बाजुरामा विद्यार्थी नेताको हत्या

राजनीति समाचार

कैलाली । बाजुरामा अनेरास्ववियुका नेताको हत्या गरिएको छ ।

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।

दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढङ्गबाट हत्या गरिएको बताएका छन् ।

आइतबार नै मतदानमा भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।गोली लागि मृत्यु भएका अयडी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *