चितवनमा स्वतन्त्र पार्टी पहिलो

राजनीति समाचार

चितवन । पुराना पार्टीलाई पछि पार्दै चितवन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ। समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो।

तीन निर्वाचन क्षेत्रबाट रास्वपा ९९ हजार ३७ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा एमाले ५५ हजार ३१२ मत ल्याएर दोस्रो र नेपाली कांग्रेस ३९ हजार १३० मत ल्याएर तेस्रो भएको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले २९ हजार ४६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ५५ र नेकपा एकीकृत समाजवादीले चार हजार ९०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ।

चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ हजार ६९१ मत प्राप्त गर्दा एमालेले २४ हजार छ, कांग्रेसले १६ हजार ६९५, माओवादी केन्द्रले चार हजार ९६५, राप्रपाले पाँच हजार ८२ र एकीकृत समाजवादीले तीन हजार ५१८ मत प्राप्त गरेका छन्। यो क्षेत्रको ९५ हजार ३९९ मतगणना हुँदा रास्वपाले ३६, एमालेले २५, कांग्रेसले १८, माओवादीले पाँच, राप्रपाले पाँच र एकीकृत समाजवादीले चार प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।

अन्य क्षेत्रको तुलनामा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ३५ हजार ९४५ मत प्राप्त गरेको छ। एमालेले १६ हजार ७८४, कांग्रेसले ११ हजार ९१४, माओवादी केन्द्रले आठ हजार ४०७, राप्रपाले तीन हजार २१८ र एकीकृत समाजवादीले ६१६ मत प्राप्त गरेका छन्। यो क्षेत्रको ८२ हजार ९३४ मतगणना हुँदा रास्वपाले ४३, एमालेले २०, कांग्रेसले १४, माओवादीले १०, राप्रपाले चार र एकीकृत समाजवादीले ०।७४ प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेको छ। एमालेले १४ हजार ५२२ मत, कांग्रेसले १० हजार ५२१, माओवादी केन्द्रले १६ हजार ८९ र राप्रपाले १६ हजार ७५५ र एकीकृत समाजवादीले एक हजार ८५ मत पाएको छ। यो क्षेत्रको ९४ हजार २८० मतगणना हुँदा रास्वपाले ३०, एमालेले १५, कांग्रेसले ११, माओवादी केन्द्रले १७, राप्रपाले १८ र एकीकृत समाजवादीले एक प्रतिशत मत समानुपातिकतर्फ पाएका छन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवनमा सबैभन्दा ठूलो दल एमाले, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए। पुराना राजनीतिक दलमा समानुपातिकमा मत कम आउनुको कारण उनीहरूको व्यवहारप्रति वितृष्णा पैदा भएर परिणाम फरक भएको वीरेन्द्र क्याम्पसका प्राध्यापक तथा राजनीतिक विश्लेषक रमेश प्रभातले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *