भावी चार एआजीमा क–कसले मार्लान् बाजी ?

समाचार

काठमाडौं । नेपाल प्रहरीमा राजनीति घुसेपछि अचम्मको खेल हुने गरेको छ । नेपालीमा एउटा उखान छ, ‘छोरो पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले’ भनेजस्तै भएको छ । गत मंसिर ४ को संघ र प्रदेश निर्वाचन सकिएसँगै नेपाल प्रहरीमा ४ एआईजी पद रिक्त हुँदा त्यो पदमा कसलाई ल्याउने भन्ने होडवाजी चलिरहेको छ । खासगरी नेपाल प्रहरीको एआइजी पद निर्वाचन अगाडि नै पदपूर्ति गर्नुपर्नेमा सो नगरी आमनिर्वाचनको आचारसंहिताले गर्दा या राजनीतिक खेलवाडले गर्दा ४ एआईजी पद खाली नै रहेको छ । अब बन्ने सरकारले सो एआईजी पदपूर्ति गर्नुपर्नेमा हालको काम चलाउन गृहमन्त्री बालकृष्ण खाँडले चुनाव हारेको निहुँ बनाएर एआईजी पदपूर्ति गर्न लागिपरेका छन् । भावी आइजीपी कसलाई बनाउने भन्ने बारेमा आगामी सरकारले गर्नुपर्नेमा हालको काम चलाउ सरकार नै लागिपर्नु भनेको चुनावमा खर्च गरेको पैसा उठाउने नियत देखिन्छ । किन कि गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नी मञ्जु खाँडले चुनाव अगाडि गृहमन्त्रालयमा बसेर प्रहरीमा नियुक्ति, सरुवा, बढुवामा मोलमोलाइ गरेर बार्गेनिङ गरी चुनाव खर्चका नाममा मोटो रकम असुलेको बताइन्छ । यसैकारणले गर्दा पनि गृहमन्त्री बालकृष्ण खाँडले यसपटक निर्वाचनमा पराजय भोग्नुपरेको कुरा स्रोतले बताएको छ । यसैलाई लिएर सो निर्वाचनमा भएको खर्च उठाउनको लागि गृमन्त्री बालकृष्ण खाँड लागिपरेकोे स्रोतको दावी छ । हाल रिक्त रहेका ४ एआईजी पद खाली रहेकोमा वरिष्ठमा ३ डिआईजी रहेका छन् । तीमध्ये एआईजी हुन चाहनेमा अशोक सिंह र दीपक थापा पनि लागि परेका छन् । अशोक सिंह तेस्रो नम्बरका व्यक्ति हुन् भने दीपक थापा चौथो नम्बरका हुन् । तर, गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले कसलाई एआईजी बनाउने हुन् यसमा पनि पैसाको खेलोफड्को राम्रैसँग चल्ने भएको छ । अहिलेका आईजीपी धिरप्रताप सिंह आगामी चैतमा अवकास भएपछि आइजीपी बन्नको लागि यिनै ४ एआईजीबाट आईजीपी बन्ने सम्भावना रहेको छ । यसमध्येमा पनि आगामी दिनमा भावी आइजीपी बनाउने खेलमा गृहमन्त्री बालकृष्ण खाँडले अहिले नै एआईजीपी बढुवा गरेर मोटो रकम असुल्ने र भोलिको आइजीपी बन्ने बाटो खोलिदिन लागिपरेका छन् । तर, हालको सरकारले गरेको निर्णयलाई आगामी बन्ने सरकारले कार्यान्वयन गर्छ या यसैलाई कायम गरिन्छ त्यो भविष्यले नै बताउने छ । तर, अधिकांश राजनीतिक दलका नेताहरुले प्रहरीलाई भँजाएर खाने र आफ्नो रोजीरोटी चलाउने धन्दा तत्कालीन गृहमन्त्रीहरुले पनि नगरेका होइनन् । अब बन्ने एआईजीको दौडमा डीआईजी मोहन आचार्य, डीआईजी मसउद आलाम खाँ र अर्का डीआईजी नलप्रसाद उपाध्यायलाई वरिष्ठको आधारमा एआईजी बनाउनुपर्ने अवस्था छ भने बहालवाला सरकारले वरिष्ठको आधारमा एआईजी बनाउँछ कि कनिष्ठको आधारमा एआईजी बनाउँछ यसै भन्ने अवस्था छैन । अहिले यसै विषयलाई लिएर प्रहरी संगठनभित्र विरोध भइरहेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *