । साउन १ गते र माघ १ गते मनाउने पनि हाम्रा चाड हुन् । ती चाडमा धेर खर्च गरेर ऋणमा डुव्यो भनेको सुनिन्न तर दशै तिहारमा मात्र सुनिन्छ । यी चाडलाई असाध्यै धेरै वा अनावश्यक महत्व दियौं कि ? दशैं र तिहारलाई पनि सामान्य रुपम लिनु पर्दछ ।
दशैं आउने १०, १५ दिन अगाडी देखि नैं हामीले गर्ने काम प्रति वाहाना खोज्ने गर्दछौं । दशैं पछि गरौंला नी भन्ने अनी थाती राख्ने गर्दछौं । दशैं सकिन्छ अनी फेरी अर्को वाहान झिक्छौ. अव तिहार आईहाल्छ त्यस पछि गरौंला भन्ने गर्दछौं । हामीले सम्पादन गर्ने काम दशैं तिहारका नाममा १ महिना जती थकल्ने गरेको पाइन्छ । सवै भन्दा काम हुने समय नैं यहि हो । यस समयमा न पानी धेरै पर्दछ न गर्मी न जाडो उपयूक्त समय नैं यहि हो तर चाडवाडको नाममा एक महिना त्यती कै विताउने गरेका छौं । यसले हाम्रो विकासमा असजिलो परेको छ भन्दा अनुपयूक्त पक्कै हुन्न ।
चाडवाड हाम्रो काम नगर्ने वाहानामा परिणत हुँदैछन्् । चाडवाड केन्द्रीत भएर धेरै काम गर्नु पर्ने तर यसको वाहानमा हामीले गर्नै पर्ने काम पनि पछि सार्दै गएका छौं । यो हुनुको कारण दशै तिहारलाई आवश्यकता भन्दा वढि महत्व दिएर हो । त्यसैले यस्ता चाडवाडलाई सामान्य रुपम लिनु पर्दछ । सवै चाडको महत्व छ । साउने संक्रान्ती वा माघे संक्रान्तीको पनि उत्तीकै महत्व छ । ती चाड पनि राम्रैसँग मानाइरहेका छौं । अनी दशै तिहारलाई चाँही अनावश्यक रुपमा धेरै महत्व दिएर अनावश्यक भार पर्ने गरी खर्च गर्ने र काम पनि छल्ने परम्परा वसाल्दै छौं । यसका वारेमा सचेत भई वहस चलाउनु पर्ने भएको छ । हाम्रा चाडवाड ऋण वोकाउने दिन र काम नगर्ने वाहाना वनाउने उपाय नहोस् । दशैं र तिहार हाम्रा मौलिक चाडवाड हुन् । मर्म भाँच्चीने गरी नखुम्च्याउँ, सामान्य र सहज रुपमा लिउँ । वोझ रुपमा नमनाउँ । मौलिकता कायम राख्दै समृद्धि वढाउने काममा यी चाडवाडलाई सदुपयोग गर्न सकौं ।