काठमाडौं २ मा कुन्तीको क्रेजले प्रतिस्पर्धीहरु हायलकायल

राजनीति समाचार

काठमाडौं । आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन १० दिन बाँकी छ । उम्मेदवारहरु न्वारनदेखिको बल निकालेर आफ्नो चुनावी क्षेत्रका मतदातासमक्ष घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त देखिन्छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचारप्रसारलाई फरक शैलीमा आक्रामक ढंगले अगाडि बढाएकी छिन् । उनले आज बिहिबार बिहान काठमाडौं ३२ वडा अन्तर्गत तीनकुने, सुविधानगर, कोटेश्वर महादेवस्थनलगायत यरियालमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेकी छिन् ।

भेटका क्रममा पोख्रेलले मतदातासमक्ष आफ्ना योजना पनि राख्ने र उनीहरुका चाहना पनि सुन्ने गरेकी छिन् । उनले यो क्षेत्रबाट धेरै पटक बाहिरबाट आएका उम्मेदवारलाई भोट दिनुभयो । तर, उनीहरुबाट खासै क्षेत्रको विकास र जनचाहना अनुसार काम भएको पाइएन । बाहिरबाट आएका पाहुना उम्मेदवारले क्षेत्रको मर्म र भावनाअनुसार काम गर्न सक्दैनन् ।

जनभावना अनुसार काम गर्नको लागि स्थानीय युवा उम्मेदवार चाहिन्छ । ‘यो क्षेत्रमा धर्म, संस्कार, संस्कृति र ऐतिहासिक पुरातात्विक महत्व बुझेको स्थानीय व्यक्तिको आवश्यकता भएकाले यसपटक राप्रपाको ‘हलो’मा मत दिई मलाई जियी गराउनुहोस,’ पोख्रेलले आग्रह गरिन् । उनको आग्रहपछि सुविधानगरस्थित एक स्थानीयले भने, ‘म २०४८ सालदेखि एमालेलाई भोट दिँदै आएको व्यक्ति हुँ, हाम्रो भोट पाएका माधवकुमार नेपाल देशको प्रधानमन्त्रीसम्म भए ।

उनको घर यहीं वडामा छ तर उनले आफ्नो वडाको काममा समेत एकनजर लगाएनन् । त्यसकारण यसपटक हामीले आफ्नो मत परिवर्तन गर्ने विचार गरेका छौं । पटक–पटक सत्तामा पुगेर काम गर्न नसकेका व्यक्ति दोहोरिएर उम्मेदवार बन्नेलाई जुनसुकै पार्टीको भएपनि फेरि कमाइखाने भाँडो बनाउन भोट दिँदैनौं । त्यसको बदलामा समाजसेवाको क्षेत्रमा धेरै काम गरेर जनतामाझ लोकप्रिय बनेकी, निश्कलंक, स्वच्छ छवि, कतैबाट भ्रष्टाचारमा नमुछिएकी राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेल आउनुभएको छ । उहाँहरुलाई यसपटक हामीले मत दिएर हेर्ने विचार गरेका छौं ।

महादेवस्थानका अर्का मतदाता भन्छन्, ‘यस क्षेत्रमा बाहिरका उम्मेदवारबाट हामी दिकदार भइसकेका छौं । यहाँबाट तत्कालीन एमाले नेता माधव नेपाल पटक–पटक चुनाव लडे, जितेपछि क्षेत्र छोडेर रौतहट पुगे । यसपटक जनताले नपत्याउने देखेपछि रौतहटतिरै भागेका छन् । उनले देशको प्रधानमन्त्री हुँदासमेत यस क्षेत्रको विकास र कार्यकर्ताको भावना बुझ्न एकपटक आवश्यक ठानेनन् । फेरि कहाँ कहाँबाट झक्कुप्रसाद सुवेदी आएर चुनाव लडे, भोट मागे हामीले दियौं ।

चुनावपछि उनी कहाँ गए थाहा छैन । अहिले फेरि रोल्पाबाट गठबन्धनको नाममा माओवादीकी ओनसरी घर्ती आउनुभएको छ । उहाँ पटक–पटक राज्यको महत्वपूर्ण पदमा पुगेर पनि आफ्नै क्षेत्र रोल्पाको काम गर्ननसक्ने व्यक्तिबाट हामीले के आशा गर्ने ? त्यसकारण यसपटक यो क्षेत्रको मर्म र भावना बुझ्ने राप्रपाकी कुन्ती पोख्रेललाई सहयोग गर्ने विचारमा छौं ।’ यसरी यो पटकको निर्वाचनमा पुराना उम्मेदवारप्रति जतदातामा वितृष्णा जागेको पाइन्छ ।

यस्तो हुनुमा दलका शीर्ष नेताहरुले पार्टीमा लामो योगदान गरेकालाई पाखा लगाएर व्यापारी, ठेकेदार, शैक्षिक माफिया, भूमाफिया, जलमाफिया, नातेदार, पारिवारवाद, आसेपासे, हुक्केबैठके, स्वकीय सचिवलगायत आपूm ओरीपरि घुम्नेलाई काखी च्यापेका कारण हो । पुराना दलहरुको यो व्यवहारले दलका स्थानीय कार्यकर्ता, नेता र सुभचिन्तकहरु धेरै बिच्किएको पाइन्छ ।

काठमाडौंं क्षेत्र नं. २ मा कांग्रेस, एमाले र माओवादीबाट बिच्किएका भोटर राप्रपाकी कुन्तीको समर्थनमा उभिएको पाइन्छ । यी परिदृश्यलाई नियाल्दा काठमाडौं २ मा पुराना उम्मेदवारको विपक्षमा देखिन्छ । अर्को पार्टीको सिद्धान्त, मूल्य, मान्यतामा अडिक मतदाता पनि गठबन्धनप्रति रुष्ट रहेकाले ती भोट कुन्तीले पाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *