सम्पादकीय
रमचन्द्र
निर्वाचन आउँदा मात्रै राजनीतिक दलहरु तात्ने गर्दछन् । अघिपछि जनताको समस्याप्रति राजनीतिक दलहरुको ध्यान जाने गरेको पाइँदैन । संघ र प्रदेशको निर्वाचन नजिकिएपछि राजनिितक दलका नेता, कार्यकर्ता विकासको नारा लिएर जनताको सामु भोट माग्न जान थालेका छन् । गाउँबस्ती धाउन थालेका छन् । तर राजनीतिक दलका नेताहरु अन्य समयमा घर गाउँ फर्किनै चाहँदैनन् । चुनाव जितेपछि फर्केर पनि आफ्नो जिल्ला र प्रदेशमा फर्केर जाँदैनन् । आफ्नो चुनावी क्षेत्रमा विकास निर्माणको काम, जनताको सुख दुख, सामाजिक अवस्थाका बारेमा राजनीतिक दलका नेताहरुले चुनाव जितेपछि बुझ्ने प्रयास गरेको पाइँदैन ।
जब पर्छ राती, तब बुढी ताती भनेजस्तै दलका नेताहरु चुनावका बेलामात्रै गाउँ बस्ती तथा आफ्नो निर्वाचन क्षेत्रका मतदाताको सामु हात फैलाउन पुग्ने विगतको इतिहास र अहिलेको चुनावी माहौलले नै देखाएको छ । जनतालाई गुमराहमा पार्ने, ढाँट्ने, भए नभएका चुनावी नारा भट्याउने तर चुनाव जितेपछि फर्केर नआउने राजनीतिक प्रवृत्तिप्रति जनता सँधै छलिने गरेका छन् । प्रविधि र शैक्षिक स्तरको विकाससँगै आमजनता र मतदाता सचेत बनेको अवस्थामा उही पुराना दल र ती नेताहरुको खोक्रो भाषणले जनतालाई प्रभाव पार्न मुस्किल देखिन्छ । तर पनि राजनीतिक दलहरु अझैपनि जनतालाई गुमराहमै पार्ने कोसिस गरेको अवस्था छ । नेपाली जनताले भन्ने गरेका छन् कि जुन सुकै पार्टीले चुनाव जितेपनि र सरकार चलाएपनि सत्तामा पुगेपछि जनता र देशको विकासभन्दा पनि भ्रष्टाचार, नातावाद र दलगत फाइदालाई हेर्ने गर्दछन् । अब मुलुकको विकास चाहने हो भने जनताले विकल्पको छनौट गर्नैैपर्छ भन्ने आम मतदाताहरुकै मनोभाव रहेको पाइन्छ । अहिले दलका नेताहरु आफ्नो चुनावी नारा लिएर गाउँटोल बस्तीमा भोट मागिरहेका छन् । नेपाली जनतालाई गुमराहमा पार्ने काम राजनीतिक दलहरुले गरिरहेका छन् । सबै राजनीतिक दलको घोषणापत्र जारी भइसकेको छ ।
विगतको इतिहासलाई हेर्ने हो भने कुनै पनि राजनीतिक दलले आफुले जारी गरेको घोषणापत्रको ५ प्रतिशत काम पनि गर्न सकेका छैनन् । केवल निर्वाचन जित्न र सत्तामा पुग्नका लागि प्रयोग गरिने यी घोषणापत्रमाथि जनताले विश्वास गर्ने कुनै आधार नै छैन । यद्यपि अहिलेको समयमा विकल्पका रुपमा सक्षम र शिक्षित स्वतन्त्र उम्मेद्वारहरु राजनीतिको बागडोर सम्हाल्नका निम्ति राजनीतिमा आउने प्रयास गरिरहेका छन् । अब जनताले पुराना राजनीतिक दललाई जिताएर आफैं छलिने र उही दुर्दशा भोग्ने अवस्थाबाट उम्किनु जरुरी छ । अब जनताले विकल्पको छनौट गर्दै राजनीतिक अस्थिरताको निराकरण गर्दै मुलुकलाई नयाँ राजनीतिक मार्गदर्शन दिने र राजनीतिक अभ्यासमा नयाँ अभ्यासको नजीर बसाल्न जरुरी देखिएको छ ।