दुई गठबन्धन आ–आफ्नै धुनमा ठूला दललाई धक्का लाग्ने संकेत

समाचार

काठमाडौं । ठूला सना सबै दलहरु एक अर्कालाई गाली गर्दै आफु ठिक भएको बताउँदै जनताका बिचमा गएका छन् । किसानलाई मल, बिउ समयमा उपलब्ध नगराउने पहिचान बनाएको नेकपाको विभिन्न घटकहरु आपसी कटुता र विग्रहका कारण सैद्धान्तिक रुपमा पनि नमिल्ने शक्तिसँग गठबन्धन गरेर जनता ढाँट्दैछन् । नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी र एकीकृत समाजवादी संसदको रक्षा, संविधानको संरक्षण, लोकतन्त्रको स्थायित्व भन्दैछ । उता नेकपा एमालेले राप्रपाजस्तो प्रतिगमनकारी, जसपा जस्तो क्षेत्रीय शक्तिलाई साथ लिएको छ । संगत नमिलेका यी दुबै गठबन्धन प्रति जनताको चासो छैन । तर उनीहरु जनताका बिच खुलेका छैनन् । विसंगति हटाउन गठबन्धन भन्दैछन् । त्यो विसंगति कसले गरायो, किन बढ्यो त्यसको जानकारी छैन ।
संकल्पमा एमालेको जोड
यसपटक निर्वाचन आयोगले कडाई गर्दा जथाभावी प्रचार भने छैन । पोष्टर, भित्ते लेखन बन्द छन् । तर राष्ट्रिय दैनिकका पाना र अनलाइनका स्क्रिनहरु चुनावी प्रचारले भरिभराउ छन् । प्रचारमा बढी एमाले नै देखिन्छ । नेपाली कांग्रेसले राष्ट्रिय दैनिक र अनलाइन पोर्टका भित्ता छाएको छैन । सत्ता गठबनधनभित्र सामुहिक प्रचार सभाहरु त भए । तर एमालेले गरेजस्तो प्रतिबद्धताको विज्ञापन छैन । कांग्रेस र माओवादीका उम्मेद्वार आ–आफ्नो फेसबुकमा प्रचार गरिरहेका छन् ।
ओलीले सके प्रचार सभा
एमालेलाई पछ्याउँदै एकीकृत समाजवादीले पनि केही दैनिकहरुमा एक चौथाई पेजमा आफ्ना संकल्प छापेर विज्ञापन गरेको छ । सरकारमा रहेका बेला पाएको मौका सही ढंगले प्रयोग नगर्ने नेताहरु भाषणमा जुटेका छन् । हेलिकप्टर चार्टर गरेर ओलीले कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी प्रदेश र प्रदेश १ मा चुनावी भाषण सकिसकेका छन् । स्वास्थ्यको ख्याल गरेर नै चुनावी मैदानमा लागेका हुन् कि भन्ने भान नेपालीमा छ । यसैगरी माओवादीले पनि केपी ओलीलेजस्तै दैनिक चुनाव प्रचारप्रसार गरेको छ ।
दलहरुको एजेण्डाले विगतमा काम गरेन । नेकपाको झण्डै दुईतिहाई सरकाले ४१ महिना सरकार चलाउँदा नीतिगत रुपमा देशलाई विकासको चरणमा लैजान सकेन । गुटमा चलेको थियो सरकार । भुकम्पले ध्वस्त भएका संरचना केही त बने, केही पुरा नहुँदै शिलालेख भए । कामको समाप्ती कहिले हुन्छ भन्ने थाहा छैन । मेरो धरहरा म बनाउँछु भन्ने नारा त आयो, तर त्यो पुरा भएको छैन । सरकार चलाउनेको लागि ४१ महिना धेरै हो । कम्युनिष्ट सरकारले माफिया, तस्कर, बिचौलिया नियन्त्रण गर्नुपर्ने थियो । तर त्यो सरकार बिचौलियाबाटै घेरियो । राष्ट्रिय अर्थतन्त्रमा प्रभाव देखिएन ।
विवादित नै चर्चामा
भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्दै गर्दा त्यो सम्भव हुन सकेन । नेताबाट जनताले के आशा गर्ने र चुनावी माहोल बन्छ । वर्तमान गठबन्धन सरकार पनि केपी ओलीकै पालाको विकृति, विसंगतिको नमुना बन्दैछ । त्यो बेला भएको भ्रष्टाचारको छानबिन भएको छैन ।
हरके ५ वर्षमा चुनाव आउँछ । पार्टीहरु सुध्रिन सकेका छैनन् । सिंहदरबारको शासनमा प्रदेशमा सरेको भएपनि जनता समक्ष राम्रो सन्देश गएन । पद र कुर्सीमा दलहरु लम्पट भएका छन् । त्यसको प्रमाण कर्णाली प्रदेशमा माओवादी क्रान्तिकारी सबैले मन्त्री बन्ने शौख राख्नु हो । सरकार बनाउने र ढाल्ने काम संसदीय कालको विकृति थियो । लोकतन्त्रमा पनि त्यस्तै भयो । नेकपा विभाजन हुँदा केन्द्रदेखि प्रदेश तहका सरकार ढले । गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सरकार बने । तर त्यस्तो बेलामा बनेका कुनै पनि सरकारले काम देखाएनन् । खाली कुर्सीका लागि भिडन्त झन् मच्चियो । कम्युनिष्टहरुप्रतिको जनमोह भंग गराउने काम भयो ।
गठबन्धनको बल गठबन्धनमै
एमाले भन्दा बलियो सत्ता गठबन्धनले चुनावपछि पनि मिलिजुली सरकार बन्ने भनेको छ । एमालेसँग भएका राप्रपाको शक्ति बलियो बनाउने काम केपी ओलीले गरे । राप्रपालाई राष्ट्रिय पार्टी बन्छ भन्ने ओलीले झापा, रुपन्देही, मकवानपुर र बाँकेमा राप्रपालाई साथ दिएको बताउँछन् । ओलीले विपक्षीलाई जति खेदेका छन्, त्यो रुपमा सत्ता गठबन्धन त्यसरी उत्रिएको छैन । सत्तापक्षले यो संयन्त्रमा बहुमत कुनै दलको आउँदैन भनेर नै गठबन्धन दुई तीन चरणको चुनावसम्म रहन्छ भनेको छ । तर त्यो गठबन्धन कहाँ कस्तो रुपमा बन्छ, निश्चित छैन । सत्ता गठबन्धन स्पष्ट बुहमत आउँछ भन्दै गर्दा विपक्षी गठबन्धनका केपी ओलीले एमाले एक्लै बहुमत ल्याउँछ भनिरहेका छन् । एमालेले गरेको कामको आधारमा बहुमत आउँछ भनेका अध्यक्ष ओलीलाई गल्ती स्वीकार्न नसक्ने नेताका रुपमा लिइन्छ ।
नेपाली कांग्रेसले ९२, माओवादीले ४६, नेकपा एसले २४, लोसपाले ७, मसालले २ जना गठबन्धनबाट उम्मेद्वार बनाएका छन् । सत्ता गठबन्धनले रुपन्देहीमा २ सिट स्वतन्त्रलाई छाडेको छ । एमालेले एक्लै १ सय सिटमा उम्मेद्वारी दिएका कारण पनि बढी सिट जित्ने अपेक्षा हुनसक्छ । तर जसपाकै सिटमा एमालेका धेरै बागी बनेका छन् । अध्यक्ष ओलीले त्यो चासो दिएका छैनन् । दुबै गठबन्धन को कति पानीमा छ त्यो अबको १५ दिनमा देखिन्छ । तर जनता मारमा पार्ने दलहरुलाई नराम्रो झट्का लाग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *